तीनपटक पाउ छोएँ तर दुर्गालाल बा तपाईंको अनुहार हेर्न सकिनँ

940
Shares

यही २०८३ सालको भदौ १ गते सोमबार बिहान करिब साढे ६ बजे वरिष्ठ पत्रकार मल्ल के सुन्दरज्यूले मलाई फोन गर्नुभएको रहेछ । बिहान छोरालाई विद्यालय पु¥याउने हतारमा थिएँ । फोन आएको पत्तै पाइनँ । करिब साढे ८ बजेतिर सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठज्यूको फोन आयो । फोन उठाउनासाथ कुनै औपचारिकतातिर नलागी उहाँले सोध्नुभयो– दुर्गालाल श्रेष्ठको खबर थाहा पाउनुभयो नि ? मैले जनप्रिय कवि दुर्गालालज्यू बिरामी भएको थाहा पाएकै थिएँ, अप्रिय खबर हो भन्ने बुझिहालेँ, खास प्रतिक्रिया दिइनँ, बीचमा रहेर जवाफ दिएँ– हजुर–हजुर गणपतिलालज्यूबाट बिदा भएपछि मैले हतार–हतार सामाजिक सञ्जाल खोलेँ । गणपतिलालज्यूको खबरले नै विक्षिप्त बनेको मैले सामाजिक सञ्जालमा फोटोसहितको विवरण नै देखेपछि केही सोच्नै सकिनँ ।

जनकवि दुर्गालाल श्रेष्ठज्यूलाई म पारिवारिक स्तरको सम्बन्धका कारण ‘बा’ भन्थेँ । यो ‘बॉ भनेको हजुरबा हो, बा पुष्करलाल श्रेष्ठलाई म ड्याडी भन्थेँ । दुर्गालाल बा अस्वस्थ हुनुहुन्छ भन्ने थाहा थियो । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठज्यूले त एकचोटि भेट्न जाऊँ भनेर मलाई पटक–पटक सम्झाउनु पनि भएको थियो । अलि अघि प्रसिद्ध उद्योगी तथा साहित्य अनुरागी वसन्त चौधरीज्यूले दुर्गालाल साहित्य प्रतिष्ठानका तर्फबाट उहाँलाई जनसम्मान तथा राष्ट्रिय अभिनन्दन गर्नुपर्छ, उहाँमाथि वृत्तचित्र बनाउनुपर्छ र स्मारिका प्रकाशन गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो । उहाँको प्रस्तावप्रति हामी सबै हर्ष र उत्साहका साथ सहमत पनि थियौं । हामी उहाँलाई सम्मान गर्ने योजना बनाउँदै थियौं । धेरै तयारी पनि अघि बढिसकेको थियो । तर समयले हामीलाई पर्खिएन । हाम्रो सम्मानलाई दुर्गालाल बाले पनि पर्खिनुभएन । हामीले उहाँलाई जीवित छँदै गर्न खोजेको सम्मानको योजना पूरा गर्न नपाउँदै उहाँको निधनको समाचार सुन्नुप¥यो । मनमा एउटै कुरा खेलिरह्यो– हामी किन आफ्ना अमूल्य व्यक्तित्वहरूलाई सम्मान गर्न सधैं ढिला गर्छौं ?

मैले सोसल मिडियाबाट बाहिर निस्केर दुर्गालाल बाको अन्त्येष्टि समारोहमा सहभागी हुन जाने विचारले उहाँको परिवारका सदस्यलाई सम्पर्क गरेँ । सोमवार, भदौ १ गते उहाँको पार्थिव शरीर बूढानीलकण्ठस्थित घरमै राखिने र मंगलवार मंका खलःको भवन बिजेश्वरीमा श्रद्धाञ्जलिका लागि राखी नगर परिक्रमा गराएर शोभाभगवतीमा अन्त्येष्टि गरिने जानकारी पाएँ । मैले मंगलवार बिजेश्वरी गएर श्रद्धाञ्जलि दिने निर्णय गरेँ ।
राष्ट्रिय सम्मानको व्यवस्थापन प्रायः गृह मन्त्रालयमार्फत हुने भएकाले त्यस दिन म माननीय गृहमन्त्री सुधन गुरुङज्यूलाई लिन सिंहदरबार पुगेँ । हामी उहाँकै गाडीमा शोभाभगवतीतर्फ लाग्यौं । पूर्वडीजे गृहमन्त्रीज्यूलाई संगीतको राम्रो ज्ञान हुने नै भयो । उहाँ गाडीमा दुर्गालाल श्रेष्ठद्वारा रचित लोकप्रिय गीत ‘सय थरी बाजा सय थरी ताल’ गुनगुनाइरहनुभएको थियो ।

नेपाल प्रहरीले राष्ट्रिय झण्डासहित आवश्यक तयारी गरिसकेको गृहमन्त्री गुरुङलाई उहाँको सचिवालयले जानकारी गरायो । बाटोमा समेत मन्त्रीज्यूले आफ्नो पीएसओलाई पटक–पटक ‘सबै तयारी ठीक छ नि ? एकपटक फेरि बुझ्नुस्’ भनिरहनुभएको थियो । उताबाट सबै व्यवस्था मिलिसकेको जानकारी आयो ।

शोभाभगवती पुग्दा वातावरण अत्यन्त बोझिलो र भावुक थियो । प्रायः सबै मौन र शोकपूर्ण अनुहारमा देखिन्थे । वैदिक विधिअनुसार उहाँको आत्मालाई पूजा गर्ने कार्य भइरहेको मैले बुझेँ । परिवारजन, आफन्त, मित्र, शुभचिन्तक, प्रशंसक र समाजका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । कसैले हात जोडिरहेका थिए, कसैले टाढैबाट अन्तिम दर्शन गरिरहेका थिए ।
पुरोहितहरू नेपाल भाषामा संस्कारका विधि र प्रक्रिया बताइरहेका थिए । म छेउमा बसेर मन्त्री सुधन गुरुङलाई ती कुरा नेपालीमा बुझाइरहेको थिएँ ।

त्यही क्रममा राष्ट्रिय सम्मान मन्दिर परिसरमै गृहमन्त्री सुधन गुरुङले गर्ने निर्णय भयो । त्यसपछि नेपाल प्रहरीले तयार गरेको राष्ट्रिय झण्डाको खोजी भयो । प्रहरीले झन्डा घाटतर्फ राखिएको जानकारी दियो । प्रायः घाटमै झण्डा ओढाउने चलन रहेछ । झन्डा लिन मानिस पठाइयो । त्यही बेला काठमाडौं महानगरपालिकाबाट ल्याइएको राष्ट्रिय झण्डा कार्यवाहक मेयर सुनिता डंगोलज्यूले निकाल्नुभयो । सोही राष्ट्रिय झण्डा माननीय गृहमन्त्री सुधन गुरुङज्यू, माननीय ऊर्जामन्त्री विराजभक्त श्रेष्ठज्यू र सुनिता डंगोलज्यूले संयुक्त रूपमा दुर्गालालज्यूको पार्थिव शरीरमा ओढाएर राष्ट्रिय सम्मान अर्पण गर्नुभयो।


पछि अनेक कुरा सुनिए । ‘गृहमन्त्रीले राष्ट्रिय झण्डा नै ल्याएनन्’ भन्नेसम्मका हल्ला चले । म सबै कुरा प्रत्यक्ष देखिरहेको थिएँ । राष्ट्रिय सम्मानका लागि झण्डाको व्यवस्था गरिएको थियो । परिस्थितिवश तत्काल अर्को झन्डा प्रयोग भयो । तर, मलाई सबैभन्दा बढी दुःख झन्डा कसले ल्यायो भन्ने विवादले दिएन । दुःख त त्यो सोचले दियो, जसले दुर्गालाल बाको अन्तिम यात्रामा समेत दोष र राजनीति खोज्यो । ‘जीवनभर फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने दर्शन हामीलाई दिएर जानुभएका मानिसको अन्तिम बिदाइमा पनि हामीले फूल देख्न सकेनौं भने, उहाँको सिर्जनाबाट हामीले के सिक्यौँ ? त्यो दिन त्यहाँ एउटा ‘महाकवि’ आफ्नो अन्तिम यात्रामा हुनुहुन्थ्यो। एउटा युग बिदा हुँदै थियो । नेपाल भाषाको एउटा विराट धरोहर हामीबाट टाढिएको थियो सदा–सदाका लागि ।

त्यस्तो घडीमा पनि कसैले झन्डामा राजनीति देख्यो, कसैले व्यवस्थापनमा कमजोरी खोज्यो, कसैले आरोप लगाउने अवसर देख्यो।
मलाई लाग्यो– कति साँघुरो हुँदै गएछ हाम्रो सोच मानिसको अन्तिम यात्रामा त कम्तीमा राजनीति नगरौँ मृत्युको घाटमा पनि पक्ष–विपक्ष खोज्ने संस्कारले हामीलाई कहाँ पु¥याउला ?

बरु त्यो दिन दुर्गालालज्यूलाई राष्ट्रिय सम्मान प्रदान गर्ने कार्यमा समन्वय गर्ने माननीय गृहमन्त्री सुधन गुरुङज्यू र माननीय ऊर्जा तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठज्यूलाई धन्यवाद दिनै पर्छ । दुर्गालालज्यूको अन्तिम यात्रालाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मंका खलः तथा सम्पूर्ण व्यवस्थापन र सरसुविधाको जिम्मेवारी लिने कार्यवाहक मेयर सुनिता डंगोलज्यूसहित काठमाडौं महानगरपालिकाप्रति पनि आभार व्यक्त गरौँ ।

यी सबै घटनाभन्दा पर दुर्गालालज्यूसँग जोडिएको मेरो एउटा अत्यन्त व्यक्तिगत कुरा छ । आजसम्म मैले कसैलाई नभनेको । माथि नै भनेँ, दुर्गालालज्यूलाई म बा भनेर सम्बोधन गर्थें। उहाँ उमेरले मेरा हजुरबा भरतलाल श्रेष्ठजस्तै हुनुहुन्थ्यो । उहाँप्रति मेरो उच्च सम्मान र माया थियो, तर उहाँको व्यक्तित्वसँग मलाई एकप्रकारको डर थियो, नजिकै जानुको सट्टा अलिकति तर्केर बस्थेँ । सुन्दा अनौठो लाग्न सक्छ । दुर्गालाल बा मेरा स्वर्गीय हजुरबा भरतलालका अत्यन्त मिल्ने साथी हुनुहुन्थ्यो । उहाँहरू धेरै कार्यक्रममा सँगै गएको मैले देखेको थिएँ– विशेष गरी सांस्कृतिक कार्यक्रमहरूमा मेरो बाल्यकालदेखि नै दुर्गालाल बा हाम्रो परिवारका अग्रज सदस्यसरह सम्मानित हुनुहुन्थ्यो ।

समय बित्दै गयो। दुवै बाहरूको कपाल सेतै भयो । उचाइ उस्तै, बोल्ने शैली उस्तै, दुर्गालाल बाको अनुहारमा मेरा हजुरबा भरतलाल बा देखिन थाल्नुभयो । अरूलाई त्यस्तो नलाग्ला, तर मलाई लाग्यो । म मेरा हजुरबासँग अत्यन्त नजिक थिएँ । उहाँलाई गुमाएपछि त्यो खाली ठाउँ मनभित्र कतै सधैँ रहिरह्यो । त्यसैले कुनै कार्यक्रममा दुर्गालाल बालाई देख्नेबित्तिकै मेरो मन अस्थिर हुन्थ्यो । म उहाँसँग कुरा गर्न जानुपर्ने हो । ढोग गर्नुपर्ने हो । छेउमा बसेर पुराना कुरा सुन्नुपर्ने हो । तर म उल्टै कार्यक्रमबाट निस्किन्थेँ । किनकि उहाँलाई देख्नासाथ मलाई मेरा हजुरबाको सम्झनाले झ्याप्पै छोप्थ्यो । सायद यो मेरो कमजोरी थियो । मानवीय कमजोरी । प्रेमको यस्तो पनि रूप हुँदो रहेछ – नजिक जानै नसक्ने, टाढैबाट हेरेर आँखा सजल बनाउनुपर्ने । कसैलाई अति धेरै माया र सम्मान गरियो भने के अरूलाई पनि मलाईजस्तै हुन्छ ? मलाई थाहा छैन । तर मैले मेरो यस मानसिकताका बारेमा कसैलाई आजसम्म भनिनँ ।

अन्तिम दिन शोभाभगवती पुग्दा पनि मसँग उहाँको अनुहार हेर्ने साहस भएन। वरिपरि उभिएर मानिसहरू अन्तिम दर्शन गरिरहेका थिए । म पनि नजिक गएर उभिएँ, तर मेरा आँखा उहाँको अनुहारसम्म पुग्न सकेनन्। मैले उहाँको गोडा छोएँ । लाग्यो प्यारो हजुरबालाई दोस्रोपटक गुमाइरहेको छु । हजुरबाको गोडा फेरि दोस्रोपटक छोएँ । तर फेरि पनि अनुहार हेर्न सकिनँ । दुर्गालाल बालाई मैले भरतलाल बामा रूपान्तरित गरिरहेको थिएँ । पुनः पाउ स्पर्श गरेँ । तेस्रोपटक पाउमा हात पुगिरहँदा भरतलाल बाको आवाज मेरो कानमा गुञ्जिरहेको थियो ।
शिर झुकाएर फर्किरहँदा मनभरि डर बाँकी थियो ।

छटपटीको अनुभूति गर्दै थिएँ म । आफूलाई रित्तो अनुभव भइरहेको थियो । लाग्यो, मैले दुर्गालाल बाको अनुहार नहेरेर ठिकै गरेँ, त्यहाँ मेरा भरतलाल बा देखिनुहुन्थ्यो । सायद म आफूलाई सम्हाल्न सक्दैनथेँ । अनि मनलाई सम्हालेँ, मनभरि स्वीकृतिभाव जागृत भयो– जीवनमा कतिपय सम्बन्धलाई शब्दले परिभाषित गर्न सकिँदैन रहेछ । दुर्गालाल बासँग मेरो सम्बन्ध पनि त्यस्तै रहेछ । उहाँसँग मेरो धेरै संवाद भएन, भेटघाट पनि भएन। उहाँलाई देख्दा दायाँ–बायाँ तर्किने म दोहोरो संवादमा कसरी सहभागी हुन सक्थेँ र तर हरेकपटक उहाँसँग तर्किएर म गहिरो आत्मीयता प्रकट गरिरहेको रहेछु । सजल नयन र विनीत भावले आज अर्पण गर्छु– भावपूर्ण श्रद्धाञ्जलि दुर्गालाल बा ।

दुर्गालाल बा केवल कवि वा गीतकार मात्र हुनुहुन्नथ्यो । उहाँ भाषा, साहित्य, संस्कृति र मानवीय संवेदनाको एउटा युग हुनुहुन्थ्यो। उहाँका शब्दले नयाँ–पुराना दुवै पुस्तालाई उत्तिकै छोएका छन् । उहाँका रचनाहरूले मानवीय प्रेम सिकाएका छन्, सुन्दर प्रकृतिलाई हेर्ने दृष्टि दिएका छन् र मानिसको आँखाले नै संसारको स्वरूप निर्धारण गर्छ भन्ने गहिरो दर्शन पढाएका छन् । फूलको आँखाले संसार हेर्न सिकाएका छन् । यद्यपि, उहाँको अन्तिम यात्रामा हामीले फेरि प्रमाणित ग¥यौँ, सबैले फूलको आँखाले संसार हेर्न जानेकै रहेनछन् ।

केही नेपालीको आँखामा आज पनि काँडा बिझिरहेकै रहेछ । म भने त्यो दिन न फूल खोजिरहेको थिएँ, न काँडा । म केवल आफ्ना दुईजना ‘हजुरबा’ सम्झिरहेको थिएँ । एकजनाले धेरै अघि महाप्रस्थान गर्नुभयो– मेरा भरतलाल बा । अर्का दुर्गालाल बाले पनि हामीबाट सदाका लागि बिदा लिनुभयो। अब मलाई दुर्गालाल बा उपस्थित भएको कुनै कार्यक्रममा सहभागी हुन पुग्दा तर्किनुपर्ने छैन, धक मानेर लुक्नुपर्ने छैन, तर विडम्बना यही छ । अब म दुर्गालाल बाको आशीर्वादको हात शिरमा थाप्न चाहन्छु, तर उहाँलाई यस जुनीमा भेट्न सक्दिनँ ।
दुर्गालाल बा तपाईंको अनुहार हेरेर अन्तिम बिदाइ गर्न सकिनँ । तर तीनपटक तपाईंको पाउ छोएर मनमनै भनेको थिएँ–

बा, मलाई माफ गर्नुहोला,
तपाईंबाट म जीवनभर भागेँ ।
तर वास्तवमा म तपाईंबाट होइन,
तपाईंको अनुहारमा देखिने
मेरा भरत बाको सम्झनाबाट भागिरहेको थिएँ
आज त्यो कुरा सबैलाई भनिदिएँ ।
हार्दिक श्रद्धाञ्जलि, दुर्गालाल बा
तपाईं शब्दमा बाँचिरहनुहुनेछ, गीतमा गुञ्जिरहनुहुनेछ र फूलको आँखाले संसार हेर्ने हरेक मानिसको मनमा सधैँ रहिरहनुहुनेछ ।

राष्ट्रिय सम्मानको व्यवस्थापन प्रायः गृह मन्त्रालयमार्फत हुने भएकाले त्यस दिन म माननीय गृहमन्त्री सुधन गुरुङज्यूलाई लिन सिंहदरबार पुगेँ । उहाँकै गाडीमा शोभाभगवतीतर्फ लाग्यौँ । पूर्वडिजे गृहमन्त्रीज्यूलाई संगीतको राम्रो ज्ञान हुने नै भयो । उहाँ गाडीमा दुर्गालाल श्रेष्ठद्वारा रचित लोकप्रिय गीत ‘सय थरी बाजा सय थरी ताल’ गुनगुनाइरहनुभएको थियो । बाटोमा समेत मन्त्रीज्यूले आफ्नो पटक–पटक ‘सबै तयारी ठीक छ नि ? एकपटक फेरि बुझ्नुस्’ भनिरहनुभएको थियो ।

जसले दुर्गालाल बाको अन्तिम यात्रामा समेत दोष र राजनीति खोज्यो । ‘जीवनभर फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने दर्शन हामीलाई दिएर जानुभएका मानिसको अन्तिम बिदाइमा पनि हामीले फूल देख्न सकेनौँ भने, उहाँको सिर्जनाबाट हामीले के सिक्यौँ ? त्यो दिन त्यहाँ एउटा ‘महाकवि’ आफ्नो अन्तिम यात्रामा हुनुहुन्थ्यो । एउटा युग बिदा हुँदै थियो ।

केही नेपालीको आँखामा आज पनि काँडा बिझिरहेकै रहेछ । म भने त्यो दिन न फूल खोजिरहेको थिएँ, न काँडा । म केवल आफ्ना दुईजना ‘हजुरबा’ सम्झिरहेको थिएँ । एकजनाले धेरै अघि महाप्रस्थान गर्नुभयो– मेरा भरतलाल बा । अर्का दुर्गालाल बाले पनि हामीबाट सदाका लागि बिदा लिनुभयो । अब मलाई दुर्गालाल बा उपस्थित भएको कुनै कार्यक्रममा सहभागी हुन पुग्दा तर्किनुपर्ने छैन, धक मानेर लुक्नुपर्ने छैन ।