काठमाडौँ।
नेपाली कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा निर्वाचन तथा सर्वसम्मत प्रक्रियाबाट नयाँ नेतृत्व चयन भइसकेको छ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिकाअनुसार असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको हो। अधिवेशन दोस्रो दिन पनि देशभर उत्साहजनक रूपमा अघि बढेको निर्वाचन समितिले जनाएको छ।
हिमाली, पहाडी र तराईका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भए पनि केही जिल्ला तथा निर्वाचन क्षेत्रका वडामा भने प्रक्रिया बाँकी रहेको छ। रसुवा, नुवाकोट, धादिङ र सिरहाका साथै मोरङ क्षेत्र नम्बर ६, सप्तरीका क्षेत्र नम्बर २ र ४, सर्लाही क्षेत्र नम्बर २, रौतहट क्षेत्र नम्बर १ तथा परासी क्षेत्र नम्बर २ का केही वडामा अधिवेशन हुन बाँकी छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार छुटेका तथा बाँकी रहेका वडाहरूमा असोज ५ गते सोमबार पनि अधिवेशन सञ्चालन हुनेछ।
यसैबीच, द्वन्द्वकालीन सहिद टीकाराज आरणका छोरा शुक्रराज आरण रामेछापको मन्थली नगरपालिका–९ को वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। आरणको नेतृत्वमा १४ सदस्यीय वडा कार्यसमिति गठन भएको छ। निवर्तमान वडा सभापति महेश्वरी आरणलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको थियो।
अधिवेशनबाट सहिद परिवारका ज्ञानेन्द्रराज आरण पनि निर्वाचित भएका छन्। त्यस्तै विज्ञ समूह, सहिद परिवार, प्रजातान्त्रिक सेनानी, दलित, महिला, अपांगता भएका व्यक्ति तथा जेनजी समूहबाट प्रतिनिधिहरू निर्विरोध चयन भएका छन्।
निर्वाचन समितिका अनुसार सहिद क्लस्टरतर्फ खड्गराज आरण निर्विरोध प्रतिनिधि बनेका छन्। जेनजी समूहबाट सुनिता पुलामी मगर, लालबहादुर बोहरा र सुमन बोहरा पनि निर्विरोध प्रतिनिधि चयन भएका छन्।











प्रतिक्रिया