
दुर्गा दाइसँग मेरो अन्तिम संवाद नर्भिक अस्पतालको एउटा कोठामा भएको थियो । उहाँलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उहाँ उपचारपछि घर फर्किने तयारीमा हुनुहुन्थ्यो । उहाँका जेठा छोरा सुमनजी पनि सँगै हुनुहुन्थ्यो । हामी कुरा गरिरहेका थियौँ । सुमनजीले मोबाइलमा हाम्रो संवाद रेकर्ड गरिरहनुभएको थियो ।

त्यतिबेला त्यो संवाद अन्तिम हुन सक्छ भन्ने कल्पना हामी कसैले गरेका थिएनौँ । उहाँ घर फर्किंदै हुनुहुन्थ्यो । म उहाँ फेरि स्वस्थ भएर अक्षरयात्रामा फर्किनुहुनेछ भन्ने विश्वासमा थिएँ । अझ धेरै कुरा गर्न बाँकी थिए । अझ केही रचना सुन्न बाँकी थिए । हामीले सँगै देखेका केही सपना पूरा गर्न बाँकी थिए ।
आज त्यो छोटो भिडियो हेर्दा लाग्छ, कहिलेकाहीँ समयले हामीलाई जानकारी नदिई इतिहासको एउटा टुक्रा सुरक्षित गरिदिन्छ । त्यो दृश्य अब केवल दुई व्यक्तिबीचको संवादमात्र रहेन । त्यो मेरो जीवनको एउटा अमूल्य स्मृति बनेको छ ।
तर, हाम्रो संवाद त्यहाँबाट सुरु भएको थिएन । त्यसको आरम्भ आजभन्दा करिब पच्चिस वर्षअघि एउटा रेकर्डिङ स्टुडियोमा भएको थियो ।
सन् २००० तिरको कुरा हो । म आफ्नो एउटा गीत रेकर्ड गराउन सङ्गीतकार न्ह्यू बज्राचार्यको स्टुडियो डोरेमीमा गएको थिएँ । त्यहीँ जनकवि दुर्गालाल श्रेष्ठसँग मेरो पहिलो भेट भयो । वातावरणमा सङ्गीत थियो । हाम्रो अगाडि न्ह्यू गितार समातेर धुन सुनाउँदै थियो । वरिपरि शब्द र धुनको खोजी चलिरहेको थियो ।
पहिलो भेटमै दुर्गा दाइ र मबीच आत्मीयताको कुनै अदृश्य तार जोडियो । औपचारिक परिचयमा धेरै समय खर्च गर्नुपरेन । कतिपय मानिसलाई वर्षौँ भेट्दा पनि सम्बन्ध परिचयभन्दा अगाडि बढ्न सक्दैन । कतिपय मानिस भने पहिलो भेटमै पुराना परिचितजस्ता लाग्छन् । दुर्गा दाइ मेरो जीवनमा त्यस्तै मानिस बनेर आउनुभयो ।
त्यो पहिलो भेटपछि हामी प्रायः भेटिरह्यौँ । साहित्य, कविता, गीत र सङ्गीतबारे कुरा गथ्र्यौँ । उहाँ आफ्ना रचना सुनाउनुहुन्थ्यो । म पनि आफ्ना नयाँ सिर्जनाबारे उहाँसँग निसङ्कोच छलफल गर्थें । हामीबीच उमेरको अन्तर थियो साथै सिर्जना र अनुभवको उचाइमा उहाँ मभन्दा धेरै माथि हुनुहुन्थ्यो । तर उहाँले त्यो अन्तरलाई कहिल्यै संवादको पर्खाल बन्न दिनुभएन ।
सिर्जना अत्यन्त निजी विषय हो । प्रत्येक रचनाभित्र सर्जकको एउटा कोमल र असुरक्षित हिस्सा लुकेको हुन्छ । त्यसैले मानिस आफ्नो अधुरो सिर्जना सबैलाई सुनाउन सक्दैन । आलोचना स्वीकार गर्न पनि विश्वास चाहिन्छ । दुर्गा दाइ र मबीच त्यो विश्वास थियो । हामी प्रशंसा मात्र गर्दैनथ्यौँ । शब्द, भाव र लयमाथि खुलेर बहस गथ्र्यौं । मत फरक हुँदा पनि आत्मीयता कहिल्यै फरक भएन ।
हाम्रो सम्बन्ध अक्षरमा सीमित थिएन । हामी घरपरिवारका कुरा पनि गथ्र्यौं । आफ्ना खुसी र चिन्ता बाँड्थ्यौँ । उहाँसँग परिवारका कुरा गर्दा मैले उहाँभित्र एउटा अत्यन्त कोमल पिता भेट्थेँ ।
उहाँका सबै सन्तानप्रति गहिरो माया थियो । यसमा कुनै सन्देह छैन । तर, छोरीको प्रसङ्ग आउँदा उहाँको अनुहारमा अर्कै उज्यालो देखिन्थ्यो । बोली अझ कोमल हुन्थ्यो । आँखाले शब्दभन्दा पहिले स्नेह व्यक्त गर्थे ।
उहाँलाई त्यसरी देख्दा मलाई आफ्ना बाबुजीको सम्झना आउँथ्यो । मेरा बाबुजी पनि आफ्ना सबै सन्तानलाई असाध्यै माया गर्नुहुन्थ्यो । तर, छोरीप्रतिको उहाँको स्नेहको अभिव्यक्तिमा एउटा अलग गहिराइ थियो । प्रेमको गणित हुँदैन । बाबुआमाले कुन सन्तानलाई कति प्रेम गरे भनेर नाप्न पनि मिल्दैन । तर प्रेमका रङ फरक हुन सक्छन् । दुर्गा दाइ र मेरा बाबुजीमा मैले त्यही समान रङ देखेको थिएँ ।
सायद त्यसैले दुर्गा दाइसँगको सम्बन्धमा मित्रताको अतिरिक्त एउटा पारिवारिक न्यानोपन पनि थियो । उहाँलाई भेट्दा कहिले मित्रसँग कुरा गरिरहेको अनुभव हुन्थ्यो, कहिले अग्रज सर्जकसँग र कहिलेकाहीँ आफ्नै परिवारको कुनै प्रिय सदस्यसँग ।
सार्वजनिक जीवनमा उहाँ जनकवि दुर्गालाल श्रेष्ठ हुनुहुन्थ्यो । तर ‘जनकवि’ उहाँको नामअघि राखिएको सम्मानसूचक शब्दमात्र थिएन । त्यो उहाँको सम्पूर्ण सिर्जनायात्राको स्वाभाविक परिचय थियो ।
एघार वर्षको उमेरमै नाटक लेख्ने, निर्देशन गर्ने र अभिनयसमेत गर्ने बालकले जीवनका आठ दशकभन्दा बढी समय अक्षरलाई समर्पित ग¥यो । उहाँले कविता, गीत, नाटक, निबन्ध, अनुवाद र बालसाहित्यमा निरन्तर अक्षर उमार्नुभयो । उहाँका लागि साहित्य केवल सौन्दर्यको खोजी थिएन । त्यो भाषा, संस्कृति, पहिचान र जनअधिकारको आवाज पनि थियो ।
रेडियो नेपालबाट नेपालभाषाको समाचार प्रसारण बन्द गरिँदा उहाँ चुप बस्नुभएन । भाषा आन्दोलनमा सक्रिय हुनुभयो । उहाँ नेपाल भाषा मंका खलःका संस्थापक सदस्यमध्ये एक बन्नुभयो । मातृभाषाको रक्षाका लागि उहाँले लेख्नुभयो, बोल्नुभयो र आफ्ना सिर्जनामार्फत जनतालाई जागृत गरिरहनुभयो ।
उहाँ भाषाका बारेमा बाहिर उभिएर लेख्ने लेखक हुनुहुन्नथ्यो । उहाँ भाषाभित्रै बाँच्नुहुन्थ्यो । उहाँका लागि नेपालभाषा अभिव्यक्तिको माध्यम मात्र थिएन । त्यो उहाँको स्मृति, पहिचान, इतिहास र आत्माको घर थियो ।
उहाँको लेखनको सबैभन्दा ठूलो शक्ति सरलता थियो । तर, त्यो सरलता सतहमा मात्र थिएन । सहज शब्दभित्र गहिरो दर्शन राख्न सक्ने दुर्लभ क्षमता उहाँसँग थियो । उहाँका कविता पढ्दा गीतजस्ता लाग्थे । गीत सुन्दा कविता बोलिरहेजस्तो अनुभव हुन्थ्यो । उहाँका शब्दमा लय स्वाभाविक रूपमा आउँथ्यो, जसरी नदीमा पानी बग्छ ।
‘फूलको आँखामा फूलै संसार’ केवल लोकप्रिय गीत बनेन । त्यो जीवनलाई हेर्ने एउटा दृष्टि बन्यो । संसार हामीले हेर्ने आँखाअनुसार देखिन्छ भन्ने सामान्य सत्यलाई उहाँले यति सरल र मधुर रूपमा भन्नुभयो कि त्यो गीत नेपाली जनमानसको साझा सम्पत्ति बन्यो ।
यद्यपि दुर्गा दाइको कोमलतालाई कमजोरी ठान्नु ठूलो भूल हुनेछ । उहाँका शब्दमा फूलको सुवास थियो भने प्रतिरोधको आगो पनि थियो । बालबालिकाका लागि लेख्दा उहाँ बालकजस्तै सरल बन्न सक्नुहुन्थ्यो । भाषा र पहिचानको प्रश्नमा उभिँदा उहाँको कलम आन्दोलनको स्वर बन्न सक्थ्यो ।
उहाँको हस्तलेखनसमेत सिर्जनाजस्तै सुन्दर थियो । पछि उहाँकै अक्षरको स्वरूपबाट फन्ट निर्माण हुनु सामान्य घटना होइन । कुनै सर्जकका विचार पुस्तकमा सुरक्षित हुनु स्वाभाविक हो । तर, दुर्गा दाइको त अक्षरको आकृतिसमेत भविष्यका लागि सुरक्षित भयो । मानौँ उहाँले लेखेका शब्दमात्र होइन, ती शब्द कोर्ने औँलाको चाल पनि समयले जोगाएर राख्न चाह्यो ।
पछिल्लो समय हामी ‘अक्षरयात्रा– दशक आठ’ को तयारीमा थियौँ । उहाँको दीर्घ सिर्जनायात्रालाई एउटा भव्य साहित्यिक र साङ्गीतिक उत्सवका रूपमा प्रस्तुत गर्ने हाम्रो चाहना थियो । त्यसै यात्राका लागि उहाँका रुवाईहरूको सङ्ग्रह ‘फिँज’ माथि काम भइरहेको थियो ।
उहाँले लेख्नुभएका ५० रुवाईमध्ये केही उत्कृष्ट रचना छनोट गरी सङ्गीतबद्ध गर्ने काम चलिरहेको थियो । शब्दको लय, अनुप्रास, उच्चारण र साङ्गीतिक संरचनामाथि हामी मन्थन गरिरहेका थियौँ । उमेरले शरीरलाई केही थकाएको थियो, तर उहाँको सिर्जनात्मक चेतना थाकेको थिएन । उहाँ अझै शब्दको सही स्थान, लयको उचित बहाव र भावको सूक्ष्म अन्तरबारे उत्तिकै सजग हुनुहुन्थ्यो ।
हामी उत्सवको तयारी गरिरहेका थियौँ । तर, समयले त्यस उत्सवको अर्थ नै बदलिदियो ।
अब ‘अक्षरयात्रा– दशक आठ’ केवल एउटा साहित्यिक समारोह रहेन । त्यो उहाँको स्मृति, सिर्जना र अधुरो संवादलाई अगाडि लैजाने दायित्व बनेको छ । दुर्गा दाइ जानुभयो भन्दैमा अक्षरयात्रा रोकिन सक्दैन । उहाँले जीवनभर शब्दलाई गतिशील राख्नुभयो । उहाँकै सम्मानमा पनि त्यो यात्रा निरन्तर चल्नुपर्छ ।
‘फिँज’ कति अर्थपूर्ण नाम रहेछ भन्ने आज अझ गहिरोसँग महसुस हुन्छ । प्यालामाथिको फिँज केही क्षणमा बिलाउँछ । तर, प्यालाभित्रको स्वाद बाँकी रहन्छ । मानिसको देह पनि सायद समयको प्यालामाथिको फिँजजस्तै हो । एक दिन देखिँदादेखिँदै बिलाउँछ । तर उसले संसारलाई दिएको प्रेम, विचार र सिर्जनाको स्वाद बाँकी रहन्छ ।
दुर्गादाइको स्मृतिमा मनले भनिरहेछ ः
प्याला रित्तो होला एकदिन
फिँज पनि जान्छ बिलाएर
तर अक्षरको मदिरा बस्छ
युगयुग मनमा रसाएर।

उहाँको निधनको समाचार सुनेपछि धेरै बेरसम्म मनले त्यसलाई सत्य मान्न सकेन । शोकका केही क्षणमा मानिस तथ्य बुझ्छ, तर हृदयले स्वीकार गर्न सक्दैन । मलाई पनि त्यस्तै भयो । केही दिनअघि अस्पतालको कोठामा कुरा गरिरहेको मानिस अचानक स्मृति मात्र कसरी हुनसक्छ ?
आज म फेरि त्यो अन्तिम भिडियो हेर्छु । उहाँको अनुहार हेर्छु । आवाज सुन्छु । हाम्रो संवादका बीचमा रहेका साना मौनताहरू पनि सुन्छु । अनि लाग्छ, त्यो अस्पतालबाट भएको सामान्य बिदाइ थिएन । दुर्गा ¬दाइ कुनै अर्को अक्षरयात्राका लागि प्रस्थान गर्दै हुनुहुन्थ्यो ।
मैले उहाँसँग अझै धेरै कुरा गर्न बाँकी थियो । सायद उहाँसँग पनि मलाई सुनाउन बाँकी केही शब्द थिए । तर, सबै संवाद शब्दमै पूरा हुनुपर्छ भन्ने छैन । केही संवाद स्मृतिले पूरा गर्छ । केही सङ्गीतले । केही अधुरा रहेरै अनन्त बन्छन् ।
हिजो संवाद थियो, आज स्मृति छ ।
भेट अन्तिम भयो होला, दुर्गा दाइ ! साथ होइन !!
केही दिनअघि अस्पतालको कोठामा कुरा गरिरहेको मानिस अचानक स्मृतिमा मात्र कसरी हुनसक्छ ? आज म फेरि त्यो अन्तिम भिडियो हेर्छु । उहाँको अनुहार हेर्छु । आवाज सुन्छु । हाम्रो संवादका बीचमा रहेका साना मौनताहरू पनि सुन्छु । अनि लाग्छ, त्यो अस्पतालबाट भएको सामान्य बिदाइ थिएन । दुर्गा दाइ कुनै अर्को अक्षरयात्राका लागि प्रस्थान गर्दै हुनुहुन्थ्यो ।











प्रतिक्रिया