फूलको आँखामा फूलै संसार गीत सार्वजनिक भएपछि जनकवि दुर्गालाल श्रेष्ठलाई चिन्ने र उनका सिर्जनासँग जोडिने मानिसको संख्या झन् बढ्यो । सरल शब्द, मिठो लय र गहिरो जीवनदर्शन बोकेको यस गीतले बालबालिकादेखि वृद्धसम्म सबैको मन छोयो ।
फूलले संसारलाई जसरी हेर्छ, संसार पनि त्यस्तै सुन्दर देखिन्छ भन्ने भावले मानिसलाई जीवनलाई सकारात्मक दृष्टिले हेर्न प्रेरित ग¥यो । यो गीतमार्फत धेरैले दुर्गालालको सिर्जनाको अर्को पक्ष चिने । उनी केवल कविता लेख्ने कवि होइनन्, सामान्य र सरल शब्दमार्फत गहिरो जीवनदर्शन व्यक्त गर्न सक्ने बलिया स्रष्टा हुन् भन्ने कुरा यो गीतले स्थापित ग¥यो । निकै लोकप्रिय यो गीतमा जीवन, दृष्टिकोण र मानवीय संवेदनाको गहिरो सन्देश छ । त्यसैले यो गीत सबै उमेरका मानिसका लागि प्रिय बन्यो ।
उनीसँग लामो समयसम्म सहकार्य गरेका लेखक एवं मानवअधिकारवादी नेता मल्ल के सुन्दरका अनुसार सौम्य, शिष्ट, सरल अनि सरसता उनको काव्यको शैलीगत प्रवृत्ति थियो । लालित्ययुक्त शब्द चयनले लेखनीको विशिष्टता थियो । चित्तरञ्जन नेपालीको संगतबाट शास्त्रीय छन्दमा ज्ञान हासिल गरेका उनी व्याकरणमा पनि पोख्त थिए । त्यसैले उनका शब्द रचना आकर्षक मात्र बनेन्, ओझपूर्ण पनि रहे। आफैंमा रागदेखि तालसम्मको सांगितिक ज्ञान रहेकाले उनका काव्यमा सदैव गेय र लयको सामञ्जस्यता हुन्थ्यो। त्यसैले उनका गीत कालजयी बने, कर्णप्रिय बने ।
फूलको आँखामा फूलै संसार गीत रचना गर्नुभन्दा झन्डै सात दशकअघि उनले नेपालभाषामा अनेक कालजयी गीत, कविता र रचना सिर्जना गरिसकेका थिए । प्रणय गीत रचनाका उनी सम्राट् नै थिए । नेपाल भाषामा उनले कति गीत कोरे उनलाई नै सम्झना छैन । लःबियाः ह्वयेकागु स्वां (सिंचन गरिकन हुर्काइएको फूल), असंत्वाःया दबू कुनय् मियातःगु ग्वाः (असन टोलको कुनामा रहेको डबलीमा बेच्न थापेको पान पसल) जस्ता उनका पे्रमिल रचना यतिविघ्न जनमानसमा प्रचलित छन्, आम मानिसले त यिनलाई लामो कुनै परम्परागत लोकगीत नै हुन् भन्ठान्छन् ।
दुर्गालाल श्रेष्ठले धेरै प्रभावशाली कविता गद्यमा नलेखेको होइनन् ।
उनको जीवनी लेख्ने आर मानन्धरका अनुसार उनी छन्दमै विशेष अभिरुचि राख्ने प्रतिभा भएका कवि हुन् । छन्दमा लेख्दैमा पारम्परिक हुन्छ भन्ने मान्यता दरो चुनौती उनका कविता हुन् । छन्दमै उनले प्रखर आधुनिकता र प्रशस्त विद्रोह कविता लेखेका छन् । भाषा, संस्कृति, जातीय गौरव पहिचान, सामाजिक चेतना र देशप्रेमसँग जोडिएका उनका धेरै रचना नेवाः समाजमा लोकप्रिय थिए । अय मगः, तामाङ, मैथिल, लिम्बू, अय नेवाःत वा, वा उपेक्षित जाति सकलें थःगु हक थःगु याय्त वा (लौ मगर, तामाङ, मैथिल, लिम्बू, लौ नेवार उठौं, उठौं उपेक्षित जाति सबै आफ्ना हक आफ्नो बनाउन उठौं भन्ने उनको आह्वानमा अधिकार प्राप्तिको चाहना अघि बढ्ने अभिप्रेरित हुने गर्छन् । फूलको आँखामा फूलै संसारले भने उनलाई नेपालभाषाको सीमाभन्दा बाहिर पनि ठूलो संख्यामा नेपालीभाषी र नयाँ पुस्तामाझ पु¥यायो । त्योभन्दा अघि पनि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको टेलिसिरियल १५ गतेको गीत सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल पनि उतिकै लोकप्रिय थियो । महजोडीकै अर्को टेलिसिरीयल लक्ष्मीमा यो पैसाको प्यास अहो भन्ने गीत पनि उनले नै रचना गरेका थिए ।
दुर्गालालको कवि व्यक्तित्व भने दशकौंको निरन्तर सिर्जना, संघर्ष र जनतासँगको सम्बन्धबाट बनेको हो । जनकवि दुर्गालाल श्रेष्ठका बाल गीत, यौवन गीत र अझ भनौं जाति, भाषा पहिचान र देशप्रेमका नभई भजनका अनेक कालजयी गीतहरु छन् । नेपालभाषाका रचना गरिएका ती गीत सब एक एक छन् । ती गीत गुनगुनाउँदा कविलाई एक बालक, एक प्रेमी र प्रेमीका र भाषिक, देशका प्रेम अभियन्ताहरुले फरक फरक रूपमा अनुभूत गर्छन् । कविको एउटै जीवनमा सिर्जनाको बहुआयामिक अनुभूत गर्दछ। तर स्वयं कविको जीवन, हुर्किएको परिवेश र बाँचेको समाजले बहुसंख्यकले भने उनलाई एक आन्दोलनकारी, सामाजिक न्याय, भाषिक एवं जातीय अधिकार र विविधता समेटिएका राष्ट्रियता निर्माणका लागि रगतले लागि परेका एक योद्धा देख्छन् ।
धेरैले दुरबाट शोषित र पीडितका आवाज बोल्ने आत्मीय कविका रूपमा चिन्छन् ।दुर्गालाल काठमाडौं उपत्यकाको एक निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका कवि हुन् । उनको बाल्यकाल सुख–सुविधामा होइन, अभाव र गरिबीबीच बित्यो । जीवनका सुरुआती दिनमै उनले आर्थिक कठिनाइ, सामाजिक विभेद र सामान्य मानिसले भोग्ने अनेक पीडालाई नजिकबाट देखे र अनुभूति गरे । यही परिवेशले उनको सोच र सिर्जनालाई गहिरो प्रभाव पा¥यो । दुर्गालालले आफ्नो जीवनमा साहित्यलाई केवल मनोरञ्जन वा प्रसिद्धिको माध्यम बनाएनन् । उनले आप्mना कविता, गीत र रचनामार्फत मानिसका दुःख, पीडा, संघर्ष र आशालाई आवाज दिए । त्यसैले उनका सिर्जनामा सामान्य मानिसको जीवन, श्रमजीवी वर्गको पीडा र शोषित–पीडित समुदायको भावना स्पष्ट रूपमा भेटिन्छ । उनको साहित्यिक यात्रा पनि कुनै राजनीतिक सत्ता वा शक्तिको सहारामा अघि बढेको होइन । उनी आफ्नै सिर्जनाको शक्ति र प्रतिभाका कारण चिनिए र स्थापित भए ।
प्रायःजसो साहित्यिक कार्यक्रमका लागि उनले यस किसिमका गीत लेखेका हुन् । कार्यक्रमको लागि आयोजक, अभियन्ता र कलाकारहरुलाई गीत खाँचो हुन्छ । अनि आयोजक, कलाकार जम्मै उनको घरमा पुग्थे । त्यसपछि भेटेपछि आफूलाई चाहिने गीत एकै बसाइमा पाउँछन्। उनका गीतमा भाषा, संस्कृति, पहिचान, अधिकार, स्वतन्त्रता र सामाजिक न्यायका आवाज मिसिएका थिए । त्यसैले नेपालभाषा र नेवाः समुदायका विभिन्न आन्दोलनमा उनका गीतले जनतालाई जोड्ने र उत्साहित बनाउने काम ग¥यो । २०२२ सालको भाषा आन्दोलन होस् वा पञ्चायतकालमा सुरु भएको नेपाल संवत्लाई राष्ट्रिय संवतका रूपमा स्थापित गर्ने अभियान, दुर्गालालका गीत आन्दोलनका महत्वपूर्ण स्वर बने । सभाहरू, जुलुस र भेलामा उनको लसय् हंगु विरोध नामक गीति संग्रह प्रत्येक गीतहरु बज्दा वा गाइँदा सहभागीहरूमा छुट्टै ऊर्जा थपिन्थ्यो । त्यसै गरी २०६२÷६३ को जनआन्दोलनका क्रममा पनि दुर्गालालका गीत व्यापक रूपमा गुञ्जिए । लोकतन्त्र, अधिकार र परिवर्तनका लागि सडकमा उत्रिएका जनतामाझ उनका गीतले उत्साह र हौसला थपे ।
पञ्चायतकालमा राज्यले एक धर्म, एक भाषा र एक संस्कृतिलाई प्राथमिकता दिइरहेको थियो । यस्तो अवस्थामा उनले त्यस सोचको विरोध गर्दै भाषा, धर्म, संस्कृति र समानताको पक्षमा आफ्ना गीत र कवितामार्फत आवाज उठाए। उनले देश भनेको एउटा भाषा, धर्म वा संस्कृतिमात्र होइन, यहाँ बसोबास गर्ने सबै जाति, समुदाय, भाषा र संस्कृतिको साझा घर हो भन्ने भावना आफ्ना रचनामा व्यक्त गरे। उनको चर्चित गीत यः, जित त जिगु देश यः तर जिं मखं जिगु देश ग्व ? अर्थात्, मनपर्छ, मलाई पनि मेरो देश मनपर्दछ । तर, मैले देखिन मेरो देश कहाँ छ ? भन्ने भावले यही पीडा र प्रश्नलाई उजागर गर्छ ।
यसरी हेर्दा दुर्गालाल श्रेष्ठको जीवन अभावबाट सुरु भएर सिर्जनाको शक्तिबाट स्थापित भएको यात्रा हो । गरिबी र संघर्षबाट हुर्किएका उनले आफ्नो प्रतिभालाई सत्ताको नजिक पुग्ने बाटो बनाएनन्, बरु जनताको भावना र पीडालाई अभिव्यक्त गर्ने माध्यम बनाए । त्यसैले आज पनि उनका सिर्जना सुन्दा मानिसले केवल एउटा कविको आवाज सुन्दैन, आफ्नै जीवन, संघर्ष र सपनाको आवाज सुनेजस्तो अनुभूति गर्छ । त्यसैले उनी धेरैका लागि केवल कवि होइनन्, समाजका पीडा र भावनालाई आफ्नै आवाजमा व्यक्त गर्ने आत्मीय स्रष्टा हुन् ।
पछिल्लो कालखण्डमा जसरी उमेर प्रौढ बन्दै गयो उनका अधिकांश रचनाले जीवन र जगतका गुढ तत्व खोज्न थाले । मानवीय जीवनको सार्थकताको भेउ पाउन क्षणिक यथार्थमा भन्दा शाश्वत सत्यका लागि भौंतारिन थाले। उनलाई प्रेम र सम्मानका साथ ‘झी कवि अर्थात् हाम्रा कवि भनेर सम्बोधन गरिन्छ। उनी जनसमुदायका कवि हुन् । बालक, युवा, वृद्ध, धनी र गरिब सबैमा उनी व्याप्त छन् । नेपाल भाषा, नेपाली, अंग्रे्रजी, चिनियाँ र अन्य भाषामा समेत गरी उनका सात दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अरू दर्जनौं पुस्तक प्रकाशोन्मुख छन् । यति धेरै संख्यामा पुस्तक लेख्ने बिरलै होलान्, दुर्गालाल तीमध्ये एक हुन् ।
वास्तवमा दुर्गालाल श्रेष्ठ कविता कोर्ने कविमात्र सीमित छैनन् । उनी गायक कविमा बढी निख्रेका छन् । यो कुरा नेपालभाषाका कथाकार हितकरविरसिंह कंसाकारले आजभन्दा ६५ वर्षअघि दुर्गालाल श्रेष्ठको गीति संग्रह सर्गः सिबे नं धरती निमंग्वा –‘आकाशभन्दा धरती राँकिएको छ’ को भूमिकामा लेखेका थिए ।
दुर्गालाललाई धेरैले दुरबाट शोषित र पीडितका आवाज बोल्ने आत्मीय कविका रूपमा चिन्छन् । उनलाई प्रेम र सम्मानका साथ झी कवि अर्थात् हाम्रा कवि भनेर सम्बोधन गर्छन् । उनी जनसमुदायका कवि हुन् । बालक, युवा, वृद्ध, धनी र गरिब सबैमा उनी व्याप्त छन् ।











प्रतिक्रिया