मातृभाषाका अनन्य साधक जनकवि दुर्गालाल श्रेष्ठ

376
Shares

देशका सब जाति भाषा ज्यान झैँ प्रेमै गरी
हृदयले हामी अँगाल्छौं ती सबै एकैसरि ।

जनकवि दुर्गालाल श्रेष्ठले नेपालभाषामा लेखेको गीत देशया फुक जाति भाषा जिमित यः जिमि ज्यान थें …को नेपाली अनुवाद हो यो ।
जीवनको आठ दशक निरन्तर लेखन यात्रामा समर्पित गरेका जनकवि दुर्गालाल श्रेष्ठको व्यक्तित्वका विभिन्न पक्ष छन् । उनी कवि हुन्, गीतकार हुन्, नाटककार हुन् । कविताको अनुवादमा पनि उनले विशेष खुबी देखाएका छन् । चलचित्रको लागि संवाद पनि लेखे । यी सबैमाझ सबभन्दा गहु्रँगो पक्ष खोज्यौं भने त्यो उनको मातृभाषा प्रेम नै हुने छ । बरु उनी कवि, गीतकार, नाटककार, अनुवादक जे–जति बने ती सबैको पछाडिको उत्प्रेरणा उनको भाषा प्रेम नै हो । मातृभाषाका साधक साहित्यकार कस्तो हुनु पर्छ भन्ने उदाहरणको राम्रो नमुना हुन्, उनी । त्यसैले कालान्तरसम्म कुनै पनि मातृभाषाका लेखकको लागि उनी प्रेरक र आदर्श व्यक्तित्व भई रहिरहने छ ।

याःक फल्चा कविता सङ्ग्रहको भूमिकामा मल्ल के. सुन्दर लेख्छन् ‘दुर्गालालमा जति भाषिक मोहको सुगन्ध र विद्रोह अरू कुनै पनि समकालीन कविहरूमा छैन भन्दा पनि हुन्छ । बरु वहाँको प्रभावमा अरू नयाँ टुसा पलाउन थालेको देख्न सकिन्छ ।’ उनको जीवनी पुस्तक ‘कवि ः कविताको छवि’ मा उनी आफैं पनि भन्छन्, ‘मलाई कवि, लेखक केही नभनिदेओस् । बरू एउटा उपेक्षित भाषाको लागि सङ्घर्षरत आन्दोलनको एउटा सिपाही भनिदेओस् । मैले त्यो आन्दोलनमा सिपाहीको भूमिका इमान्दारीपूर्वक निर्वाह गरेको छु भनेर बुझिदेओस् ।’

वास्तवमै पनि कवि दुर्गालाल मातृभाषाका अनन्य प्रेमी र सेवक हुन् । उनको सम्पूर्ण जीवन नै मातृभाषाको सेवामा बितेको छ । हुन त नेपालमा राणाकालदेखि आजसम्म जुनसुकै राजनीतिक व्यवस्था आए पनि धेरथोर सबै सत्ताले राष्ट्रिय भाषाहरूलाई दबाउने र उपेक्षा गरिआएकै छ । यसै कारणले नेपालभाषाका लेखकहरू लेखकमात्र नभएर भाषिक आन्दोलनका कार्यकर्ता पनि बनेका छन् । भाषा जोगाउने र भाषिक चेतना जगाउने दुवै जिम्मेवारी उनीहरूको काँधमा छ । दुर्गालाल यस प्रवृत्तिका सशक्त अगुवा हुन् भन्ने कुरा भाषिक÷जातीय जागरणका गीत, कविता र नाटकहरू साक्ष छन् ।

१९९० सालमा जन्मेका उनले २०१० सालतिर कलिलो उमेरमै झी ज्यापु ज्यामि सारा, शोषित व सर्वहारा (हामी किसान, मजदुर सारा, शोषित र सर्वहारा) भनी प्रगतिशील गीत लेख्न भ्याइसकेका थिए । त्यसपछि उनले २०१२ सालसम्म आउँदा केही भाषिक जागरणका गीत पनि लेखिसकेको भेटिन्छ । तर, उनमा भाषिक गीतको लहर २०२२ सालमा प्रस्फुटित हुन्छ । यसको कारण हो २०२२ मा त्यस्तो एउटा घटना भयो, जसले सिंगो उपत्यकालाई जुरुक्कै उचाल्यो । भाषा आन्दोलनको इतिहासमा त्यो बाइस सालको आन्दोलनको नामबाट परिचित भयो ।
भएको के थियो भने रेडियोे नेपालले नियमित दिँदै आएको नेपालभाषाको समाचार कार्यक्रम बन्द गरिदियो ।

२०१७ सालको राजनीतिक कूपछि भाषिक र जातीय अधिकारलाई सीमित गराउँदै गएको परिवेशमा उपत्यकाका नेवारले यसलाई त्यसैको निरन्तरताको रूपमा लियो । उनीहरूलाई अपमानित गरेको महसूस भयो । त्यसको प्रतिक्रियामा टोलटोल गाउँगाउँमा दैनिकैजसो विरोधका कार्यक्रम आयोजना हुन थाले । तिनमा भाषणमात्र नभएर जागरणका कविता वाचन र गीत गायन पनि हुन्थ्यो । युवा दुर्गालाल आन्दोलनकारी कवि, गीतकारको रूपमा अघि आए । उनले विरोध कार्यक्रममा सुनाउनकै लागि कविता रचे । गायकहरूले कार्यक्रममा सुनाउनकै लागि उनीसित गीत माग्न आउन थाले । ती गीतले त्यसबेला उपत्यका ततायो भने पछि रिकर्ड भई रेडियो र कार्यक्रमहरूमा बजिरहे । त्यस बेलादेखि आजसम्म नेवारको कुनै पनि भाषिक वा जातीय आन्दोलनका जुलुस होस् वा कार्यक्रम दुर्गालालका जागरणका गीत बिना शायदै मात्र सम्पन्न भएका होलान् । उनका गीत हरेक कार्यक्रमका अभिन्न अंग नै बनेका छन् ।

जीवनी पुस्तक तयार गर्ने क्रममा यस पंक्तिकारसित दुर्गालालले आफूलाई पोखेका थिए— ‘उपक्षेति जातिको रुपमा बाँच्नुपर्ने समाजको म सदस्य हुँ । समृद्ध जाति भईकन पनि उपेक्षित अर्थात् राज्यको बहिष्करणमा परेको भाषा बोल्ने भई बाँच्नु पर्दा त्यो उपेक्षाले मेरो मन दुख्छ, पोल्छ । मैले मन दुखाउने होइन, तर मानिस भएकै कारण मेरो अन्तर त्यसै त्यसै रून्छ । त्यस्तो बेला मनमा अटेसमटेस हुने गरी अनेक भावना उम्लिरहेका हुन्छन् । तिनलाई पोख्ने माध्यम नै गीत भइदिन्छ ।’

यही भावनालाई उनले गीतमा पनि भनेका छन्,
घाः जुयाः जक ख्वैगु खः झी
स्याःगुलिं सः तैगु खः
झी मसीनि, झी मसीनि
धैगु चिं जक ब्वैगु खः ।

यसको नेपाली भावानुवाद हुन्छ,

घाउ लागेकोले मात्र रोएका हौं
दुखेकोले चिच्याएका हौं
हामी मरेका छैनौं भन्ने
संकेत मात्र गरेका हौं ।

फेरि अर्को गीतको अनुवाद यस्तो छ,

हाम्रो भाषा म¥यो भने हाय !
यो नेपालै हाम्रो हुने छैन
देशै परदेश भएको
टुलुटुलु हेर्नु, मर्नु हैन ?

प्रौढ रचनामा मात्र नभई बालगीतमा पनि उनी मातृभाषाको महत्त्व दर्शाउन चुक्दैनन् । उनको लोकप्रिय बालगीत छ,

चखुंचा चिर्चिर, बखुंचा घुर्घुर
क्वःचां क्वाःक्वाः याइ
झंगः जूसां चखुं, बखुं
बोलिं यानाः पाइ

यसको भावार्थ हो —

चिर्चिर गर्छ भँगेरा, घुर्घुर गर्छ परेवा,
कराउँछ काग काँकाँ ।
पंक्षी भए पनि आ–आफ्ना
बोली चराचुरङ्गीका ।

यसरी बालगीतमै पनि सरल भाषामा भाषिक विविधतालाई अभिव्यक्त गर्न सक्ने कवि हुन् — दुर्गालाल । वास्तवमा उनले जति लेखे मातृभाषाको प्रेमले लेखे । भाषिक विषयको अलावा उनले प्रेमप्रधान प्रवृत्ति, प्रगतिशील प्रवृत्ति र आत्मचिन्तन, अध्यात्म चिन्तनका रचना प्रशस्त रचेका छन् । अझ कति अन्य भाषाका कविता कृति अनुवाद पनि गरेका छन् । यी सबै कृत्यको पछाडिको एउटा प्रमुख उत्प्रेरणा हो, मातृभाषाको ढुकुटी भर्नु । 

धेरैलाई लाग्छ, उनले भाषिक र जातीय जागरणका गीत र कविता मात्र लेखे । तर, अनुसन्धाता भएको नाताले यस पंक्तिकारले प्रस्तुत गर्नै पर्छ कि यसै मुद्दामा उनले नाटक पनि रचेका छन् । प्याखंपिचामा सङ्ग्रहित एकाङ्कीहरूमा ‘जि सिद्धिदास’ (म सिद्धिदास) र ‘ततजाःगु मेच’ (अग्लाअग्ला कुर्सी) भाषाप्रेमका नाटक हुन् । ‘जि सिद्धिदास’ नेपालभाषाका महाकवि सिद्धिदासको जीवनीमा आधारित नाटक हो । विषयवस्तुका हिसाबले यसलाई ऐतिहासिक नाटक पनि भन्न सकिन्छ । तर, यस नाटकमा कविको जीवनी नै भन्दा पनि कविको आर्थिक अवस्थाको कारण घरमा भइरहने कचमच र सोको बाबजुद पनि कविको टसमस नहुने भाषाप्रेमको उदाहरण प्रस्तुत भएको छ । अभावको परिस्थितिमा पनि सिद्धिदासको अद्वितीय भाषाप्रेम देखाएर दर्शकमा भाषाप्रेम जगाउने यसको मूल उद्देश्य हो । 

अर्को नाटक ततःजाःगु मेचको मुख्य कथा हो कुर्सीको निमित्त आफ्नो मातृभाषालाई छोड्ने विद्यालयको प्रधानाध्यापक र मातृभाषालाई माया गर्ने शिक्षक सागरबीचको द्वन्द्व । दुर्गालालले आपूm शिक्षक छँदा अध्यापन गर्ने विद्यालयमा देखेका प्रवृत्तिहरूलाई यस नाटकमा उतारेका छन् । यसमा एकातिर मातृभाषामा शिक्षा नपाएका बालबालिकामा देखिने विकृतिलाई देखाएका छन् भने अर्कोतिर शिक्षक भनाउँदाहरूको नोकरबुद्धि पनि प्रष्ट्याइएको छ । यस नाटकको खलपात्र प्रधानाध्यापकको विचार विद्यार्थीहरूले आफ्नो मातृभाषा नेपालभाषा छोडेर नेपाली भाषा अँगाल्नुपर्छ भन्ने हो । तर, नायक पात्र शिक्षक सागर भन्छ — ‘जाबो एउटा कुर्सीको निम्ति आज आफ्नो जातिभाषा छोड्न सक्नेले भोलि नेपाली भाषामात्र छोड्दैन भन्ने के ग्यारेण्टी छ ?’ आज सहरका उच्च र मध्यमवर्गले साँच्चै नै नेपालीलाई पनि छोडेर अङ्ग्रेजी भाषा अँगाल्न थालेका छन् । दुर्गालालले कति दूरदर्शी थिए भने यो कुरा उनले धेरै दशकअघि नै मनन गरिसकेका थिए । 

कवि दुर्गालालको भाषाप्रेम केवल लेखनीमा मात्र सीमित छैन । उनी जुलुस, आन्दोलनलगायत भाषा साहित्यसित सम्बन्धित सबै साना ठूला कार्यक्रममा उपस्थित हुन भ्याउँछन् । आफ्नो भाषण र कविताले आन्दोलनकारीलाई उत्साहित बनाउँछन् । साथै उनी जीवनको अन्तिमसम्म मंकाः खलः, नेपाल लिपि गुथि लगायत विभिन्न भाषिक संघसंस्थामा सक्रिय रहेका थिए ।

हुन त नेपालभाषा बाहेक नेपालीमा पनि दुर्गालालले आफ्नो कलमको शक्ति र जादू देखाएका छन् । तर उनी भन्छन्, ‘अरू भाषामा लेख्दा अभ्यासले मात्र म समर्थ हुन्छु तर मातृभाषामा लेख्नबस्दा कलममा मेरो रगत बगेको जस्तो अनुभव हुन्छ’ (मधुपर्क ः ४२६) ।

मातृभाषाको प्रेम गर्नुको अर्थ अन्य भाषामा लेख्दै नलेख्नु कदापि होइन । तर, शासकको लागि उनले गीतैमार्फत यो सन्देश छोडेर गएका छन्—

एकभाषा नीति लिन्छ त राज्य गर्नेले यदि
घाउ भित्र दुखेदुखे झैँ, देश रून्छ सधैंभरि ।

(लेखक साहित्यकार दुर्गालाल श्रेष्ठका जीवनीकार तथा शोधकर्ता हुन् ।)

दुर्गालालले आफूलाई पोखेका थिए— ‘समृद्ध जाति भईकन पनि उपेक्षित अर्थात् राज्यको बहिष्करणमा परेको भाषा बोल्ने भई बाँच्नु पर्दा त्यो उपेक्षाले मेरो मन दुख्छ, पोल्छ । मैले मन दुखाउने होइन, तर मानिस भएकै कारण मेरो अन्तर त्यसै त्यसै रून्छ । त्यस्तो बेला मनमा अटेसमटेस हुने गरी अनेक भावना उम्लिरहेका हुन्छन् । तिनलाई पोख्ने माध्यम नै गीत भइदिन्छ ।’