सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई आरओ प्रणाली सहयोग


काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस (आरओ) प्रणाली सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत अस्पतालको डायलासिस सेवालाई थप सुरक्षित, दिगो र प्रभावकारी बनाउन आवश्यक आरओ प्रणाली उपलब्ध गराएको हो। उक्त सहयोगबाट सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीलाई प्रदान हुँदै आएको डायलासिस सेवा थप सुदृढ हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटमा हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीले सेवा लिँदै आएका छन्। अस्पतालको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै बैंकले अस्पताल व्यवस्थापनसँग छलफल गरी प्राथमिक आवश्यकता पहिचान गरेको थियो। सोही क्रममा डायलासिस युनिटका लागि आवश्यक आरओ प्रणाली स्थापनालाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले डायलासिस युनिटका लागि आरओ प्रणाली हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै सीईओ पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीको उपचार सेवामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले सहयोगबाट विशेषगरी न्यून आय भएका तथा विपन्न समुदायका मिर्गौला रोगीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बैंकको भनाइ छ।

यसैबीच, सिटिजन्स बैंकले विभिन्न डिजिटल तथा वित्तीय सेवाहरू विस्तार गर्दै आएको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ भने नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ।

त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आस्बा (सीआरएन) नम्बर सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।