रास्वपा सांसद हरि ढकालको नेतृत्वमा पक्राउ पुर्जी जारी अभियुक्त भगाइएको आरोप, प्रहरी अवरोधबारे छानबिन हुँदै


महोत्तरी ।

ज्यान मार्ने उद्योगको मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका रोमन प्रताप सिंह ‘रोमन’लाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरि ढकालसहितका कार्यकर्ताले अवरोध गरेको घटना सार्वजनिक भएको छ। जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आइतबार आयोजित रास्वपाको कार्यक्रममा सहभागी भएका रोमनलाई पक्राउ गर्न प्रहरी पुगेपछि विवाद उत्पन्न भएको थियो।

प्रहरीका अनुसार कार्यकर्ताको हुलहुज्जत र नाराबाजीका कारण उनलाई नियन्त्रणमा लिन नसकिएको हो। महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम सारु मगरले रोमन प्रहरीको खोजीमा रहेको र कार्यक्रममा उनलाई पक्राउ गर्न खोज्दा अवरोध भएपछि उनी फरार भएको पुष्टि गरेका छन्। उनका अनुसार प्रहरी टोलीले रोमनलाई नियन्त्रणमा लिन प्रयास गरे पनि परिस्थितिका कारण सफल हुन सकेन। प्रहरी स्रोतका अनुसार पक्राउ गर्न प्रहरी पुगेको सूचना पाएपछि रोमन समर्थित रास्वपा कार्यकर्ताले हलमा होहल्ला तथा नाराबाजी गरेका थिए। प्रहरी र कार्यकर्ताबीच तनाव बढेपछि सांसद ढकाल पनि कार्यकर्तासहित बाहिरिएका थिए।

त्यसक्रममा रोमन पनि त्यही समूहसँगै बाहिरिएर फरार भएको स्रोतको दाबी छ। घटनासम्बन्धी भिडियोमा प्रहरीविरुद्ध नाराबाजी गर्दै रोमनलाई पक्राउ नगर्न दबाब दिइएको देखिएको बताइएको छ। यद्यपि, सांसद ढकालले स्वयं रोमनलाई भगाउन निर्देशन दिएको विषयमा भने आधिकारिक पुष्टि भइसकेको छैन। जेठको झडपपछि ज्यान मार्ने उद्योगको मुद्दा गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा आयोजित रास्वपाको नगर अधिवेशनका क्रममा पार्टीका दुई पक्षबीच झडप भएको थियो। झडपमा सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। घटनापछि सतीश कापरले रोमन प्रताप सिंहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका थिए।

अनुसन्धानका क्रममा महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते रोमनलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिँदै पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ। त्यसयता फरार रहेका रोमन आइतबार रास्वपाकै कार्यक्रममा उपस्थित भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न टोली पठाएको थियो। तर, प्रहरीका अनुसार कार्यकर्ताको अवरोधका कारण उनी त्यहाँबाट उम्किन सफल भए। रोमनको खोजी जारी प्रहरी निरीक्षक विश्वभरनाथ साहले विशेष सूचनाका आधारमा रोमनलाई पक्राउ गर्न टोली परिचालन गरिएको तर अवरोधका कारण पक्राउ गर्न नसकिएको बताएका छन्।

प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ। यसैबीच, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका सांसद ढकालकै नेतृत्वमा भएको कार्यक्रममा अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तको उपस्थितिलाई लिएर प्रश्न उठेको छ। घटनामा सांसद तथा रास्वपा कार्यकर्ताको भूमिकाबारे थप तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।