काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आश्विन ३ गतेदेखि सुरु गर्ने भनिएको ‘तथाकथित’ विशेष अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
कोइरालाले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमार्फत कांग्रेसभित्रको पछिल्लो विवाद व्यक्ति, समूह वा पदको विषय मात्रै नभई पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताउनुभएको छ ।
उहाँले विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र संवाद तथा सहमतिबाट निकास खोज्न आग्रह पनि गर्नुभएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने उहाँको भनाइ छ ।
‘सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न’ –विज्ञप्तिमा भनिएको छ । कोइरालाले निश्चित सर्त स्वीकार गरेपछि मात्र पद व्यवस्थापन गर्ने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँटलाई समाधान बनाउने प्रवृत्तिले कांग्रेसको लोकतान्त्रिक संस्कार कमजोर बनाउने चेतावनीसमेत दिनुभएको छ ।
उहाँले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्ने दिशातर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ । त्यसैले कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी पार्टीको भविष्यलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कोइरालाले नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रमपूर्ण र गैरजिम्मेवार प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा हुँदै विभिन्न तहका अधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको छ । साथै, उहाँले मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।











प्रतिक्रिया