
कविताजस्तै जीवन जिउने व्यक्ति हुन् दुर्गालाल श्रेष्ठ । उनलाई भेट्दा जाहिले पनि एउटा कवितासँग नै साक्षात्कार भएको अनुभव हुन्थ्यो। मैले उनलाई पहिलो पटक कहाँ–कसरी भेटेँ सम्झना छैन, तर जहिले भेटे पनि मलाई आत्मीय र सुखद् अनुभूति हुने गथ्र्यो । सधैँ शलभजी भनेर हात समाएर एउटा नयाँ ऊर्जा सञ्चार गर्नुहुन्थ्यो, मभित्र उहाँले । मैले बढी सम्झिने दुइवटा प्रसंग छन् ।
पहिलो, हामीले ‘सुन्ने कविता’ निकाल्ने योजना बनायौँ । दशजना कविका उहाँहरूले नै रोज्नु भएका कविता उहाँहरूकै स्वरमा रेकर्ड गरेर अडियो सीडी निकाल्ने । त्यसक्रममा मैले वहाँलाई भेट्न जाँदा सहज तरीकाले हुन्छ नि त गरौँ भनेर सहमति दिनु भो र स्टुडियोमा आएर आप्mना कविताहरू रेकर्ड गराउनु भो ।
यो स्टुडियोभन्दा म सम्झिन्छु – त्यति बेलाको नामुद स्टुडियो सिम्फोनी बन्द भयो र घरपट्टी साहुले त्यो भत्काउने भो लौ न दाई जोगाऔं भनेर मलाई एड मिडियाका अख्तर र धीरेन्द्रले भनेपछि पल्पसा जीसँग मिलेर त्यो स्टुडियो मैले भाडामा लिएँ र ध्वनिका नामले सञ्चालन गर्यौं । यो सुन्ने कविताको पूरै प्रोजेक्ट ऋत्विक शलभले हेरेको थियो । पछि दुर्गा दाईले मलाई फोन गरेर बोलाउनु भो र अरू कसैले पनि वहाँका केही कविता रेकर्ड गरेको छ, त्यो पनि यो सीडीमा सामेल गर्दा हुन्न ? भनेर सोध्नु भयो । त्यसैले त्यो सिरिजमा अरू नौ जना कविका एउटा–एउटा मात्र सीडी छन् भने दुर्गा दाइका दुईवटा सीडी छन् ।
यस सन्दर्भमा अर्को एउटा स्मरणीय कुरा के छ भने अहिलेसम्मको सबैभन्दा राम्रो फोटो नै हामीले त्यसको कभरका लागि खिचेको (विक्रम श्रेष्ठ) फोटो रहेछ । वसन्त चौधरी दाईले गर्दा नै सुन्ने कविताका यी सीडी दृश्यले श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको सहयोगमा प्रकाशन गरेको थियो । जसको लोकार्पण तत्कालीन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति भवनमा गर्नुभएको थियो । लोकार्पणका समयमा दुर्गा दाई काठमाडांैमा हुनुहुन्नथ्यो र वहाँकी छोरी सुचिता बहिनी प्रतिनिधिका रूपमा आउनुभएको थियो । अर्को स्मरणीय कुरा के छ भने किरण मानन्धर दाईले ती सीडी सुनेर दसजना कविका दसवटा कवितामाथि दसवटा चित्र बनाउनु भएको थियो र ती चित्रको पनि त्यहाँ प्रदर्शनी भएको थियो ।
अर्को प्रसंगमा त झन् वसन्त चौधरी दाई नै प्रमुख हुनुहुन्छ । केही दिन अगाडि (साउनको तेस्रो सातातिर) वसन्त दाईले ‘भाइ दुर्गा दाइको एउटा भव्य कार्यक्रम गर्ने मन छ, भेट्न जौं’ भनेर मलाई पनि वहाँको घर बूढानीलकण्ठ लानु भयो । दुर्गालाल साहित्य प्रतिष्ठानका अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो । वसन्त दाईले भन्नु भो– ‘स्रष्टाको सम्मान उसको जीवनकालमै गर्नुपर्छ र उहाँले तयार गर्नुभएको कार्यक्रम ‘अक्षरयात्रा – आठ दशक’ को अवधारणा त्यहाँ पढेर सुनाउनु भयो । सबैले त्यो भव्य अवधारणाको प्रशंसा गरे । दुर्गा दाई पनि खुशी हुनुभो–‘‘धेरै तडक–भडक नगरौं’ भन्दै आप्mनो सहमति जनाएर केवल आठ दशकको साटो दशक आठ भन्नुपर्ला भने पछि नमान्ने कुरै थिएन ।
‘अक्षरयात्रा–दशक आठ’ भनेर कार्यक्रम गर्ने निधो भयो । सबैले त्यही हिसाबले काम गर्ने र दुर्गालाल साहित्य प्रतिष्ठान र वसन्त चौधरी फाउन्डेसनले मिलेर यो अक्षरयात्रा सम्पन्न गर्ने निश्चित भयो । अर्को बैठकमा वसन्त दाईले त्यो अवधारणापत्रलाई अझ परिमार्जन र थप योजनासहित प्रस्तुत गर्नुभयो । त्यसै हिसाबले भाद्र २७ गतेका लागि हल पनि बुक गरियो ।

हामीले आप्mनो जिम्मेवारीअनुसारको काम गर्न सुरु गरिसकेका थियौं । त्यसको दुई दिनपछि सुमनजी (दुर्गा दाईको छोरा) ले बालाई बोल्न अलिक गाह्रो भाछ भनेर खबर गर्नासाथ वसन्त दाईले उहाँलाई नर्भिकमा ल्याएर सम्पूर्ण टेस्टहरू गर्ने व्यवस्था आफैं लागेर गर्नु भो र डाक्टरहरूले अब सबै ठीक छ भनेपछि गत आइतबार साउन ३१ गते साँझ वहाँलाई घर पठाइयो । तर, त्यही दिन राति वहाँले हामीलाई छोडेर जानु भो । बिहान यो खबर सुन्दा पत्यार नै लागेन, तर के गर्नु दैवको लीला । वहाँलाई भित्री मनदेखि हार्दिक श्रद्धा–सुमन अर्पण गर्दछु ।
साउनको तेस्रो सातातिर वसन्त चौधरी दाईले ‘भाइ दुर्गा दाइको एउटा भव्य कार्यक्रम गर्ने मन छ, भेट्न जौं’ भनेर मलाई पनि वहाँको घर बूढानीलकण्ठ लानु भयो । वसन्त दाईले भन्नु भो– ‘स्रष्टाको सम्मान उसको जीवनकालमै गर्नुपर्छ र उहाँले तयार गर्नु भएको कार्यक्रम ‘अक्षरयात्रा – आठ दशक’ को अवधारणा त्यहाँ पढेर सुनाउनु भयो ।











प्रतिक्रिया