उदयपुर ।
उदयपुर जिल्लामा २०८३ साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ ।
चालू आर्थिक वर्षको दुई महिनामा झापा र खोटाबपछि तेस्रो स्थानमा उदयपुरमा सो संख्यामा डेंगी संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन लौकाजी राईका अनुसार आर्थिक वर्ष ०८२-८३ मा जिल्लाभर ४६ जनालाई मात्रै डेंगी संक्रमण भएकामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै संक्रमितको संख्या ४९ पुगेको हो ।
सबैभन्दा बढी त्रियुगा र बेलका नगरपालिकामा २३-२३ जना, चौदण्डीमा २ र कटारी नगरपालिकामा एकजनामा डेंगी पुष्टि भएको छ । उनका अनुसार दुई हजार तीन सय ८४ जनामा डेंगी परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोशी प्रदेशमा साउन र भदौमा सबैभन्दा बढी झापामा चार सय ३३ र खोटाबमा ७२ जनामा डेंगी संक्रमण भएको छ । डेंगी संक्रमणको जोखिम बढ्दै गएपछि त्रियुगा नगरपालिकाले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियानदेखि विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बजार क्षेत्रभित्र वर्कसप÷ग्यारेज, कवाडी तथा फोहोरजन्य सामग्री व्यवस्थापनमा संलग्न व्यवसायी, निर्माण व्यवसायी, शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लबका सदस्य तथा कलेज तहका विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ ।
लामखुट्टेले जमेको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले घर तथा वरपर पानी जम्न नदिने, टायर, गमला, बोतल, ड्रमलगायत पानी जम्न सक्ने सामग्री व्यवस्थापन गर्ने र आफ्नो टोल तथा समुदायमा नियमित सरसफाइ गर्ने कार्यलाई अभियानको मुख्य प्राथमिकतामा राखिएको छ ।











प्रतिक्रिया