हेटौंडा ।
हेटौंडा–३, बसामाडीनजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका ४ वटा बसमा अन्धाधुन्द ढुंगाप्रहार हुँदा एक यात्रु घाइते भएकी छन् ।
बुधबार विहान करिब २ः१५ बजे काठमाडौं जाँदै गरेका बसहरुमा नचिनेका युवा समूहले ढुंगाप्रहार गर्दा बसको सिसा फुटेको थियो । घटनामा काठमाडौं जाँदै गरेका बा.प्र. ०३–००१ ख १६४२, बा. प्र.०३–००२ ख २५९२, लु. प्र. ०२–००२ ख १२४० र लु. प्र. ०३–००२ ख ०४४२ नम्बर बस तथा बागलुङबाट वीरगञ्जका लागि आउँँदै गरेको म. प्र. ०३–००२ ख ७८७७ नम्बर बसमा ढुंगाप्रहार भएको प्रहरीले जनाएको छ ।
ढुंगा लागेर रुपन्देही ओमसतिया–६ की २१ वर्षीया लक्ष्मीकुमारी चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा परेर घाइते चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ६ जनामध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा हेटौंडा–३, लेवटका २७ वर्षीय किरण बिक, ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रीव मुक्तान, २९ वर्षीय विजय थिङलामा र २९ वर्षीय उदास तामाङ छन् । उनीहरुमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ । १ जना फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया