लेखिएको तर ननिक्लेको ख्वविलुको किताब

188
Shares

भदौरे झरी बर्षिरहेको थियो। म झरी हेरेर मदहोस भैरहेको थिएँ । त्यही बेला फोन बज्यो । देखायो दीपक रिजाल कलिङ् । नेपाल समाचारपत्रका पुराना साथी र प्रिय मान्छे दिपकजीले भन्नुभयो ‘भान्दाइ दुर्गालाल श्रेष्ठको किताब तपाईंहरूले निकालेको हैन ?’
मैले भनँे ‘लेखिएको तर ननिक्लेको किताब हो ।’
उहाँले भन्नुभयो ‘उसो भए एउटा विशेषांक निक्लदै छ, लेख लेख्नुस् न ।’
र अनि यो लेख जन्मियो ।

किताबको कथा यसरी सुरु गरौं
लामो समय कामना प्रकाशनमा काम गरेकोले यो संस्थाको माया लाग्दछ। धेरै कुराहरु जीवनका यसैमा जोडिएका छन् । जोडिँदैछन् । पुष्करलाल श्रेष्ठको स्वर्गारोहणपछि पनि उहाँको जेष्ठ सुपुत्र दिरेकलाल श्रेष्ठले यसलाई चलाउनु भयो । यो संस्था अजर अमर होस् भन्ने लाग्दछ । कारण दुर्गालाल श्रेष्ठको किताब पनि यही संस्थासँग जोडिएको छ ।

पदम श्रेष्ठ, दीपक जी र हाम्रो साथी अनि समाचारपत्र, महानगरको एक सम्पदा रिपोर्टिङ गर्ने पिलर हुनुहुन्थ्यो ।
पदमजीले एक दिन भन्नुभयो ‘जनकविको किताब लेखौ“ न घोष्ट राइटिङ् नेपाल बाट ।’

मैले हुन्छ भने र गएँ ठमेलमा उहाँको घर। यो लगभग २०७० सालको कुरा हो। एग्रिमेन्ट गरियो । अन्तर्वार्ता पदमजीले गर्ने भन्ने भयो । अन्तर्वार्ता उतारेर पदमजीले दिनुभयो । अनि त्यो सम्पादन र पुनर्लेखन गर्न दिएँ राजेन्द्र पराजुलीलाई । उहाँ पनि समाचारपत्रसँगै जोडिएको हुनुहुन्थ्यो । जनकविले केही मन पराउनुभयो । केही पराउनु भएन । फेरि त्यहीँ कामना प्रकाशनमै काम गर्ने मेरो प्यारो भाइ ऊर्जावान व्यक्ति लक्ष्मीप्रसाद खतिवडालाई लगाइयो । उनले पनि सकेपछि फेरि समाचारपत्रलाई माया गर्ने कवि विप्लव प्रतिकले हेर्नुभयो ।
जनकविले हुन्छ निकालौँ भने पनि उहाँको छोरा सुमनजीले आज भोलि पर्सि भनेर झुलाउनु भयो ।
मैले उहाँलाई भनेँ ‘हेर्नुस् तपार्इंको बुबा हो, हाम्रो जनकवि, यत्रो मान्छे लगाएर, मिहिनेत गरेर पैसा खर्च गरेर किताब तयार पारेँ, किताब निकालौँ न ।’

सुमनजीले आज भोलि पर्सि भनेर बहुत झुलाउनुभयो । मलाई पनि दिक्क लाग्यो । जनकवि कसरी बन्नुभयो ? उहाँको जीवन जानी हालियो । किन किताब निकाल्नु प¥यो ? कुनै दिन निकाल्नु परे छँदैछ । बेकारमा के के न हुने र अर्बाैं करोडौँ कमाउने जस्तो गर्नुभयो भन्ने लाग्यो । जनकविलाई बेलाबेला भेटन जान्थेँ ।
उहाँ भन्नुहुन्थ्यो ‘लौ न सुमनजीसँग सल्लाह गरेर किताब निकाल्नुस् ।’
सुमनजीको ताल यस्तो छ भनेर म चुप बसेँ ।

मान्छे अचम्मको चिज रहेछ । १० वर्षमा हामीले चिनेका मान्छे मात्रै कति बित्ने रहेछन्। हामीलाई ख्याल नै नहुने रहेछ । यही किताबमा लागेको पदम श्रेष्ठ बित्नुभयो । राजेन्द्र पराजुली बित्नुभयो र किताबका मुख्य पात्र दुर्गालाल पनि रहनु भएन ।
महाभारतको यक्ष प्रश्नमा सबैभन्दा आश्चर्य के हो भनेर युधिष्ठिरलाई सोध्दा युधिष्ठिरले भन्छन् ‘सधैँ मान्छे मरिरहेको हुन्छ, तर मान्छेले आफू कहिल्यै मर्दैन भनेर सोच्दछ, यही नै घोर आश्चर्यको विषय हो ।’
छक्क पर्दछु कस्तो बनाएको होला यो मान्छे भन्ने जीव ? मान्छे मरिरहेको देखे पनि मान्छेको स्वार्थ किन मर्दैन ? म छक्क पर्दछु । यो प्रश्नले ।
६ सय बढीको पुस्तक निकालेपछि मलाई लाग्न थालेको छ – ‘मान्छे मान्छे नबनी मर्दछ, जनावर वा जीवाणु वा अरू केही भएर धेरै मान्छे मर्दछ ।’
उभित्र भएको क्षमा ,दया माया करुणा मान्छेले कहिल्यै ननिकाली क्रोध, हिंसा, घृणा निकालेरै धेरै मान्छे मर्दछन् ।
देशका भीआईपी भीभीआईपीका किताब धेरै लेखेपछि, पुस्तक प्रकाशन गरेपछि मलाई आजकल प्राय मान्छे केमिकल जस्तो लाग्दछ । कान र आँखाको केमिकलले मात्र अधिकांश मान्छे रिसाउने खुसाउने हु“दोरहेछ। कानलाई मान्छेले भनिदिन्छ ‘तपाईं त वाह, हजुर जस्तो त को छ र ?’ यति भन्यो भने खुसी हुन्छ मान्छे ।
अनि त्यही कानलाई भनिदिनु पर्दछ ‘तपाई त छ्या ! कामै नलाग्ने, के ग¥या त्यस्तो छिछिछि ।’

अब ऊ दशकौँ बोल्दैन ।
मान्छेको आँखालाई देखाउनु पर्दछ ‘हेर्नाेस् त तपाईंको फोटो मैले घरमा टाँसेको छु, अरूको पनि के टाँस्नु भनेर निकालिदिए नि ।’
गदगद हुन्छ मान्छे ।

त्यही आँखालाई देखाउनु पर्दछ हेर्नाेस् त तपार्इंको फोटो मैले हटाएँ, यी फलानुको राखे, तपाईंभन्दा त उहाँ कहाँ हो कहाँ राम्रो नि
बस त्यसपछि त्यो मान्छे दुःखी हुन्छ र दम्पच हुन्छ । अनि वर्षांै भेट हुँदैन।
भेट भए पनि बोल्दैन ।
आँखा र कानले बाँच्ने मान्छे कहिले ह्ृदयले बाँच्ला भन्ने लागिरहन्छ मलाई ।

दुर्गालाल जसले ६० वर्ष लेखेर बिताउनु भयो । नाटक खेल्नु भयो । पाँच सय बढी गीत लेख्नुभयो । उहाँको चर्चित गीत फूलको आँखामा फुलै संसार हो । यो गीत यसरी सिर्जना भयो भनेर ननिक्लेको त्यो किताबमा उहाँकै शब्दमा लेखिएको छ ः

एउटा शान्त बिहानी थियो त्यो । म नित्यकर्म सकेर चिया पिउँदै थिएँ । पर्यटकीय नगरी ठमेलमा त्यति धेरै व्यस्तता सुरु भइसकेको थिएन । गाडी र मोटरसाइकलका हर्न अलि–अलिमात्रै सुनिन्थ्यो । क्युरियो पसलहरूमा बालिएका अगरबत्तीको सुगन्ध मेरो कोठासम्म आइरहेको थियो । मलाई अक्सर त्यो सुगन्धले लठ्याउँथ्यो । त्यो क्षणमा पनि म अगरबत्तीको सुगन्ध पिउँदै हराइरहेको थिएँ । एक्कासि मेरो कोठाको दैलोमा टुप्लुक्क देखा परे न्ह्यू वज्राचार्य । अभिवादनसहित उनी कोठाभित्र छिरे । न्ह्यूको काँधमा एउटा गिटार थियो। अनि साथमा थिइन् एउटी युवती। चीवरधारी आनी। ती नारी मेरा लागि पूर्णतः अपरिचित थिइन्। ती सुन्दर नारीको मुखाकृतिको आकर्षणले म अनायासै तानिएँ र अपलक हेर्दै रहें।

न्ह्यूले नवआगन्तुकलाई चिनाउन अगावै ती नारीले विनम्र भएर आप्mनो परिचय प्रस्तुत गरिन्, ‘नमस्ते म आनी छोइङ डोल्मा । म अलि–अलि गीत पनि गाउने गर्छु ।’ उनैको निमित्त न्ह्यू एउटा नयाँ संगीतको धुन लिएर आएका रहेछन् । मैले धुन सुनाउन आग्रह गरेँ, उनी काँधमा भिरेको गिटारका कर्डहरूमा औंला खेलाउन थालेँ । विस्तारै म न्ह्यूको धुनमा डुबेँ, डुब्दै गएँ । न्ह्यू भने मेरो मुखबाट निस्किने शब्दको प्रतीक्षामा थिए ।

तत्क्षण अनायासै मेरो दृष्टि आनीमाथि प¥यो र एकटकले हेर्दै रहेँ । चीवरधारी सुकुमारी आनी मेरा आँखा त्यो रमणीय अनुहारमा अडिए । मैले आनीमा ‘आनी’ देखिनँ । गाढा रातो रङको चीवर देखिनँ । केही देख्दै देखिनँ ।
आनीलाई मैले फगत् एउटा हरियो रुख देखें । बजी राखेको धुनको फलचाहिँ शब्द बनेर त्यो रुखमा फलि राखेको जस्तो मलाई लाग्यो । मानौं, त्यो अनुहारमै एउटा रुख छ । त्यो रुखभरि त्यही धुनको शब्द फलिराखेको छ। मैले बकेंछु शब्दहरू। बकेको पनि के भन्नु, टिपें ती शब्दहरू त्यो बोटबाट। धुनसँग गुनगुनाउँदै शब्द फुराएँ । तत्परताका साथ न्ह्यूले टिप्दै गए ।

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
झल्किन्छ है छाया वस्तु अन्सार
काँडाको आँखामा काँडै संसार

न्ह्यूलाई पच्छ्याएको आनीको नौलो आवाजले मलाई नौलै संसारतिर डोहो¥यायो । झन् भावुक हुँदै मेरो हृदय पग्लिँदै बग्यो ।
चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले कीरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार
काँडाको आँखामा काँडै संसार
टहटह जून देखुँ कालो रातैमा
जीवन संगीत सुनुँ म सुख्खा पातैमा
सङ्लो मनमा खुल्छ है सङ्लै संसार
काँडाको आँखामा काँडै संसार
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार

धुनसँगसँगै यति सहजै भाव फु¥यो– पाँचदेखि सात मिनेटमा नै गीत तयार भयो । बुद्धबाहेक एक शब्द पनि फेर्नु परेन । एकाएक प्रस्फुरित भएपनि नजानिँदो ढंगले त्यसका लागि मसला भने पहिलेदेखि नै बनिराखेको हो कि जस्तो लाग्यो मलाई । जनयुद्धका कारण त्यो बेलाको नेपाल असामान्य स्थितिमा थियो । जताततै अशान्ति थियो, लुटपाट थियो । मानिसहरू बेचैन थिए, तनावयुक्त थिए, मन मस्तिष्कहरू, एकआपसमा अविश्वास थियो । कतैबाट पनि आशाको झिल्को देखिएको थिएन । तैपनि मान्छेको गतिमा जिवन्तता थियो, मानौं क्षितिज कहीँ पर छ । तसर्थ अनिष्टमा पनि मंगलको आभाष हुन्थ्यो ।

गीत लेखेबापत पारिश्रमिक प्राप्तिको प्रारम्भ न्ह्यूको संगतले नै भएको हो कि जस्तो लाग्छ । देश–विदेशका श्रोतामाझ म आज परिचित हुन पाएको छु। त्यसको अधिक श्रेय म न्ह्यू र आनी छोइङ डोल्मालाई नै दिन्छु । तर नेपाल भाषाका संगीतकार गायकबाट पनि जनताको जुन माया मैले पाएको छु, मैले यो कदापी विर्सनु हुन्न । ‘फूलको आँखामा’ गीतबारे मैले भन्नै पर्ने कुरा पनि छ । यो गीतको अन्तर तत्वलाई लिएर भएका धेरै चर्चाहरू जुन म सुन्छु र सुन्दैछु, आखिर यो अन्तर किन ? सर्जक नै अनभिज्ञ त्यस्तो तत्व पनि आप्mनो सिर्जनामा भएको कुरा सुन्न पाउँदा म हर्षितमात्र होइन, लज्जित र आश्चर्यचकित पनि छु । के दुर्गालालसँग, दुर्गालाललाई नै थाहा नभएको अर्को दुर्गालाल पनि छ कि ?

दुर्गालाल युगले जन्माएको मान्छे हुन् । एक युगमा जन्मने एक मान्छे हुन् । नेपालकै सबैभन्दा थोरै नगद राशि एक रुपियाँको नैतिक निष्ठाको प्रतीक अभियान पुरस्कार र सबैभन्दा धेरै नगद राशि २ लाख रुपियाँको जगदम्बाश्री पुरस्कार पाउने भाग्यमानी व्यक्ति उनै हुन् । विसं १९९२ श्रावण एकादशीका दिन न्हैकन्तला टोलमा चाबहाः नाउँको विहारभित्रको सानोचोक दथुननीमा जन्मेका हुन् । उनको जन्मको कथा अचम्मैको छ ।

भनिएको छ ‘पिताजीले सन्दुक डोरीले बाँधेर झ्यालबाट होसियारीपूर्वक खसाल्दै थिए । आमा त्यसलाई समाउन तल उभिएकी थिइन्। अचानक डोरी चुँडियो र आमाको पेटमा बज्रिन पुग्यो सन्दुक । त्यो थिचाइले आमा कालो निलो हुन पुगिन् किनकि आमा गर्भवती थिइन्, गर्भको त्यो शिशु मै थिएँ ।’
गरिबीको ऐँठन थियो उहाँलाई । दूध भात खान अर्काे साथीको घरमा जाने लेख्नु भएको छ । पदमोदय पढेको, टोलमा नाटक २००४ साल देखि र डबलीहरूमा अनि गीति नाटक लेख्दै प्रेममा परेको र बच्चा बेलामा गरेको भोयकासाको बिहेमा लगाइदिएको सिन्दुरलाई प्रेम ठानेर प्रेमीकाले विवाह नगरेको कुराले मर्माहत पारेको रोचक कुरा छ ।

साहित्यमा यसरी लागेँ भनेर भन्नु भएको छ ।
‘आफूलाई एक उदीयमान साहित्यकारका रूपमा उभ्याउने हुटहुटीले मलाई सताउँदै लग्यो। म जिज्ञासु भएर अग्रज कविहरूका घर–घर धाउनेवाला भएँ । त्यो बेला कवितामा छन्द हुनै पर्ने धारणा थियो । मैले पनि मातृक छन्द र वाणिक छन्दको ज्ञान कविवर चित्तधर हृदय, सिद्धिचरणश्रेष्ठ, केदारमान व्यथित, चित्तरञ्जन नेपाली आदिबाट केही मात्रामा भए पनि पाएँ । उहाँहरूप्रति म अनुग्रहित छु तर लोक छन्द मैलेकिसान समूहबाट सिकें। प्रेममा पर्दा प्रेमयात्रीले कवितामा आप्mनो पीडा पोख्नु स्वभाविकै हो । ‘लु बु वहबुँ’ गीति संग्रहमा किसानले गरेको चिन्ताका संवादहरू छन् ।’

हस्तलिखित पत्रिका हुन्थे उतिबेला । जस्तो ‘झी’ त्यसमा जनकवि कविता लेख्नुहुन्थ्यो । भन्नु भएको छ ‘संगीतमा नेवार जाति अत्यन्त समृृद्ध रहेछ । यो जातिभित्र ऋतु–ऋतुमा गाउने भिन्ना भिन्नै गीत रहेछन्, बाहै्र मास गाउने गीत पनि बेग्लै छन् । किसानसँगको घनिष्टताले गर्दा यो ज्ञान मलाई मिलेको थियो । अनि यिनै संगीतको आधारमा मैले धेरै गीत सिर्जना गरेको छु । २०२२ सालदेखि भाषा आन्दोलनमा लाग्नु हुन्छ । रेडियोमा नेपाल भाषाको समाचार प्रतिबन्ध भएपछि सुरु भएको यो आन्दोलन र गीतहरू लेखँे ।’
घाः जुयाः जक ख्वैगु खः, झी स्याःगुलिं सः तैगुखः
झी मसीनिझीमसीनि धैंगुचिं जक ब्वैगुखः…………..

अर्थः
घाउ भएर मात्र रोएका हौं
दुःखेकैले मात्र आवाज निकालेका हौं
हामी मरेका छैनौं हामी मरेका छैनौं
यही यथार्थ मात्र प्रमाणित गर्न खोजेका हौं…..
यस्ता गीतहरू यसरी नै बढ्दै गए ।

ख्वविलुको किस्सा
समयानुसार साहित्यले गतिशिलता पाइरहोस् भनेर प्रेमबहादुर कंसाकारज्यूले आप्mनो घरको बैठकमै साप्ताहिक साहित्यिक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । त्यो साहित्यिक मण्डलीको कार्यकर्तामध्ये म पनि थिएँ । त्याहाँ हरेकले पालैपालो वाचन सम्पन्न गरेपछि टिप्पणीकारको रूपमा उभिनु भयो, प्रेमबहादुर कंसाकार । मेरो कवितात्मक सशक्तता र हार्दिकता विषय पनि भावविह्वल हुँदै उनी ‘ख्वबिलु’ कवि अर्थात् रुन्चे कवि दुर्गालाल भनिदिए । उनको यो टिप्पणीले तत्काल सबैको मन छोयो । उनको कुरामा समर्थन जनाउँदै सबैले ताली पनि बजाए । नभन्दै त्यो बेलादेखि ती साथीहरूका निमित्त दुर्गालाल, दुर्गालाल होइन, ख्वबिलु भइयो। कसोकसो यो नामले त सुनामीकै रूप लियो। दौंतरीका साहित्यिक माझमात्र होइन, अग्रजका आँखामा पनि दुर्गालाल ख्वबिलु भयो ।’
आफूलाई पुनर्जन्मको इच्छा नभएको भन्दै एक दिन भन्नुभयो ‘अर्को जुनी छ भनेर म कुर्दिनँ । यही जुनीमा केही गर्न सकुँ । असन्तुष्टिको कुम्लो बोकेर नमरुँ । उसैले मात्र अर्को जुनीको आशा गर्छ, जो अगति बाँच्छ । किन मैले कुनै जुनि कुर्नु? जानाजान आफ्नो वर्तमानको अपहेलना गरी ?’
साँच्चै जनकविको पुनर्जन्म नेपालमै भए कत्ति रमाइलो हुन्थ्यो होला? र को होला जनकविको पुर्नजन्ममा जन्मिने मान्छे ? कहाँ जन्मने होला नेपालको? र उहाँले पुनर्जन्मको इच्छा नभए पनि हामीलाई उहाँ जस्तो मान्छे नेपालमा चाहिरहन्छ । हार्दिक श्रद्धाञ्जली जनकवि दुर्गालाल श्रेष्ठलाई ।

दुर्गालाल युगले जन्माएको मान्छे हुन् । एक युगमा जन्मने एक मान्छे हुन् । नेपालकै सबैभन्दा थोरै नगद राशि एक रुपियाँको नैतिक निष्ठाको प्रतीक अभियान पुरस्कार र सबैभन्दा धेरै नगद राशि २ लाख रुपियाँको जगदम्बाश्री पुरस्कार पाउने भाग्यमानी व्यक्ति उनै हुन् ।

पिताजीले सन्दुक डोरीले बाँधेर झ्यालबाट होसियारीपूर्वक खसाल्दै थिए । आमा त्यसलाई समाउन तल उभिएकी थिइन् । अचानक डोरी चुँडियो र आमाको पेटमा बज्रिन पुग्यो सन्दुक । त्यो थिचाइले आमा कालो निलो हुन पुगिन् किनकि आमा गर्भवती थिइन्, गर्भको त्यो शिशु मै थिएँ ।
– दुुर्गालाल श्रेष्ठ