
उहाँको बोल्ने आफ्नै शैली थियो । यस्तो शैली, जसले कहिले जिउ सिरिङ्ग बनाउँथ्यो, कहिले मन फुरुङ्ग पाथ्र्यो । उहाँका लागि शब्द केवल अभिव्यक्तिको माध्यम थिएनन्, ती शक्ति थिए, चेतना थिए, प्रेम थिए र आवश्यक पर्दा विद्रोह पनि थिए । नेपालभाषा साहित्यका त्यस्ता जागरूक र जाज्वल्यमान व्यक्तित्वका रूपमा हामी दुर्गालाल बालाई चिन्थ्यौँ । उहाँलाई भेट्दा उहाँका मुखारविन्दबाट निस्कने हरेक शब्दले आफैँ बताइरहेका हुन्थे कि किन उहाँ जनकवि हुनुुहुन्थ्यो र किन जनताले उहाँलाई आफ्नै कविका रूपमा स्वीकार गरेका थिए ।
उहाँसँग भएका सबै भेट आफ्नै अर्थमा फरक थिए र सबै अमूल्य थिए । तर, केही भेट यस्ता छन्, जुन समय बित्दै जाँदा धमिला हुनुको सट्टा झन् स्पष्ट भएर मानसपटलमा बसिरहेका छन् ।
त्यसमध्ये एउटा भेट दामोदर न्यौपानेको पुस्तक ‘सम्पदा लडाईं’ सार्वजनिक गरिएको कार्यक्रमको हो । हामी त्यतिबेला सम्पदा संरक्षणका विभिन्न अभियानमा सक्रिय थियौँ । कहिले रानीपोखरी, कहिले बागदरबार, कहिले टुँडिखेल, कहिले खुलामञ्च, कहिले दूईमाजु, कहिले कुन मन्दिर, फल्चा, पोखरी वा सार्वजनिक स्थानका लागि आवाज उठाइरहेका थियौँ । हाम्रो जस्तो देशमा हामीले गरिरहेको कामको यात्रा सजिलो थिएन । प्रश्न धेरै थिए, खुट्टा तान्ने धेरै थिए, विकास विरोधी भन्ने त कति हो ।
त्यही कार्यक्रममा दुर्गालाल बाले हाम्रो कामको चर्चा गर्नुभयो । उहाँले दामोदर न्यौपाने, गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीलाई सम्पदा संरक्षणका त्रिमूर्ति हुन् भनेर भन्नुभयो । एउटा अग्रज, जसले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति, पहिचान र चेतनाका लागि समर्पित गर्नुभयो, उहाँले हामीलाई त्यसरी भन्नु हाम्रो लागि सामान्य प्रशंसा थिएन । त्यो हाम्रो लागि आशीर्वाद थियो, विश्वास थियो र ठूलो जिम्मेवारी पनि थियो । आफूले गरिरहेको कामलाई त्यति ठूलो व्यक्तित्वले देखिरहेको छ, बुझिरहेको छ र त्यसलाई सही ठानिरहेको छ भन्ने अनुभूति एउटा अभियन्ताका लागि कति ठूलो प्रेरणा हुन्छ भन्ने कुरा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।
सायद उहाँलाई त्यतिबेला थाहा पनि थिएन होला, सहज रूपमा बोलिएको त्यो एउटा शब्द, त्रिमूर्ति, हामीले थाकेका धेरै दिनमा फेरि उठ्न र अघि बढ्न सक्ने ऊर्जा बनेर हामीभित्र बस्नेछ ।

दुर्गालाल बाको विशेषता यही थियो । उहाँ कसैको कामको प्रशंसा गर्दा केवल व्यक्ति देख्नु हुन्नथ्यो, उहाँ त्यस कामसँग जोडिएको चेतना र उद्देश्य देख्नुहुन्थ्यो । सम्पदा संरक्षण पनि उहाँका लागि कुनै एउटा समूह वा केही व्यक्तिको अभियान थिएन । आफ्नो इतिहास, संस्कृति, भाषा, भूगोल र स्मृति जोगाउने जिम्मेवारी सबैको हो भन्ने उहाँको विश्वास थियो । त्यसैले उहाँका शब्दमा सधैँ एउटा आग्रह सुनिन्थ्यो, आफू उभिएको ठाउँबाट सकेको गर, आफ्नो पहिचान जोगाउन चुप नबस, आफ्नो समाजका लागि बोल ।
गुठी विधेयकविरुद्धको आन्दोलनका बेला भएको एउटा अर्को दृश्य आज पनि आँखाअगाडि ताजा छ । फिब्व ख्यःमा आयोजित विरोध कार्यक्रममा उहाँ पनि सम्बोधनकर्ता हुनुहुन्थ्यो । हामी वहाँ संगै मञ्चमा थियौं र उहाँलाई हेरिरहेका थियौँ । उमेरले शरीरलाई छोइसकेको थियो। हात काँपिरहेको थियो । शरीर कमजोर देखिन्थ्यो, तर उहाँको चेतना कमजोर भएको थिएन । आवाजमा अझै त्यही शक्ति थियो । उहाँ आफ्नै शैलीमा मानिसहरूलाई जाग्न, बोल्न, आफ्नो पहिचान र अधिकारका लागि उभिन आह्वान गर्दै हुनुहुन्थ्यो । त्यो दृश्यले हामीलाई एउटा गहिरो कुरा सिकाएको थियो, लड्ने शक्ति सधैँ शरीरमा मात्र हुँदैन रहेछ त्यो त विश्वासमा हुने रहेछ । शरीर थाक्न सक्छ, उमेर ढल्न सक्छ, तर चेतना बाँचेको छ भने मानिसको आवाज कमजोर हुँदैन रहेछ ।
हामी अकुपाई टुँडिखेल, मुक्त टुँडिखेल अभियान चलाइरहेका बेला पनि उहाँलाई भेट्न गएका थियौँ । त्यतिबेला उहाँ केही कमजोर देखिनुहुन्थ्यो, तर टुँडिखेल र खुलामञ्चको कुरा निस्कनेबित्तिकै उहाँमा फेरि त्यही परिचित जोस देखिन्थ्यो । टुँडिखेल मुक्त हुनुपर्छ, खुलामञ्च खुला हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नै शैलीमा भन्न थाल्नुभयो । हामी उहाँलाई हाम्रो अभियानबारे सुनाउन गएका थियौँ, तर फर्किने बेला हामी आफैँ ऊर्जा लिएर फर्किएका हुन्थ्यौँ । उहाँसँगको हरेक भेटको विशेषता नै यही थियो । हामी आफ्नो कामको विवरण दिन पुग्थ्यौँ, उहाँले त्यस कामको अर्थ सम्झाएर पठाउनुहुन्थ्यो । हामी थोरै थाकेर पुग्थ्यौँ, उहाँले फेरि हिँड्न सक्ने साहस दिएर पठाउनुहुन्थ्यो ।
एउटा अभियन्ता मूलतः विश्वासमा बाँच्छ । कुनै दिन सबै कुरा ठीक हुनेछ भन्ने विश्वास, हामीले सोचेको जस्तो समाज बन्न सक्छ भन्ने विश्वास, आज जोगाएको एउटा मूर्ति, एउटा पोखरी, एउटा चोक, एउटा खुला स्थान, एउटा भाषा वा एउटा स्मृतिले भोलिको पुस्तालाई आफ्नो इतिहाससँग जोडिराख्नेछ भन्ने विश्वास छ तर अभियन्ता पनि मानिस नै हो । ऊ पनि थाक्छ । कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छ, म सही बाटोमा छु कि छैन भनेर कहिलेकाहीँ आफूले गरिरहेको कामको अर्थ नै हराएजस्तो लाग्छ । कहिलेकाहीँ साथ दिने मान्छे कम देखिन्छन् र समस्या धेरै ठूलो देखिन्छ । त्यस्तो बेला जीवनमा केही अग्रज चाहिँदा रहेछन्, जसले एक वाक्यमात्रै भनिदिऊन्, तिमी सही बाटोमा छौ, नथाक, तिमीलाई थाक्ने छुट छैन, अघि बढिराख ।
हाम्रा लागि दुर्गालाल बा त्यस्तै पात्र हुनुहुन्थ्यो । उहाँ केवल कवि हुनुहुन्नथ्यो । उहाँ चेतनाको प्रतीक हुनुहुन्थ्यो । उहाँको उपस्थितिले हामीलाई एउटा विश्वास दिन्थ्यो कि हामीले गरिरहेको कामको अर्थ छ । उहाँको एउटा शब्दले हामीभित्रको शंका हटाइदिन्थ्यो । उहाँको एउटा प्रशंसाले कयौँ आलोचनाको भार हलुका बनाइदिन्थ्यो । उहाँको एउटा आह्वानले फेरि सडकमा उभिन सक्ने साहस दिन्थ्यो ।
आज हामी नेपालभाषामा बोल्न सक्छौँ, आफ्नो पहिचानको कुरा सार्वजनिक रूपमा गर्न सक्छौँ, सामाजिक सञ्जालमा लेख्न सक्छौँ, केही क्षणमै हजारौँ मानिससम्म आफ्नो आवाज पु¥याउन सक्छौँ । आज प्रविधि छ, सामाजिक सञ्जाल छ, विभिन्न माध्यम छन् । तर, एउटा समय यस्तो थियो, जब नेपालभाषामा बोल्नु, लेख्नु र आफ्नो पहिचानका पक्षमा उभिनु आफैँमा चुनौती थियो । त्यही कठिन समयमा उहाँहरू लडिरहनुभएको थियो । जब पहिचानको खडेरी थियो, उहाँहरू पहिचान जोगाउन लागिरहनुभएको थियो । जब आफ्नो धरातल नै कमजोर बनाइँदै थियो, उहाँहरू त्यही धरातल जोगाउन उभिनुभएको थियो ।
त्यतिबेला सामाजिक सञ्जाल थिएन, आजजस्तो तत्काल सूचना फैलाउने सुविधा थिएन, तर उहाँहरूसँग विश्वास थियो । आफ्नो भाषा बाँच्छ भन्ने विश्वास, आफ्नो संस्कृति बाँच्छ भन्ने विश्वास, आफ्नो पहिचान जोगाउन सकिन्छ भन्ने विश्वास दुर्गालाल बासँग त्यसबाहेक अर्को अद्भुत शक्ति थियो, शब्दलाई मानिसको मनसम्म पु¥याउन सक्ने कला उहाँले बोलेको कुरा कानमा मात्र पुग्दैनथ्यो, मनमा पुग्थ्यो । उहाँका कविता कागजमा मात्र बस्दैनथे, मानिसको चेतनामा बस्दथे । उहाँका गीत धुनमा मात्र सीमित हुँदैनथे, ती जीवनका अनुभूति बन्न पुग्थे ।
हामी भाग्यमानी भयौँ कि त्यो चेतनालाई केवल किताबमा पढ्नु परेन । हामीले उहाँलाई भौतिक रूपमा भेट्न पायौँ, उहाँको आवाज सुन्न पायौँ, उहाँको हाँसो देख्न पायौँ, उहाँको स्याबासी पायौँ, उहाँको आशीर्वाद पायौँ । अझ महत्वपूर्ण कुरा, हामी थाकेका बेला उहाँका शब्द सम्झेर फेरि उठ्न पायौँ । हामीले उहाँलाई एउटा कविमात्र होइन, आफूभन्दा पछाडिको पुस्तालाई हौसला दिन जान्ने एउटा अभिभावकका रूपमा अनुभव गर्न पायौँ ।

अब उहाँ भौतिक रूपमा हामीसँग हुनुहुन्न । यो सत्य स्वीकार गर्न सजिलो छैन । तर, दुर्गालाल बालाई केवल भौतिक उपस्थितिमा सीमित गरेर हेर्न पनि सकिँदैन । उहाँ चेतना हुनुहुन्थ्यो र चेतनाको मृत्यु हुँदैन । उहाँ आफूबाट प्रभावित भएका हामीजस्ता असंख्य मानिसका काममा बाँचिरहनुहुनेछ । नेपालभाषाको प्रत्येक निर्भीक उच्चारणमा उहाँ बाँच्नुहुनेछ । पहिचानका लागि उठेको प्रत्येक आवाजमा उहाँ बाँच्नुहुनेछ । सम्पदा जोगाउन सडकमा उभिएको प्रत्येक युवाको साहसमा उहाँ बाँच्नुहुनेछ । उहाँ आफ्ना गीतमा, कवितामा, विचारमा र सबैभन्दा बढी मानिसभित्र जगाएको चेतनामा बाँचिरहनुहुनेछ ।
त्यसैले भन्न मन नै मान्दैन, हार्दिक श्रद्धाञ्जली बा । तर के गर्नु, न रोकेर रोकिन्छ समय, न टारेर टर्छ मृत्यु । भौतिक रूपमा मानिस एक दिन संसारबाट हराउँछ, तर उसले समाजका लागि गरेको सत्कर्म हराउँदैन । मानिसको जीवनको वास्तविक आयु उसको शरीरले मात्र निर्धारण गर्दैन । उसले समाजमा छोडेको विचार, मूल्य, साहस र प्रेरणाले उसको अर्को आयु तय गर्छ । दुर्गालाल बाको त्यो आयु धेरै लामो हुनेछ । उहाँको सत्कर्म पुस्तौँसम्म हामीलाई बाटो देखाउने प्रकाशका रूपमा रहिरहनेछ ।
बा, तपाईं फूल हुनुहुन्थ्यो, त्यसैले तपाईंले अरूमा पनि फूल देख्नुभयो । सायद त्यसैले तपाईंले लेख्न सक्नुभयो, ‘फूलको आँखामा फूलै संसार ।’ आज तपाईंलाई सम्झँदा त्यही भाव फेरि मनमा आउँछ । तपाईंले हामीभित्र रोपिदिनुभएको चेतनाको फूल ओइलाउन नदिनु नै अब तपाईंप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ । हामी थाक्ने बेला तपाईंलाई सम्झिनेछौँ, हामीलाई आफ्नो बाटोमा शंका लाग्दा तपाईंका शब्द सम्झिनेछौँ र आफ्नो भाषा, पहिचान, सम्पदा तथा सार्वजनिक ठाउँका लागि उभिँदा तपाईंले दिएको हौसला सम्झेर अघि बढिरहनेछौँ ।
हार्दिक श्रद्धाञ्जली, दुर्गालाल बा ।
गुठी विधेयकविरुद्धको आन्दोलनका बेला उहाँको उमेरले शरीरलाई छोइसकेको थियो । हात काँपिरहेको थियो । शरीर कमजोर देखिन्थ्यो, तर मानिसहरूलाई जाग्न, बोल्न, आफ्नो पहिचान र अधिकारका लागि उभिन आह्वान गर्दै हुनुहुन्थ्यो । त्यो दृश्यले हामीलाई एउटा गहिरो कुरा सिकाएको थियो, लड्ने शक्ति सधैँ शरीरमा मात्र हुँदैन रहेछ त्यो त विश्वासमा हुने रहेछ ।











प्रतिक्रिया