बस दुर्घटनाको रिपोर्टिङ गर्न गएको हेलिकप्टर खस्दा तीन जनाको मृत्यु


काठमाडौँ।

अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार संकलन गरिरहेका बेला सोही साँझ हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनापछि घटनास्थलमा ठूलो आगलागी भएको थियो।

लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनालाई मृत घोषणा गरिएको थियो। एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

मृतकमध्ये एक जना जमिनमा रहेका व्यक्ति भएको बताइएको छ।

दुर्घटनामा परेको हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ। हेलिकप्टरमा सवार चालक र समाचारकर्मीबारे भने तत्काल थप विवरण सार्वजनिक गरिएको छैन।

हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।