रौतहट ।
लामो समयदेखि रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएको छ । गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव नीलमकुमार न्यौपानेको मौलापुर नगरपालिमाका र लेखापाल जय प्रकाश महतोको मालपोल कार्यालय मौलापुरमा गएको असाढ मसान्तमै सरुवा हुनु र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्नाले नगरपालिकाको प्रशासनिक कामदेखि विकास निर्माण तथा अत्यावश्यक सेवा प्रवाहसम्म प्रभावित भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव निलम न्यौपानेलाई मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारीमा खटाएपछि उनी भदौ ५ गते देखि कार्यालय नआएको नगरप्रमुख रीना देबी साहले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा नगरपालिकाको बैंक खाता सञ्चालनमा समस्या देखिएको र कर्मचारी तथा शिक्षकले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको गैर जिम्मेबारीपन र लेखापाल नखटउदा पालिका बाट हुदै आएको एम्बुलेन्स सेवा बन्द रहेको तथा इन्टरनेटको बक्यौता भुक्तानी हुन नसक्दा लाइन काटिएको जनाइएको छ ।
इन्टरनेट सेवा काटिएपछि वडा कार्यालयबाट प्रदान हुने सिफारिस, दर्ता, सामाजिक सुरक्षा लगायतका सेवासमेत प्रभावित भएको छ । पछिल्लो ६ महिनाको अवधिमा मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ४० दिन मात्रै कार्यालयमा उपस्थित भएर काम गरेको स्रोतले जनाएको छ । सङ्घीय सरकारले स्थानीय तहको समस्यामा बेवास्ता गरेको कारण मौलापुर नगरपालिकामा उपसचिव तहका तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सरुवा गरेका कुनै पनि प्रमुख प्रशासकीय अधिकृत मौलापुर नगरपालिकामा लामो समयसम्म कार्यालयमा हाजिर भएका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण असार मसान्तमा नगरपालिकाको करिब ७५ प्रतिशत रकम खर्च हुन नसकी फ्रिज भएको स्रोतले जनाएको छ । प्रशासनिक प्रक्रिया पूरा गर्न नसक्दा बजेट कार्यान्वयन तथा विभिन्न योजनाको भुक्तानी प्रभावित भएको बताइएको छ ।












प्रतिक्रिया