रौतहट । रसुवामा आएको बाढी तथा पहिरोपछि रौतहटका ६ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको सम्पर्कविहीन व्यक्तिहरूको विवरणमा रौतहटका विभिन्न स्थानीय तहका ६ जना सम्पर्क विहीन रहेको उल्लेख छ।
सम्पर्कविहीन हुनेमा गरुडा नगरपालिका–३ का ३४ वर्षीय सुधीर कुमार साह रहेका छन्। उनी अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए। त्यसैगरी वृन्दावन नगरपालिका–९ का ३४ वर्षीय गौरव राउत पनि सोही आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत रहेको र बाढीपछि सम्पर्कविहीन भएको जनाइएको छ।
ईशनाथ नगरपालिका–४ मठियाका शेख माजिद पनि सम्पर्कविहीन छन्। उनले मोटरसाइकल ग्यारेज संचालन गर्दै आएका थिए। त्यस्तै वृन्दावन नगरपालिका–३ का १२ वर्षीय समीरा मन्सुरी पनि रसुवामा सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।
राजदेवी नगरपालिका–५ ब्रह्मपुरीका ५० वर्षीया संगीता देवी साह र उनका २५ वर्षीय छोरा राहुल कुमार पनि सम्पर्कविहीन रहेको जनाइएको छ। दुवैजना रसुवाको त्रिशूली बजारमा पसल गरेर बस्दै आएको जनाइएको छ। रसुवामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ।













प्रतिक्रिया