नास्टका वैज्ञानिक आन्दोलनमा, मन्त्री पुनको राजीनामा र अध्यादेश फिर्ताको माग


काठमाडौं ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा कर्मचारीहरू विज्ञानमन्त्री महावीर पुनविरुद्ध आन्दोलनमा उत्रिएका छन्। नयाँ अध्यादेशमार्फत संस्थाको अधिकार मन्त्रालयमा केन्द्रित गरिएको, विज्ञलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको र स्थायी कर्मचारीको सेवासुरक्षा जोखिममा पारिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।राष्ट्रपतिबाट जारी दुई अध्यादेशले नास्टको पुरानो संरचना परिवर्तन गर्दै नयाँ व्यवस्थापन र राष्ट्रिय परिषद्को व्यवस्था गरेपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन्।

नयाँ प्रावधानअनुसार स्थायी कर्मचारीलाई समेत दुई वर्षभित्र हटाउन सकिने अवस्था सिर्जना भएको उनीहरूको दाबी छ।आन्दोलनरत कर्मचारीहरूले अनुसन्धानका लागि पर्याप्त बजेट नदिने तर कर्मचारीलाई दोषी देखाउने सरकारी प्रवृत्तिप्रति पनि आपत्ति जनाएका छन्। उनीहरूले नयाँ समानान्तर संरचना निर्माण गर्नुभन्दा नास्ट, विश्वविद्यालय र विद्यमान अनुसन्धान संस्थालाई बजेट तथा स्रोतसाधन उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

कर्मचारीहरूले मन्त्री महावीर पुनलाई पदबाट हटाउनुपर्ने, दुवै अध्यादेश फिर्ता लिनुपर्ने, स्थायी कर्मचारीको सेवासुरक्षा सुनिश्चित गर्नुपर्ने र विद्यमान अनुसन्धान संस्थालाई सबल बनाउनुपर्ने चारबुँदे माग अघि सारेका छन्।सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। उता, मन्त्रालयले भने पुनर्संरचनाले नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने, अनुसन्धानकर्ता बढाउने र अनुदान वितरण पारदर्शी बनाउने दाबी गर्दै आएको छ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।