रौतहट ।
दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई १९ वर्षपछि पहिचान गरेको छ । अपहरण तथा शरीर बन्धक र सङ्गठित अपराधसम्बन्धी मुद्दामा सजाय भुक्तान गर्दै जिल्ला कारागार रौतहटमा रहेका तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा आबद्ध तथा सक्रिय रहेका साबिक पोठियाही गाविस–८, हाल गरुडा नगरपालिका–६ का बारुद सिंह भनिने सुरेन्द्र प्रसाद यादव दोहोरो हत्याकाण्डमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
२०६४ साल वैशाख ३१ गते राति करिब १ बजे रौतहटको साबिक धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा अज्ञात व्यक्ति तथा समूहले गोली प्रहार गरी दुई जनाको हत्या गरेको थियो। गोली प्रहारबाट साबिक पिपरिया (दो.) गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र साबिक गेड्हीगुड्डठ्ठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनीको मृत्यु भएको थियो। घटनापछि लामो समयदेखि जारी अनुसन्धानका क्रममा हत्यामा मुख्य संलग्नता यादवको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वसन्त गौतमले बताउनुभयो । उहाँका अनुसार वारदात भएको करिब १९ वर्षपछि अभियुक्तको पहिचान खुलेपछि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।











प्रतिक्रिया