काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री वा राजनीतिक नेतृत्वसँगको निकटताका आधारमा कसैले पनि कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन्।
पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले गलत क्रियाकलापमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कांग्रेसका नेता तथा कार्यकर्ताले गलत काम गरेको पाइएमा कारबाहीका लागि पार्टीले सहयोग गर्ने उनको भनाइ थियो। तर, कसैलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा राज्य संयन्त्रको दुरुपयोग गरी दुःख दिने प्रयास भए कांग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रिने उनले चेतावनी दिए।
कांग्रेसमा आबद्ध भएकै आधारमा केही नेताहरू राज्यको पूर्वाग्रह, दुराग्रह वा अत्याचारको सिकार हुनुपरेको आशंका पैदा भएको उनले बताए। यस्तो सिद्धान्त सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको हकमा पनि समान रूपमा लागू हुनुपर्ने उनको भनाइ थियो।
सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम कांग्रेसले नगर्ने स्पष्ट पार्दै उनले राजनीतिक पहुँच र नेतृत्वसँगको निकटताका आधारमा कसैले पनि अतिरिक्त सुविधा वा कानुनी छुट पाउन नहुने बताए।
उनले भने, ‘कांग्रेसमा आबद्ध छ भन्दैमा गलत काम गर्ने व्यक्तिले अतिरिक्त सुविधा पाउनु हुँदैन। तर, गलत काम नगरेको व्यक्तिले कांग्रेसमा आबद्ध भएकै कारण राज्यको पूर्वाग्रह, दुराग्रह वा अत्याचारको सिकार पनि हुनुहुँदैन। यही कुरा रास्वपाको हकमा पनि लागू हुन्छ। कोही व्यक्ति रास्वपाको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिको निकट छ भन्दैमा उसले अतिरिक्त सुविधा वा कानुनी छुट पाउनु हुँदैन।’
सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी भएको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक विरासत र आचरणप्रति जिम्मेवार हुन आग्रह गरे।
बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टी भएकाले कांग्रेसले आफ्नो नैतिक धरातल कमजोर हुन दिन नहुने उनको भनाइ थियो।
हरेक सार्वजनिक व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले आवश्यक ठाने आफू पनि अनुसन्धान र छानबिनको दायरामा आउन तयार रहेको बताए।
पार्टी सभापतिका रूपमा आफ्नो कारणले कुनै पनि कांग्रेस सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय र राजनीतिक पूर्वाग्रह भए त्यसविरुद्ध दृढतापूर्वक उभिने बताए।
उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी हो। हामी बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विरासत बोकेको पार्टीका कार्यकर्ता हौँ। त्यसैले हाम्रो नैतिक धरातल बलियो हुनुपर्छ। मेरो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवन सबै पारदर्शी हुनुपर्छ। सरकारले आवश्यक ठानेमा मेरो पनि अनुसन्धान र छानबिन गरोस्, हामी त्यसका लागि तयार छौँ। पार्टी सभापतिका कारण एक जना पनि सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन दिन्नँ।’
सभापति थापाले विपक्षी दलका रूपमा कांग्रेसले सरकारका कामकारबाहीमाथि निरन्तर निगरानी र खबरदारी गर्नुपर्नेमा पनि जोड दिए।
सुकुम्बासी समस्या, प्राकृतिक विपद्मा परेका नागरिकको अवस्था, सहकारी पीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धता तथा दलित समुदायसँग सम्बन्धित घोषणाहरूको कार्यान्वयनबारे सरकारलाई जवाफदेही बनाउनुपर्ने उनले बताए।
सरकारले घोषणा गरेर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन भए–नभएको विषयमा विपक्षी दलले निरन्तर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो। सरकारले गरेका गलत कामकारबाही र सार्वजनिक भएका विभिन्न प्रकरणको गहिरो अध्ययन गरी जनतामाझ वास्तविकता पुर्याउन पनि उनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘सरकारले सय दिनमा गर्ने काम भनेर विभिन्न घोषणा गर्यो। दलित समुदायसँग माफी माग्नेदेखि लिएर विभिन्न प्रतिबद्धता व्यक्त गर्यो। घोषणा गरेको दिन ताली पायो, तर अहिले ती प्रतिबद्धता कार्यान्वयन भए कि भएनन् भनेर सम्झाउने र प्रश्न गर्ने काम हाम्रो हो। सरकारले गरेका काम र सार्वजनिक भएका प्रकरणबारे अध्ययन गरेर कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ।’
यसैबीच, सभापति थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा कांग्रेस रहेको उनले स्पष्ट पारे।








तपाईंको विचार लेख्नुहोस्