वैकल्पिक आवासबिना सुकुमबासी हटाउने निर्णय फिर्ता लिन आङ्देम्बेको माग


काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई हिउँदको कठ्याङ्ग्रिँदो मौसममा हटाउन खोज्नु निन्दनीय भएको बताएका छन् ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।

आङ्देम्बेले देशभर आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित तथा सुकुमबासीको पहिले जग्गा र आवास सुनिश्चित गरेर मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

उनले सरकारको निर्णय संविधानको धारा ३७ मा व्यवस्था गरिएको आवासको हकविपरीत रहेको उल्लेख गर्दै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेका छन् ।

वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।