जोखिम मोलेर नागरिकको उद्धारदेखि बस्ती जोगाउनेसम्म, प्रहरी निरीक्षक केसीको सक्रियताको प्रशंसा

0
Shares

रौतहट। 

विपद् र संकटको घडीमा उच्च व्यावसायिकता देखाएको भन्दै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको स्थानीयले प्रशंसा गरेका छन् । पछिल्लो एक साता यता मात्रै बाढीबाट हुने कटान रोकथाम, नदीमा बेपताको खोजी र उद्धारका साथै जोखिमपूर्ण अवस्थामा नदिले बगाउदै गरेको नागरिकको जीवितै उद्धारमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै स्थानीय सरकार र मधेश प्रदेश सरकारले समेत प्रहरी निरीक्षक केसीको प्रशंसा गरेको हो ।

 नदी कटानबाट बस्ती जोगाउने कार्यमा देखाएको सक्रियताका कारण केसीको कार्यशैलीप्रति स्थानीय हर्षित भएको मौलापुर नगरपालिकाका प्रमुख रीना देवी साहले बताउनु भयो । मंगलबार बिहान घरायसी समस्याका कारण परिवारलाई जानकारी नदिई घरबाट निस्किएकी माधवनारायण नगरपालिका–१ दिपहीटोलकी अन्दाजी ३५ वर्षीया ललिता देवी पासवान लालबकैया खोलामा डुबिरहेको अवस्थामा नियमित हिँडडुलमा रहेका प्रहरी निरीक्षक केसी तत्काल घटनास्थल पुगेर जीवितै उद्धार गरेपनि उनको झनै प्रशंसा भएको हो ।

 खोलाको तीव्र बहावका कारण पासवान बग्दै गरेको अवस्थामा केसीले व्यक्तिगत जोखिम मोलेर करिब एक सय मिटर पर पुगेर उनलाई खोलाबाट जीवितै उद्धार गरेका हुन । त्यसैगरी, गत असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव बढेर मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्रमा कटानको जोखिम बढेपछि प्रहरी निरीक्षक केसी आफैँ जोखिमयुक्त क्षेत्रमा खटेर बस्तीमा पानी पस्न बाट रोक्ने कार्यमा अग्रभागमा खटिएका हुन।

स्थानीयसँग समन्वय गर्दै बोराको अस्थायी बाँध निर्माण गरी नदी कटानबाट बस्ती जोगाउने प्रयासमा उनले सक्रिय भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी सहितका सुरक्षा अधिकारीकै सामुन्ने प्रशंसा गर्नु भएको हो । जोखिमयुक्त अवस्थामा प्रहरीको उपस्थितिले स्थानीयमा भरोसा बढाएको स्थानीयको भनाइ छ ।

 यसैबीच, उपचारका लागि दाजुसँग गरुडा जाँदै गरेका बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव मौलापुरस्थित लालबकैया पुलबाट नदीमा हाम फालेर बेपत्ता भएपछि प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको थियो । घटनाको भोलिपल्टै खोजीका क्रममा यादवको शव फेला पार्न प्रहरी सफल भएको थियो । नागरिक उद्धार, विपद्को समयमा प्रत्यक्ष फिल्डमा खटिने तथा स्थानीयसँग समन्वय गरी जोखिम न्यूनीकरणमा सक्रिय हुने प्रहरीको भूमिकाले समुदायमा सुरक्षा निकायप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने स्थानीयको बुझाइ छ । 

प्रहरी निरीक्षक केसीको मानवीय कार्यले सुरक्षा व्यवस्थापनमा सीमित नभई विपद् र संकटका बेला नागरिकको साथमा उभिने सेवामुखी भूमिका प्रदर्शन भएको छ ।