रसुवा बाढी : रौतहटका १५ जना अझै सम्पर्कविहीन, ५ जना परिवारको सम्पर्कमा

0
Shares

रौतहट । 

रसुवामा आएको भोटेकोशीको बाढी तथा पहिरोका कारण रौतहटका १५ जना अझै सम्पर्कविहीन रहेको छन् । रौतहट जिल्ला घरभई विभिन्न कामका लागि रसुवा तथा आसपासका क्षेत्र र धार्मिक यात्राका लागि गोसाईंकुण्ड पुगेका मध्ये १५ जना सम्पर्क विहीन बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालय रौतहमा आफन्तले दिएको सूचनाका आधारमा २० जना सम्पर्कविहीन बनेका मध्ये पाँच जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा ईशनाथ–४ का मोहम्मद एजाज -शेख मजिद, चन्द्रपुर–४ की पवित्रा नेपाल सिलवाल र उनका छोरा सम्राट् सिलवाल तथा गढीमाई–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी रहेका छन् ।

 गएको १० गते ठुलोभोटेकोशीको बाढिका कारण अझै सम्पर्कविहीन हुनेमा गरुडा–४ का ३४ वर्षीय मेकानिकल इन्जिनियर सुधिर कुमार साह, वृन्दावन–२ का गौरव कुमार राउत, वृन्दावन–३ का १२ वर्षीय समिर मन्सुरी, गौर–९ का प्रहरी हवल्दार छवि कुमार सिंह, गुजरा–८ का हरेराम खाँ, राजदेवी–९ का सङ्गिता देवी र राहुल कुमार, चन्द्रपुर–३ का ट्रक चालक विवेक दवाडी र सहचालक रणबहादुर तिमल्सिना लगायत रहेका छन् ।

 त्यस्तै राजदेवी–२ का राम विनोद भगत, मौलापुर–७ का नेपाली सेनाका सिपाही अभिषेक गुप्ता, वृन्दावन–१ की ततरी देवी, चन्द्रपुर–१ का शेरबहादुर माझी र गुजरा–४ का क्रेन चालक समान्त पौडेल पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आफन्तहरूले निरन्तर पहल भैरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भयो । प्रशासनले उनीहरूबारे कुनै जानकारी प्राप्त भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई खबर गरिदिन आग्रह गरेको छ ।