रौतहट।
पाँच बुँदे माग राख्दै बागमती सिँचाइ आयोजना सर्लाही कर्मैयाका ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। आयोजना प्रमुखलाई ज्ञापनपत्र दिँदै उनीहरूले माग सम्बोधन गर्न अनुरोध गर्दै आन्दोलित भएका हुन । उनीहरूले ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने, कर्मचारीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्नुपर्ने तथा सिँचाइ विभागको पत्रसहित सिँचाइ मन्त्रालयमा दर्ता भएको नौ सदस्यीय समितिको सेवा सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै ज्यालादारी कर्मचारी परिवार आन्दोलित भएका हुन्। उनीहरूको मागपत्रमा चाडपर्व खर्च तथा पोशाकको व्यवस्था गर्नुपर्ने, महँगी भत्ता उपलब्ध गराउनुपर्ने र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने रहेको छ ।
माग सम्बोधन नहुँदासम्म ज्यालादारी कर्मचारीहरुले कात्तिक १६ देखि २० गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा कालोपट्टी बाँधेर धर्ना दिने भएका छन्।मागको सुनुवाई नभए मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी धर्ना दिने, मंसिर ८ देखि १३ गतेसम्म सवारीसाधन प्रवेश गर्ने गेट र कार्यालयको मुख्यद्वार दुवैमा तालाबन्दी गरी विरोध गर्ने कार्यक्रम तय गरिएको ज्यालादारी कर्मचारी संघर्ष समिति एवं आन्दोलन परिचालन समितिका संयोजकका संयोजक सुरज पासवानले बताए। ज्यालादारी कर्मचारीहरूको आन्दोलन र धर्नाको कारण कार्यालयको कामहरू प्रभावित भएको छ। आन्दोलनका कार्यक्रमअनुसार मंसिर १४ गतेदेखि हेडवर्क्स ब्यारेजका गेटहरू सञ्चालन अवस्थामा राख्दै सम्पूर्ण ज्यालादारी कर्मचारीले काम बहिष्कार गरी माग सम्बोधन नभएसम्म अनिश्चितकालीन आन्दोलनमा बस्ने चेतावनी दिएका छन्।











प्रतिक्रिया