आर्थिक सुधार सरकारको कार्यक्षमतामा निर्भर


प्राकृतिक विपत्तिले भौतिक संरचना मात्र भत्काउँदैन, अर्थतन्त्रको उत्पादन, आपूर्ति र विकासको गतिलाई समेत प्रभावित पार्छ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक, पुल, जलविद्युत् आयोजना र व्यापारिक पूर्वाधारमा पु¥याएको क्षति यसको पछिल्लो उदाहरण हो । तर, विपत्तिपछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सके यही क्षति आर्थिक पुनरुत्थानको अवसर बन्न सक्छ । प्रश्न पुनर्निर्माणमा कति बजेट खर्च हुन्छ भन्ने होइन, त्यसले कति उत्पादन, रोजगारी र लगानी सिर्जना गर्छ भन्ने हो ।

नेपाल राष्ट्र बैंकको विश्लेषणले चालू आर्थिक वर्ष २०८३÷८४ मा पुनर्निर्माण, विप्रेषण, आन्तरिक माग र निजी लगानीले अर्थतन्त्रलाई गति दिन सक्ने देखाएको छ । तर, राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुनु र औद्योगिक क्षमता उपयोग ४८.१३ प्रतिशतमा झर्नुले अर्थतन्त्रको आधार कमजोर रहेको संकेत गर्छ । यस्तो अवस्थामा पुनर्निर्माणलाई सामान्य निर्माण गतिविधिमा सीमित राखेर अपेक्षित आर्थिक सुधार सम्भव छैन । पुनर्निर्माणले सिमेन्ट, फलामे छड, निर्माण सामग्री, ढुवानी र निर्माण व्यवसायमा माग सिर्जना गर्न सक्छ ।

यसबाट रोजगारी र स्थानीय आर्थिक कारोबार विस्तार हुने सम्भावना छ । तर सरकारी पुँजीगत खर्चको कमजोर कार्यान्वयन, ढिलासुस्ती र आयोजना व्यवस्थापनका पुराना समस्या दोहोरिए भने पुनर्निर्माणको अवसर कागजमै सीमित हुनेछ । बजेट विनियोजनभन्दा समयमै निर्णय, प्रभावकारी खरिद प्रक्रिया र गुणस्तरीय निर्माण अहिलेको प्राथमिकता हुनुपर्छ । अर्को महत्वपूर्ण पक्ष पुनर्निर्माणमा स्वदेशी उत्पादनको उपयोग हो । निर्माण सामग्रीको माग बढ्दा आयातमै निर्भर रहने हो भने त्यसले व्यापार घाटा थप चर्काउन सक्छ । गत आर्थिक वर्ष आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब रुपैयाँ पुग्दा निर्यात ३ खर्ब १५ अर्ब रुपैयाँमा सीमित थियो । त्यसैले पुनर्निर्माणलाई स्वदेशी उद्योगको क्षमता उपयोग, उत्पादन विस्तार र रोजगारी सिर्जनासँग जोड्नुपर्छ ।

विप्रेषणले उपभोग र आन्तरिक माग बढाउन सहयोग गरे पनि त्यसको ठूलो हिस्सा आयातीत वस्तुमा खर्च हुने प्रवृत्ति परिवर्तन हुन सकेको छैन । विप्रेषणलाई उत्पादनमूलक लगानी, उद्यमशीलता र साना तथा मझौला उद्योग विस्तारतर्फ आकर्षित गर्न सके मात्र यसको दीर्घकालीन लाभ अर्थतन्त्रले पाउनेछ । कुल गार्हस्थ्य उत्पादनमा ६१.८१ प्रतिशत योगदान रहेको सेवा क्षेत्रलाई पर्यटन, प्रविधि र सेवा निर्यातसँग जोड्नु पनि उत्तिकै आवश्यक छ । पुनर्निर्माणको अर्को उद्देश्य क्षेत्रीय असमानता घटाउनु हुनुपर्छ । कुल गार्हस्थ्य उत्पादनमा बागमतीको योगदान ३६.७१ प्रतिशत रहँदा कर्णालीको हिस्सा ४.२० प्रतिशत मात्रै हुनु विकास र अवसरको असन्तुलनको प्रमाण हो । \

प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै पछाडि परेका प्रदेशमा कृषि, पर्यटन, उद्योग र पूर्वाधारमा लगानी विस्तार गर्न सके समावेशी आर्थिक वृद्धिको आधार तयार हुनेछ । अन्ततः विपत्तिपछिको पुनर्निर्माण पुराना संरचना पुनः निर्माण गर्ने काममा मात्र सीमित हुनुहुँदैन । भविष्यको जोखिम न्यूनीकरण गर्ने सुरक्षित पूर्वाधार, उत्पादनमुखी लगानी र दिगो विकासको आधार निर्माण गर्नुपर्छ । विश्व अर्थतन्त्रको सुस्तता र बाह्य अनिश्चितताबीच नेपालको आर्थिक सुधार आन्तरिक उत्पादन र लगानी विस्तारमा निर्भर हुनेछ । यसका लागि सरकारको कार्यान्वयन क्षमता नै निर्णायक हो । विपत्तिलाई आर्थिक पुनरुत्थानको अवसर बनाउने कि थप आर्थिक भारमा सीमित गर्ने भन्ने कुरा सरकारले उपलब्ध स्रोतलाई उत्पादन, रोजगारी र निर्यातमा रूपान्तरण गर्न सक्ने क्षमताले निर्धारण गर्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।