अध्यादेशमा राष्ट्रपति अडिँदा सत्ता बेचैन

रवि र बालेनको दौडधुप


तीन अध्यादेश रोकिएपछि राष्ट्रपति पौडेललाई मनाउने प्रयास, सरकारको तर्क जनताको काम रोकियो

काठमाडौं ।

सरकारले संसद् छलेर लगातार अध्यादेश ल्याएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी नगरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको सक्रियता बढेको छ । अध्यादेश जारी गराउन पार्टी अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा अध्यादेश रोकिएपछि सत्ता पक्षले त्यसलाई संवैधानिक प्रक्रियाको विषयभन्दा पनि सरकारको काममा अवरोधका रूपमा व्याख्या गर्न थालेको छ ।

राष्ट्रपति पौडेलले अध्यादेशहरू अध्ययनकै क्रममा रहेको जानकारी लामिछानेलाई गराएपछि सत्तारुढ दलको बेचैनी थपिएको छ । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार लामिछानेले अध्यादेशहरू सरकारले सफा नियतले ल्याएको भन्दै छिटो जारी गर्न आग्रह गर्नुभएको थियो । जनताको काम रोकिएको र प्रशासनिक प्रक्रिया अघि बढाउन अध्यादेश आवश्यक परेको उहाँको जिकिर थियो ।

प्रधानमन्त्री शाहसँग करिब पाँच घण्टा लामो छलफलपछि राष्ट्रपति कार्यालय पुग्नुभएका लामिछानेले अध्यादेश जारी गर्नुपर्ने औचित्यबारे राष्ट्रपतिलाई बुझाउने प्रयास गर्नुभएको थियो । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ । तर राष्ट्रपतिले अध्यादेश जारी गर्ने विषयमा तत्काल कुनै निर्णय नदिई अध्ययन भइरहेको जानकारी गराएपछि सत्तापक्षको अपेक्षा पूरा हुन सकेको थिएन ।

सरकारले सुशासन कायम गर्ने र जनताको काम छिटो अघि बढाउने उद्देश्यले अध्यादेश ल्याएको दाबी गर्दै आएको छ । तर संसद् अधिवेशनको विकल्प हुँदाहुँदै अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजिएको विषयले सरकारको नियतमाथि प्रश्न उठाएको छ । अध्यादेश जारी गर्ने अधिकार संविधानले दिएको भए पनि त्यसलाई संसद्को नियमित प्रक्रियालाई कमजोर बनाउने माध्यमका रूपमा प्रयोग गर्न नमिल्ने कानुनविद्हरुले बताएका छन् ।

राष्ट्रपति पौडेलले अध्यादेश रोक्नुको कारणबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नभए पनि तीनवटै अध्यादेश अध्ययनमा राखिनुले सरकारको प्रस्तावमा संवैधानिक र प्रक्रियागत प्रश्न उठेको संकेत गरेको छ । राष्ट्रपति केवल सरकारको निर्णयमा हस्ताक्षर गर्ने औपचारिक संस्था होइनन् । संविधानले दिएको अधिकारअनुसार सरकारले पठाएका विधेयक तथा अध्यादेशको संवैधानिकता र औचित्यबारे विचार गर्ने जिम्मेवारी पनि राष्ट्रपतिसँग हुन्छ ।

लामिछानेको भेटपछि प्रधानमन्त्री शाह पनि राष्ट्रपति कार्यालय पुग्नुभएको थियो । उहाँले रोकिएका अध्यादेशबारे राष्ट्रपतिसँग सोधखोज गर्नुका साथै भारत भ्रमणका क्रममा भएका सम्झौता र भारतले देखाएको सद्भावबारे जानकारी गराएको बताइएको छ । भारत भ्रमणअघि राष्ट्रपतिलाई पर्याप्त जानकारी नगराएको र फर्किएपछि पनि भ्रमणका उपलब्धिबारे औपचारिक रूपमा जानकारी नदिएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेर सम्बन्ध सुधार्ने प्रयास गरेको देखिन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र अध्यादेशको विषय एउटै भेटमा उठ्नुले सरकारका लागि अहिले दुईवटा चुनौती रहेको देखाउँछ । एकातिर विदेश भ्रमणका उपलब्धिबारे राष्ट्रपतिसहित संवैधानिक निकायलाई जानकारी गराउने कूटनीतिक मर्यादाको प्रश्न छ भने अर्कोतिर संसद्को प्रक्रियालाई छलेर अध्यादेश ल्याएको आरोपबाट सरकार मुक्त हुनुपर्ने दबाब छ ।

सरकारले अध्यादेशलाई जनताको कामसँग जोडेर व्याख्या गरे पनि त्यसको वास्तविक औचित्य संसद्मा छलफल गरेर प्रमाणित गर्नुपर्ने हुन्छ । जनताको काम रोकिएको तर्क गर्दै संसद्लाई पन्छाउने हो भने भविष्यमा कुनै पनि सरकारले आफ्नो सुविधा र राजनीतिक स्वार्थअनुसार अध्यादेशको बाटो रोज्न सक्छ । त्यसले संसदीय लोकतन्त्रको अभ्यासलाई कमजोर बनाउने खतरा कानुन व्यवसायी बिनय शर्माले बताउनुभयो ।

राष्ट्रपति पौडेलले अध्यादेश जारी नगरेपछि सरकार र सत्तारुढ दलको सक्रियता बढ्नु स्वाभाविक भए पनि त्यसलाई राष्ट्रपतिमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा बुझिने अवस्था पनि छ । अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपतिलाई मनाउने राजनीतिक प्रयासभन्दा सरकारले संसद्मा आफ्नो प्रस्तावको औचित्य प्रमाणित गर्नु बढी उपयुक्त हुने शर्मा बताउनुहुन्छ ।

अहिलेको विवादले सरकारको सुशासनसम्बन्धी दाबी र व्यवहारबीचको दूरी पनि उजागर गरेको छ । सुशासनको नाममा कानुनी प्रक्रिया छोट्याउने, संसद्लाई कमजोर बनाउने र संवैधानिक संस्थालाई तत्काल निर्णय गर्न दबाब दिने प्रवृत्ति लोकतान्त्रिक शासनका लागि स्वस्थ संकेत नभएको कानुन व्यवसायीहरुको तर्क छ ।

सरकारले अध्यादेशको औचित्य स्पष्ट पार्नुपर्छ । राष्ट्रपतिले संवैधानिक जिम्मेवारीअनुसार निर्णय गर्नुपर्छ । संसद्ले पनि आफ्नो अधिकार र भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ । अध्यादेश जारी गराउन सत्ता पक्षले गरेको दौडधुपभन्दा महत्वपूर्ण प्रश्न यही हो– सरकारले जनताको काम छिटो गर्ने नाममा संसद्को अधिकार र संविधानको मर्मलाई कमजोर बनाउने त हैन अर्का कानुन व्यवसायी निर्मल कार्की बताउनुहुन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।