न्याय सम्पादनमा ढिलाइ : पीडितमाथि अन्याय


ढिलो गरी न्याय पाउनु न्याय नपाउनुसरह हो भनिन्छ । तर सार्वजनिक भएका समाचारहरू र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाहरुलाई आधार मान्ने हो भने हाम्रा न्यायपालिकामा यो अवस्थालाई समाधान गर्ने प्रकारले उल्लेखनीय प्रयास भएको बिल्कुल पाइएको छैन । यस्ता टिप्पणीहरू अत्यन्त बढी भइराखेका छन् । आज न्यायपालिकाको विश्वसनीयतामाथि उठेको गम्भीर प्रश्न हो, न्याय माग्ने नागरिकले न्याय पाउँदासम्म विवादको औचित्य नै समाप्त भइसकेको हुन्छ । यस अवस्थामा न्यायिक प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

न्यायपालिका लोकतान्त्रिक शासन व्यवस्थाको एउटा प्रमुख आधारस्तम्भ हो । राज्यका अन्य निकायबाट हुनसक्ने अधिकारको दुरुपयोग, अन्याय, विभेद र स्वेच्छाचारिताबाट नागरिकलाई संरक्षण प्रदान गर्ने जिम्मेवारी न्यायपालिकाको हो । नागरिकको मौलिक हक र स्वतन्त्रताको संरक्षकका रूपमा न्यायपालिकाप्रति समाजको ठूलो विश्वास र अपेक्षा रहेको हुन्छ । कार्यपालिका र व्यवस्थापिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्दा संविधान र कानुनको सीमाभित्र रहून् भन्ने सुनिश्चित गर्ने अन्तिम संवैधानिक दायित्व पनि न्यायपालिकाकै काँधमा रहेको हुन्छ ।

त्यसैले न्यायपालिकालाई लोकतन्त्रको संरक्षक र नागरिकको अन्तिम आश्रयस्थलका रूपमा लिने गरिन्छ । तर न्याय माग्न अदालत पुगेको नागरिकले समयमै न्याय पाउन सकेन भने न्यायपालिकाप्रतिको विश्वास क्रमशः कमजोर हुँदै जान्छ । न्याय प्राप्तिको प्रक्रिया नै यति लामो, झन्झटिलो र खर्चिलो बन्यो कि फैसला आउँदासम्म विवादको औचित्य समाप्त भइसकेको हुन्छ भने त्यस्तो न्यायको व्यावहारिक महत्व के रहन्छ ? न्यायमा भएको ढिलाइ केवल प्रशासनिक कमजोरी मात्र होइन, कतिपय अवस्थामा त्यो न्याय नपाउनुसरहको अवस्था पनि हो । त्यसैले न्यायिक प्रक्रियाको गति, निष्पक्षता, पहुँच र प्रभावकारितालाई न्यायपालिकाको विश्वसनीयतासँग अलग गरेर हेर्न सकिँदैन ।

नेपालको न्यायिक प्रक्रियामा लामो समयदेखि देखिँदै आएका यस्ता समस्या र विसंगतिबारे सार्वजनिक रूपमा विभिन्न कोणबाट चर्चा हुँदै आएको छ । न्यायालयमा मुद्दाको चाप, न्यायाधीशको सीमित सङ्ख्या, प्रक्रियागत जटिलता, प्रशासनिक ढिलासुस्ती र न्यायिक निर्णय कार्यान्वयनमा देखिने समस्याहरू यसका प्रमुख कारणका रूपमा औँल्याइने गरेका छन् । तर कतिपय घटनाले यी समस्यालाई सामान्य प्रशासनिक कमजोरीका रूपमा मात्र व्याख्या गरेर पुग्दैन भन्ने देखाउँछन् । विलम्बका केही उदाहरणहरू प्रस्तुत गरौँ ।

निर्वाचनसम्बन्धी विवाद र न्यायको औचित्य समाप्त हुने अवस्था ः
निर्वाचन लोकतन्त्रको आधार हो । निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले निष्पक्ष मतदान र सही मतगणनाको अपेक्षा गर्नु स्वाभाविक हो । निर्वाचन परिणामप्रति चित्त नबुझेमा कानुनी उपचार खोज्ने अधिकार पनि उम्मेदवारलाई हुन्छ । तर निर्वाचनसम्बन्धी विवादको निरुपण अर्को निर्वाचन सम्पन्न भएपछि मात्र हुन्छ भने त्यसबाट प्राप्त हुने न्यायको व्यावहारिक अर्थ के रहन्छ ? प्रश्न उठ्नु अस्वाभाविक होइन । यस सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलसँग सम्बन्धित निर्वाचन विवाद एउटा उल्लेखनीय उदाहरण हो ।

उहाँले २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेशसभा सदस्य पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । अत्यन्त झीनो मतान्तरले पराजित भएको परिणाम आएपछि उहाँले त्यसविरुद्ध न्यायिक उपचारका लागि अदालतको ढोका ढकढक्याउनुभयो । तर उक्त विवादको अन्तिम निरुपण हुन लाग्दा २०७९ सालको अर्को निर्वाचन सम्पन्न भइसकेको थियो । उहाँ संघीय सांसदका रूपमा निर्वाचित भइसक्नुभएको थियो । यसरी निर्वाचन परिणामको वैधतासँग सम्बन्धित विवादको निरुपण अर्को निर्वाचनपछि मात्र हुनु न्यायिक प्रक्रियाको गतिका सम्बन्धमा गम्भीर प्रश्न उठाउने घटना हो ।

निर्वाचनसम्बन्धी विवादको प्रकृति नै समयसँग जोडिएको हुन्छ । निर्वाचित प्रतिनिधिले निश्चित कार्यकालका लागि जनताको प्रतिनिधित्व गर्ने हो । त्यसैले निर्वाचनको वैधतासम्बन्धी प्रश्नलाई लामो समयसम्म अनिर्णीत राख्नुले सम्बन्धित उम्मेदवारको मात्र होइन, मतदाताको अधिकार र जनादेशको सम्मानमा समेत असर पार्छ । निर्वाचनसम्बन्धी मुद्दाको निरुपण अर्को निर्वाचनअघि नै हुनसक्ने गरी विशेष र समयबद्ध न्यायिक व्यवस्था आवश्यक छ ।

तनहुँ जिल्लाकै व्यास नगरपालिकाको प्रमुख पदसँग सम्बन्धित अर्को घटनाले न्यायिक प्रक्रिया र प्रशासनिक कार्यान्वयनबीचको अन्तरसम्बन्धलाई उजागर गर्छ । स्थानीय तहको निर्वाचनमा अत्यन्त झीनो मतान्तरले पराजित भएका एक उम्मेदवारले मतगणनामा त्रुटि भएको आशंकासहित पुनः मतगणनाको माग गर्दै अदालतमा निवेदन दिनुभयो । उच्च अदालत पोखराले पुनः मतगणना गर्न स्पष्ट आदेश दिएको अवस्थामा पनि अदालतको रजिस्ट्रार तहबाट भएको प्रशासनिक निर्णयका कारण मतगणनाको प्रक्रिया अघि बढ्न नसकेको उहाँको गुनासो रह्यो । त्यसपछि उहाँ पुनः सर्वोच्च अदालत पुग्नुभयो । सर्वोच्च अदालतले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्ने निर्णय गरेको भए पनि त्यसको व्यावहारिक कार्यान्वयनमा अपेक्षित गति देखिएको छैन ।

सर्वोच्च अदालतको प्रशासनबाट उहाँलाई पटक–पटक ६–६ महिनाको तारिख दिइँदै आएको अवस्था छ । अग्राधिकार प्रदान गरिएको मुद्दा नै यसरी लामो समयसम्म सुनुवाइको प्रतीक्षामा रहनु न्यायिक प्राथमिकता र प्रशासनिक कार्यान्वयनबीचको अन्तरविरोधको उदाहरणका रूपमा लिन सकिन्छ । यस घटनाको अर्को पक्ष अझ विचारणीय छ । विवादित निर्वाचनबाट निर्वाचित प्रमुखले आफ्नो कार्यकालको अधिकांश समय जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब मुद्दाको अन्तिम निरुपण हुँदा उहाँको कार्यकालसमेत समाप्त हुने अवस्था आउन सक्छ । त्यसो भयो भने पुनः मतगणनाको मागसहित अदालत पुगेका व्यक्तिले न्याय पाउँदासम्म त्यसको व्यावहारिक महत्व नै समाप्त भइसकेको हुनेछ । अर्को निर्वाचन सम्पन्न भएपछि मात्र विवादको निरुपण हुने अवस्था सिर्जना हुँदा न्यायिक प्रक्रियाको औचित्यमाथि स्वाभाविक रूपमा प्रश्न उठ्नेछ ।

यहाँ प्रश्न उठ्ने गरेको छ । नागरिकले कानुनबमोजिम माग गरेको न्याय समयमै पाउनुपर्छ कि पर्दैन ? अदालतले दिएको आदेशको कार्यान्वयन सुनिश्चित हुनुपर्छ कि पर्दैन ? न्यायिक प्रक्रियामा अग्राधिकार पाएको मुद्दाले पनि सामान्य मुद्दासरह वर्षौं प्रतीक्षा गर्नुपर्ने हो भने अग्राधिकारको अवधारणाकै अर्थ के रहन्छ ? न्यायपालिकाभित्रको राजनीतिक प्रभावबारे उठ्ने प्रश्न अरु धेरै छन्, मैले न्यायिक प्रक्रियामा देखिएका यस्ता समस्या र विसंगतिलाई लामो समयदेखि नजिकबाट अवलोकन र अध्ययन गर्दै आएको छु । विभिन्न सार्वजनिक जिम्मेवारीमा रहँदा राज्यका संस्थाहरूको कार्यशैली, निर्णय प्रक्रिया र संस्थागत उत्तरदायित्वलाई नजिकबाट बुझ्ने अवसर पनि प्राप्त भएको छ ।

यही क्रममा एउटा सामाजिक कार्यक्रममा भएको प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । एक भोजमा सम्माननीय प्रधानन्यायाधीश र पूर्वप्रधानन्यायाधीशसमेत उपस्थित हुनुहुन्थ्यो । त्यही अवसरमा मैले न्यायिक क्षेत्रप्रति लामो अनुभव र प्रतिष्ठा आर्जन गर्नुभएका एकजना वरिष्ठ अधिवक्तासँग अदालतबाट नागरिकले प्राप्त गर्ने न्यायको अवस्थाबारे जिज्ञासा राखेको थिएँ । उहाँले अत्यन्त स्पष्ट र गम्भीरतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुभयो । उहाँको विचारमा दुईवटा प्रकृतिका मुद्दामा अदालतबाट न्याय प्राप्त हुने विषयमा विशेष प्रश्न उठ्ने गरेको छ ।

पहिलो, राजनीतिक प्रकृतिका मुद्दा र दोस्रो, ठूला आर्थिक तथा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्धित मुद्दा । अन्य सामान्य प्रकृतिका मुद्दामा भने अदालतबाट न्याय प्राप्त हुने गरेको उहाँको धारणा थियो । एक प्रतिष्ठित कानुन व्यवसायीबाट आएको यो प्रतिक्रियाले गम्भीर बनायो । किनकि सम्मानित न्यायपालिकालाई अन्तरात्मादेखि नै स्वतन्त्र निष्पक्ष संस्थाका रूपमा देख्ने अभिलाषामा लेखक अभ्यस्त छ । संयोगवश उहाँको प्रतिक्रिया व्यक्त भइरहँदा प्रधानन्यायाधीश र पूर्वप्रधानन्यायाधीशसमेत त्यहीँ उपस्थित हुनुहुन्थ्यो । उक्त अभिव्यक्तिले त्यहाँ उपस्थित व्यक्तिहरूलाई केही असहज बनाएको अनुभूति पनि भएको थियो ।

निश्चय नै एकजना वरिष्ठ अधिवक्ताको व्यक्तिगत अनुभव वा मूल्याङ्कनलाई सम्पूर्ण न्यायपालिकाको आधिकारिक निष्कर्ष मान्न मिल्दैन । न्यायपालिकामा निष्पक्ष र निष्ठावान् न्यायाधीश, इमानदार कानुन व्यवसायी तथा व्यावसायिक मर्यादाप्रति प्रतिबद्ध कर्मचारीहरूको ठूलो पंक्ति छ । उहाँहरूको योगदानकै कारण न्यायपालिकाप्रतिको नागरिक विश्वास अझै कायम रहेको छ । तथापि, राजनीतिक र प्रभावशाली व्यक्तिसँग सम्बन्धित मुद्दामा न्यायिक निष्पक्षताबारे समाजका प्रतिष्ठित नागरिकहरूले समेत प्रश्न उठाउने अवस्था सिर्जना हुनु आफैँमा गम्भीर चिन्ताको विषय हो ।

न्यायपालिकामाथि राजनीतिक प्रभाव वा राजनीतीकरणको आशंका बढ्नुको पछाडि न्यायाधीश नियुक्ति प्रक्रिया, न्यायिक नेतृत्वको चयन, न्यायिक निर्णयमा बाह्य प्रभावको सम्भावना, मुद्दाको पेसी व्यवस्थापन तथा न्यायिक प्रशासनमा देखिने अपारदर्शिताजस्ता विषयलाई जोडेर हेर्ने गरिन्छ । यस्ता आशङ्का सबै अवस्थामा प्रमाणित हुन्छन् भन्ने होइन । तर न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठ्ने वातावरण नै बन्न नदिन संस्थागत पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्नु आवश्यक हुन्छ । न्यायपालिकाको सबैभन्दा ठूलो शक्ति उसको आदेश मात्र होइन, नागरिकले उक्त आदेशप्रति राख्ने विश्वास पनि हो । अदालतको फैसला कानुनीरूपमा अन्तिम हुन सक्छ, तर त्यसको नैतिक स्वीकार्यता निष्पक्षता, पारदर्शिता र विश्वसनीयताबाट प्राप्त हुन्छ ।

न्यायिक सुधारका लागि आवश्यक प्राथमिकता ः
न्यायपालिकामा देखिएका समस्याको समाधान केवल न्यायाधीशको सङ्ख्या बढाएर वा मुद्दाको चाप घटाएर मात्र सम्भव हुँदैन । त्यसका लागि न्यायिक प्रणालीको समग्र कार्यशैली, संस्थागत संस्कृति र प्रशासनिक उत्तरदायित्वमा सुधार आवश्यक छ । मुद्दाको प्रकृतिअनुसार न्याय निरुपणको समयसीमा निर्धारण गर्नुपर्छ । निर्वाचनसम्बन्धी विवाद, नागरिकको मौलिक हकसँग सम्बन्धित मुद्दा, सार्वजनिक पदको वैधता र कार्यकालसँग जोडिएका विवाद तथा तत्काल उपचार आवश्यक पर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । विशेषतः निर्वाचनसम्बन्धी मुद्दा अर्को निर्वाचनअघि नै टुंग्याउन सकिने गरी छुट्टै कार्यतालिका र प्रभावकारी सुनुवाइ प्रणाली विकास गर्नुपर्छ ।

अदालतबाट भएका आदेशको कार्यान्वयनमा प्रशासनिक तहबाट अवरोध उत्पन्न हुन नदिने व्यवस्था हुनुपर्छ । न्यायाधीशले गरेको आदेशको प्रभावकारिता त्यसको कार्यान्वयनमा निर्भर हुन्छ । अदालतको प्रशासनिक संयन्त्र न्यायिक निर्णयलाई सहयोग र कार्यान्वयन गर्ने निकाय हो, त्यसको विकल्पमा निर्णय गर्ने निकाय होइन । प्रशासनिक प्रक्रियाका नाममा न्यायिक आदेशको कार्यान्वयन रोक्ने वा अनावश्यक ढिलाइ गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

पेसी व्यवस्थापन र तारिख प्रणालीलाई व्यवस्थित तथा पारदर्शी बनाउनुपर्छ । कुनै मुद्दाले अग्राधिकार प्राप्त गरिसकेपछि पनि महिनौँसम्म सुनुवाइको प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । पेसी स्थगन, मुद्दाको प्राथमिकता निर्धारण र सुनुवाइमा हुने ढिलाइको कारण स्पष्ट हुनुपर्छ । प्रविधिको प्रयोगबाट मुद्दाको प्रगति, पेसीको अवस्था र निर्णयको समयबारे पक्षहरूलाई सहज जानकारी उपलब्ध गराउन सकिन्छ ।

न्यायाधीश नियुक्ति र न्यायिक नेतृत्व चयनमा व्यावसायिक क्षमता, कानुनी ज्ञान, निष्पक्षता, नैतिक चरित्र र संस्थागत नेतृत्व क्षमतालाई प्राथमिक आधार बनाउनुपर्छ । राजनीतिक निकटता वा अन्य बाह्य प्रभावले न्यायिक नियुक्ति प्रक्रियामा स्थान पाउनुहुँदैन । न्यायाधीशको स्वतन्त्रता सुनिश्चित गर्नुका साथै न्यायिक उत्तरदायित्वलाई पनि संस्थागत रूपमा बलियो बनाउनुपर्छ । यसै गरी न्यायिक प्रशासनको प्रभावकारिता र जवाफदेहिता बढाउनुपर्छ । मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका प्रत्येक चरणमा जिम्मेवारी स्पष्ट हुनुपर्छ । अनावश्यक ढिलाइ, प्रशासनिक लापरबाही वा आदेश कार्यान्वयनमा अवरोध भएमा त्यसको संस्थागत समीक्षा गर्ने व्यवस्था हुनुपर्छ । अदालतको प्रशासनिक संयन्त्रलाई सेवाग्राहीमैत्री, उत्तरदायी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो ।

न्यायपालिकाभित्र आत्मसमीक्षा र संस्थागत सुधारको संस्कार विकास गर्नुपर्छ । अदालतप्रति गरिएका सबै आलोचना उचित नहुन सक्छन्, तर न्यायपालिकाको प्रतिष्ठा र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले गरिएका रचनात्मक आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ । नागरिकका गुनासा सुन्ने, समस्याको पहिचान गर्ने र सुधारको प्रगति सार्वजनिक गर्ने संस्थागत अभ्यास विकसित हुनुपर्छ ।

न्यायपालिकाको गरिमा र नागरिकको विश्वास ः
लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपालिका अरू निकायभन्दा फरक र विशिष्ट संस्थाका रूपमा स्थापित छ । यसको स्वतन्त्रता र स्वायत्तता संविधानले सुनिश्चित गरेको छ । तर स्वतन्त्रताको अर्थ उत्तरदायित्वबाट मुक्त हुनु होइन । न्यायपालिकाको स्वतन्त्रता जति महत्वपूर्ण छ, त्यसको निष्पक्षता र जवाफदेहिता पनि उत्तिकै महत्वपूर्ण छन् । न्यायपालिकाको गरिमा केवल न्यायाधीशको पद र अदालतको भवनबाट कायम हुँदैन, त्यो नागरिकले अदालतबाट प्राप्त गर्ने निष्पक्ष, समयबद्ध र प्रभावकारी न्यायबाट स्थापित हुन्छ । न्याय माग्न अदालत पुगेको नागरिकले आफ्नो जीवनको महत्वपूर्ण समय, श्रम र आर्थिक स्रोत खर्च गर्नुपर्ने अवस्था आउनुहुँदैन । वर्षौंसम्म मुद्दा विचाराधीन रहँदा नागरिकमा निराशा पैदा हुन्छ । विशेषतः राजनीतिक पहुँच, आर्थिक हैसियत वा सामाजिक प्रभावका आधारमा न्याय प्राप्तिको प्रक्रियामा भिन्नता देखिन्छ भन्ने अनुभूति समाजमा फैलिँदा त्यसले न्यायपालिकाको संस्थागत विश्वसनीयतामै आघात पु¥याउँछ ।

अदालतबाट न्याय पाउनु नागरिकको कृपा वा अनुग्रह होइन, संवैधानिक र कानुनी अधिकार हो । त्यसैले न्यायिक प्रक्रिया नागरिकको सुविधाका लागि हुनुपर्छ, नागरिकलाई प्रक्रियाको बोझ बोकाउनका लागि होइन । न्याय ढिलो हुँदा त्यसको असर मुद्दाका पक्षहरूमा मात्र सीमित रहँदैन, त्यसले कानुनी शासन, लोकतान्त्रिक संस्कार र राज्यका संस्थाहरूप्रतिको जनविश्वासमा समेत नकारात्मक प्रभाव पार्छ । आजको आवश्यकता न्यायपालिकाको आलोचना गर्नु मात्र होइन, त्यसको गरिमा र विश्वसनीयता अझ उच्च बनाउने उद्देश्यले सुधारका ठोस उपाय अवलम्बन गर्नु हो । न्यायिक स्वतन्त्रतामा कुनै सम्झौता नगरी न्यायिक उत्तरदायित्व सुनिश्चित गर्ने, राजनीतिक प्रभावबाट संस्थालाई मुक्त राख्ने, मुद्दाको समयमै निरुपण गर्ने र न्यायिक आदेशको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने दिशामा गम्भीर पहल हुनुपर्छ ।

अन्ततः न्यायपालिकाको सफलता कति मुद्दा दर्ता भए वा कति फैसला भए भन्ने तथ्याङ्कबाट मात्र मापन हुनुहुँदैन । नागरिकले समयमै न्याय पाए कि पाएनन्, अदालतको आदेश कार्यान्वयन भयो कि भएन र समाजले न्यायपालिकालाई निष्पक्ष संस्थाका रूपमा विश्वास गर्न सक्यो कि सकेन भन्ने आधारमा यसको मूल्याङ्कन हुनुपर्छ । न्याय ढिलो हुनु भनेको कतिपय अवस्थामा न्यायको सार नै हराउनु हो । नागरिकले न्याय खोज्दा आफ्नो जीवनको महत्वपूर्ण समय अदालतको ढोकामा बिताउनुपर्ने अवस्था लोकतान्त्रिक राज्यका लागि शोभनीय हुन सक्दैन । न्यायपालिकाले आफ्नो संवैधानिक गरिमा, ऐतिहासिक जिम्मेवारी र नागरिकको विश्वासलाई केन्द्रमा राखेर न्यायिक प्रक्रियामा देखिएका ढिलासुस्ती, विसंगति र सम्भावित बाह्य प्रभावको निर्मम समीक्षा गर्दै सुधारको नेतृत्व गर्नुपर्ने समय आएको छ । न्यायपालिकाको प्रतिष्ठा नागरिकको विश्वासबाट निर्माण हुन्छ र त्यो विश्वास समयमै प्राप्त हुने निष्पक्ष न्यायबाट मात्र सुरक्षित रहन सक्छ । यसतर्फ सम्बन्धित न्यायमूर्तिहरूको ध्यान गम्भीर रुपमा जानु अपरिहार्य छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।