बुढीगण्डकी आयोजना निर्माणले गति लिँदै, आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य


धदिङ।

राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेसँगै सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्माणको जिम्मा पाउने व्यवसायीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ। वर्षौंदेखि चर्चामा सीमित रहेको आयोजना अब निर्माणको चरणमा प्रवेश गरेकाले काममा ढिलासुस्ती नगर्न उहाँले निर्माण व्यवसायीलाई सचेत गराउनुभएको हो।

बुधबार गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र गोरखा–धादिङ जोड्ने पक्की पुलको शिलान्यास गर्नुभयो। शिलान्यास कार्यक्रममा उहाँले बुढीगण्डकी आयोजना केवल विद्युत् उत्पादन गर्ने परियोजना मात्र नभई धादिङ, गोरखा र आसपासका जिल्लाको आर्थिक तथा सामाजिक विकासको आधार बन्न सक्ने बताउनुभयो।

‘बुढीगण्डकी बन्ने सोच धेरै पहिलेदेखि आएको हो। अब आयोजना निर्माणको काम सुरु भएको छ। यो बहुउद्देश्यीय आयोजना हो। यसले धादिङ, गोरखा र चितवनका नागरिकलाई आर्थिक रूपमा समृद्ध बनाउने सम्भावना बोकेको छ,’ सभामुख अर्यालले भन्नुभयो, ‘रोजगारी, पर्यटन र विकासको नयाँ मोडेलसमेत यही आयोजनाबाट देखाउन सकिन्छ। त्यसैले निर्माण व्यवसायीले समयमै र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ।’

उहाँले आयोजना कम्पनी मोडेलभन्दा प्राधिकरण मोडेलमा निर्माण गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिँदै कुनै पनि नागरिक राज्यबाट पाउनुपर्ने सुविधा र अधिकारबाट वञ्चित हुन नहुने बताउनुभयो। मुआब्जा, पुनर्वास र अन्य सुविधाका विषयमा एक जना नागरिकले पनि अन्याय भोग्नुपर्ने अवस्था आउन नदिने उहाँको भनाइ थियो।

सभामुख अर्यालका अनुसार बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजनासम्बन्धी ऐन र प्राधिकरणको संरचनाबारे बिहीबार अन्तिम टुंगो लगाउने तयारी छ। यसअघि २० पटकभन्दा बढी बैठक र छलफलपछि आयोजना यो अवस्थामा आइपुगेको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षका लागि डेढ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको र आवश्यक परे थप डेढ अर्ब रुपैयाँसमेत उपलब्ध गराइने उहाँको भनाइ छ।

संसद्को अधिवेशन सुरु भएको दुई साताभित्रै सम्बन्धित ऐन सदनमा पेस गर्ने र ऐनअनुसार शक्तिशाली सञ्चालक समिति गठन गरी प्राधिकरणमार्फत आयोजना निर्माण अघि बढाउने तयारी रहेको सभामुख अर्यालले जानकारी दिनुभयो। उहाँले आयोजनाबाट प्रभावित नागरिकको हकहित र अधिकार सुनिश्चित हुने गरी आफूले काम गरिरहेको पनि बताउनुभयो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना कम्पनी मोडेलमा नभई प्राधिकरण मोडेलमा निर्माण हुनुपर्ने धारणा राख्नुभयो। आफू प्रधानमन्त्री हुँदा आयोजनालाई छिटो अघि बढाउन निर्णय गरेर काम सुरु गराएको स्मरण गर्दै उहाँले आयोजना निर्माणका लागि उपयुक्त संरचना र व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।

‘मैले विदेशमा पनि यस किसिमका आयोजना सञ्चालनका मोडेल अध्ययन गरेको छु। बुढीगण्डकी जस्तो ठूलो बहुउद्देश्यीय आयोजना निर्माण गर्ने हो भने प्राधिकरण मोडेल उपयुक्त हुन्छ,’ भट्टराईले भन्नुभयो। उहाँले आयोजनाको परिकल्पना र अध्ययन धेरै अघिदेखि भए पनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको उल्लेख गर्दै अब यसलाई कुनै पनि बहानामा अल्झाउन नहुने बताउनुभयो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजना निर्माणका लागि बजेटको अभाव हुन नदिने गरी सरकारले व्यवस्था मिलाएको बताउनुभयो। आयोजनाले गर्ने काम र प्रगतिको आधारमा आवश्यक बजेट उपलब्ध गराइने उहाँको भनाइ थियो।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले आयोजना प्रभावित नागरिकको मुआब्जासम्बन्धी बाँकी काम छिटो सम्पन्न गर्न माग गर्नुभयो। उहाँले निर्माणको मोडेल स्पष्ट पारेर काम अघि बढाउन र आयोजनाका कारण विस्थापित हुने नागरिकको पुनर्वास तथा पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका नाममा स्थानीय नागरिकले आफ्नो थातथलो छाड्नुपर्ने तर भविष्य अन्योलमा रहने अवस्था आउन नहुने उहाँको भनाइ थियो।

धादिङ र गोरखाको सिमानामा निर्माण हुने बुढीगण्डकी जलविद्युत् आयोजना नेपालको सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत् आयोजनामध्ये एक हो। आयोजनाको कुल क्षमता १२०० मेगावाट रहेको छ। उपलब्ध वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसमेत जोड्दा आयोजनाको कुल लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसको निर्माण अवधि आठ वर्ष राखिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

आयोजनाको बाँध निर्माण भएपछि बन्ने जलाशयले धादिङ र गोरखाका ठूलो भूभाग प्रभावित हुनेछ। धादिङका १३ र गोरखाका १४ साविक गाविसका बासिन्दा आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने अध्ययनले देखाएको छ। आयोजनाका कारण करिब ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुने र हजारौँ परिवार भौतिक तथा आर्थिक रूपमा प्रभावित हुने अनुमान छ। जग्गा अधिग्रहण, घरगोठ, बोटबिरुवा र फलफूलको क्षतिपूर्ति तथा पुनर्स्थापनाको विषय आयोजनाको सबैभन्दा संवेदनशील पक्षका रूपमा रहँदै आएको छ।

आयोजनाको जग्गा प्राप्ति र मुआब्जा वितरणमा उल्लेख्य प्रगति भए पनि पुनर्वास तथा पुनर्स्थापनाको विषय अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ। प्रभावित परिवारलाई उचित मुआब्जा, सुरक्षित आवास, जीविकोपार्जनको विकल्प र रोजगारीको अवसर सुनिश्चित नगरी आयोजना अघि बढाउँदा स्थानीयस्तरमा समस्या आउन सक्ने देखिन्छ।

यसअघि आयोजनाको लगानी ढाँचा, निर्माण मोडेल र वित्तीय व्यवस्थापनको विषयमा पटक–पटक छलफल हुँदै आएको थियो। पछिल्लो स्वीकृत वित्तीय ढाँचाअनुसार नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत स्वामित्व रहने गरी आयोजना अघि बढाउने व्यवस्था गरिएको छ। कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने प्रस्ताव छ। तर अहिले प्राधिकरण मोडेलमा लैजाने तयारीसँगै आयोजनाको संस्थागत संरचना र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयले प्राथमिकता पाएको छ।

बुधबार शिलान्यास गरिएका संरचनामध्ये आयोजनाको स्थायी कार्यालय तथा आवास भवन निर्माणका लागि ३७ करोड २९ लाख रुपैयाँ र पुल निर्माणका लागि २३ करोड ६३ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ। सिउरेनीटारबाट धादिङको सिद्धलेक क्षेत्र जोड्ने पुलले गोरखा र धादिङबीचको आवागमन सहज बनाउनुका साथै आयोजनाको निर्माण सामग्री तथा उपकरण ओसारपसारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वर्षौंदेखि लगानीको मोडेल, प्रशासनिक संरचना र मुआब्जाको विषयमा अल्झिँदै आएको बुढीगण्डकी आयोजना अब पूर्वाधार निर्माणतर्फ अघि बढेको छ। यद्यपि कार्यालय भवन र पुलको निर्माण सुरु हुँदैमा मुख्य जलविद्युत् संरचनाको निर्माण सुरु भइसकेको भने होइन। आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ। त्यसैले अहिलेको चुनौती पूर्वतयारीका कामलाई तीव्रता दिँदै निर्धारित समयमै मुख्य निर्माणमा प्रवेश गर्नु र आठ वर्षभित्र आयोजना सम्पन्न गर्नु हो।

बुढीगण्डकी निर्माणले गति लिएमा धादिङ र गोरखाको मात्र नभई समग्र देशको ऊर्जा सुरक्षा, रोजगारी, पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। तर आयोजनाको वास्तविक सफलता विद्युत् उत्पादनमा मात्र सीमित नभई प्रभावित नागरिकलाई न्याय, स्थानीयलाई रोजगारी र आयोजनाबाट प्राप्त हुने लाभमा उनीहरूको सहभागिता सुनिश्चित गर्न सक्नुमा पनि निर्भर रहनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।