दिगो पर्यटन र होटल व्यवस्थापन : अवसर, चुनौती र कार्यदिशा


रसुवा । रसुवा जिल्ला नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिकोणले धनी यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, पवित्र गोसाइँकुण्ड ताल र तामाङ सम्पदा मार्गजस्ता महत्ववपूर्ण आकर्षणहरू रहेका छन् ।

रसुवामा पर्यटनको अवस्था निकै उत्साहजनक रहे तापनि यस क्षेत्रमा केही चुनौती र थुप्रै सम्भावनाहरू सँगसँगै विद्यमान छन् । भौगोलिक विकटता, पूर्वाधारको कमी र मौसमी पर्यटन यहाँका मुख्य चुनौती हुन् भने, आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमन र स्थानीय संस्कृतिको प्रवद्र्धन यहाँका प्रचुर सम्भावनाहरू हुन् ।

पर्यटन उद्योगको मेरुदण्ड भनेकै होटल व्यवसाय हो । रसुवामा सञ्चालित होटल व्यवसायीहरूको अवस्थालाई हेर्दा, उनीहरूले दक्ष जनशक्तिको अभाव, बजारको अस्थिरता, लगानीको जोखिमजस्ता चुनौतीहरू सामना गरिरहेका छन् । यद्यपि, पर्यटकको संख्यामा भएको वृद्धिले व्यवसाय विस्तार र स्तरोन्नतिका नयाँ ढोकाहरू खोलेको छ । यसका लागि होटल, लज, टी–हाउस तथा होमस्टे (घरबास) को वैज्ञानिक र व्यवस्थित व्यवस्थापन हुन जरुरी छ । पर्यटकहरूलाई रैथानेपनको जीवन्त अनुभव गराउन गन्तव्य–आधारित आतिथ्य पर्यटनलाई बढावा दिनुपर्छ । यसअन्तर्गत स्थानीय कृषिउपज, हस्तकला र उत्पादनहरूको प्रवद्र्धन गरी पर्यटकहरूलाई स्थानीय स्वाद र संस्कृतिसँग जोड्न सकिन्छ, जसले गर्दा स्थानीय अर्थतन्त्र सुदृढ हुन पुग्छ ।

व्यवसायलाई दिगो र मर्यादित बनाउन आन्तरिक व्यवस्थापन निकै बलियो हुनुपर्छ । होटल क्षेत्रमा फोहोर तथा सरसफाइको उचित व्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्दछ, किनकि हिमाली क्षेत्रको नाजुक पर्यावरणलाई जोगाउनु व्यवसायीहरूको पनि दायित्व हो । यसका साथै, उचित लागत व्यवस्थापन र कुशल व्यवसाय सञ्चालनले मात्र प्रतिस्पर्धी बजारमा टिक्न मद्दत गर्दछ । यो क्षेत्र स्वरोजगार र उद्यमशीलताको ठूलो माध्यम बनेको छ । व्यवसायभित्र असल कार्य अभ्यास, कार्य नैतिकता टिमवर्क तथा सहकार्यको भावना विकास गर्न सकेमा सेवाको गुणस्तर स्वतः वृद्धि हुन्छ ।

आधुनिक युगमा पर्यटनको बजारीकरण फरक ढंगले गर्न आवश्यक छ । रसुवाका पुराना कथा, संस्कृति र इतिहासलाई ‘स्टोरीटेलिङ’ मार्फत प्रस्तुत गरेर गन्तव्य ब्रान्डिङ गर्न सकिन्छ । आजको डिजिटल युगमा डिजिटल पर्यटन र सामाजिक सञ्जालमार्फत अनलाइन प्रवद्र्धन गर्नु अपरिहार्य भइसकेको छ । यसले विश्वभरका पर्यटकलाई रसुवाको सुन्दरताप्रति आकर्षित गर्न मद्दत गर्दछ । पर्यटक आइसकेपछि उनीहरूलाई प्रदान गरिने ग्राहक सेवा उच्च स्तरको हुनुपर्छ र उनीहरूका गुनासोहरूको उचित समयमै व्यवस्थापन गरिनुपर्छ ।

हिमाली क्षेत्रमा पदयात्रा गर्दा स्वास्थ्य, सुरक्षा तथा आपत्कालीन तयारी सबैभन्दा संवेदनशील विषय हो । होटलहरूमा प्राथमिक उपचार र उद्धारको पूर्वतयारी हुनुपर्छ । साथै, पर्यटन व्यवसायलाई सामाजिक रूपमा उत्तरदायी बनाउन बालश्रममुक्त र जिम्मेवार पर्यटन व्यवसायको अवधारणालाई कडाइका साथ लागू गर्नुपर्छ । वर्तमान समयमा जलवायु परिवर्तन अर्को ठूलो चुनौतीका रूपमा देखा परेको छ । हिमाली पर्यावरणको संरक्षण गर्दै दिगो पर्यटनको विकास गर्नु आजको आवश्यकता हो । रसुवाको प्रमुख धार्मिक स्थल गोसाइँकुण्डमा सफल पर्यटन अभ्यासको कार्यान्वयन गरेर यसलाई उदाहरणीय गन्तव्य बनाउन सकिन्छ । यसका लागि सरोकारवाला सबैको सामूहिक प्रतिबद्धता तथा ठोस कार्ययोजना हुन जरुरी छ ।

कुनै पनि होटल व्यवसाय सञ्चालन गर्दा कानुनी मापदण्ड, गुणस्तरीय खाना, सुरक्षित आवास र न्यूनतम पूर्वाधारजस्ता व्यवस्थाहरू अनिवार्य रूपमा प्रबन्ध गर्नुपर्दछ । बाहिरबाट आउने पर्यटक तथा ग्राहकहरूले रसुवाका होटल तथा व्यवसायीहरूबाट न्यानो आतिथ्यता, रैथानेपन, इमानदारिता र सुरक्षित वातावरणको अपेक्षा राखेका हुन्छन् । ग्राहकलाई पूर्ण सन्तुष्टि दिन र व्यवसायलाई उत्कृष्ट बनाउन आतिथ्य सत्कारका नवीन विधिहरू अपनाउन सकिन्छ । जस्तै– डिजिटल भुक्तानीको व्यवस्था, स्वागतमा स्थानीय पहिचानको प्रयोग, वातावरणमैत्री बसाइ र व्यक्तिगत ध्यान आदि ।

निष्कर्षमा, रसुवामा पर्यटन र होटल व्यवसायको भविष्य निकै उज्ज्वल छ । स्थानीय चुनौतीहरूलाई अवसरमा बदल्दै, आधुनिक प्रविधिको प्रयोग र मौलिक आतिथ्य सत्कारलाई सँगै लैजान सकेमा यस क्षेत्रको आर्थिक समृद्धि निश्चित छ । पर्यावरणको रक्षा र दिगो विकासको सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नु नै रसुवाको पर्यटनलाई उचाइमा पु¥याउने सर्वोत्तम मार्ग हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।