रंगशालामा चौका–छक्कामा गुञ्जिने नारा, रंगीन जर्सीमा सजिएका समर्थक र मैदानमा पसिना बगाउँदै सपना पच्छ्याइरहेका खेलाडी । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण हुँदै गर्दा यो दृश्य जति भव्य र भावुक देखिन्थ्यो, पर्दापछाडिको आर्थिक हिसाब त्यति नै प्रश्नयोग्य छ । उपाधि जित्ने टोलीले डेढ करोड रुपियाँ पुरस्कार पाउँछ, तर एउटा फ्रेन्चाइजको यो सिजनको खर्च त्यो भन्दा कयौं गुणा बढी छ । ट्रफीभन्दा करिब दश गुणा बढी खर्च । यही अंकले सोधिरहेको छ, यति ठूलो रकम खन्याएर मालिकहरूले कमाउँछन् कहाँबाट ? यो दिगो खेल अर्थतन्त्र हो कि चम्किलो तामझामभित्र लुकेको महँगो जुवा ?
उत्तर खोज्न लिगको संरचनामै जानुपर्छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गर्छ, नियम बनाउँछ र लिगको बजार व्यवस्थापन सम्हाल्छ । तर, मैदानमा उत्रने आठवटै टोली निजी लगानीकर्ताका हुन् । यहाँ हरेक बलसँग सपना जोडिएको छ । अनिश्चितताबीच संघर्ष गरेका घरेलु खेलाडी अक्सनबाट छानिँदा उनीहरूको परिवारमा आशाको नयाँ किरण बल्छ । विदेशी स्टार सीधै सम्झौताबाट भित्रिँदा लिगको आकर्षण चुलिन्छ । तर, सपनाको मूल्य पैसामा तिर्नुपर्छ, र त्यो मूल्य निकै ठूलो छ ।
सन् २०२४ को पहिलो संस्करणको एनपीएल अक्सनमा आठै टोली झन्डै १६ करोड ८९ लाखमा तयार भयो । पोखरा एभेन्जर्स ३ करोड ५७ लाखमा सबैभन्दा महँगो र कर्णाली याक्स १ करोड १ लाखमा सबैभन्दा सस्तो बन्यो । तर, टोली किन्नु त सुरुवातमात्र हो । हरेक वर्ष फ्रेन्चाइज शुल्कबापत करोडौं रुपियाँ क्यानलाई बुझाउनुपर्छ । त्यसपछि सुरु हुन्छ खर्चको उकालो यात्रा । सुरुका दुई सिजनमा एउटा टोलीको औसत खर्च ८ देखि १० करोड रुपियाँ थियो, तेस्रो सिजनमा यो आंकडा झन्डै दोब्बर पुगेको अनुमान छ । आठै टोलीको खर्च जोड्दा करिब १ सय करोड रुपियाँभन्दा माथि हुन आउँछ । स्वदेशी खेलाडीको तलब सीमा ९० लाख र मार्की खेलाडीको बढीमा २० लाख रुपियाँ तोकिएको छ । तर, विदेशी स्टारलाई करोडौं रुपियाँ तिर्नुपर्ने बाध्यता छ । प्रशिक्षकको पारिश्रमिक, महँगो होटल, यात्रा र मार्केटिङ थपिँदा भार अझै गह्रौँ हुन्छ । क्यान आफैँले पनि डीआरएस प्रविधि र प्रतियोगिता सञ्चालनमा करिब ३० करोड रुपियाँ खर्च हुने बताएको छ ।
यहाँ गम्भीर प्रश्न उठ्छ । एक महिनाको छोटो प्रतियोगितामा खर्च यसरी बढिरहँदा घरेलु क्रिकेटको जग बलियो नबनाई विदेशी अनुबन्ध र तामझाममा रकम खन्याउनुको दीर्घकालीन प्रतिफल के होला त ? टिम मालिकहरूले आम्दानीका पाँच बाटा खोलेका छन् । पहिलो र सबैभन्दा बलियो प्रायोजन हो । खेलाडीले लगाउने जर्सीको छाती, पछाडि र बाहुला चलायमान विज्ञापन बोर्ड बन्छन् । जनकपुर बोल्ट्सको मुख्य प्रायोजक एक्सट्रिम एनर्जी ड्रिंक्स र साझेदार यांगो रहनु यसको उदाहरण हो । नियम सरल छ । समर्थक र लोकप्रियता जति बढ्यो, प्रायोजनको मूल्य त्यति माथि उक्लन्छ । तर, सीमित कर्पोरेट बजार भएको नेपालमा हरेक टोलीले वर्षैपिच्छे १० करोडभन्दा बढीसम्मको खर्च धान्न सक्ने प्रायोजन कति सजिलै जुटाउन सक्ला भन्ने चिन्ता अझै जीवित छ ।
दोस्रो बाटो क्यानको आम्दानी बाँडफाँट हो । प्रायोजन, टिकट, प्रसारण अधिकार र शुल्कबाट जम्मा भएको रकम केन्द्रीय कोषमा जान्छ र खर्च कटाएर बचेको करिब आधा रकम आठै टोलीले पाउँछन् । पहिलो सिजनमा टोलीहरूले कुल ४ करोड ३७ लाख पाएकोमा दोस्रो सिजनमा १६ करोड १९ लाख पुग्यो । अर्थात् प्रत्येक टोलीले औसत करिब दुई करोड । यो उत्साहजनक वृद्धि हो । तर, १५ करोडको खर्चसामु दुई करोड थोरै नै देखिन्छ । तेस्रो बाटो पुरस्कार राशि हो । विजेताले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रोले ४० लाख र चौथोले ३० लाख रुपियाँ पाउँछन् । इमानदारीपूर्वक हेर्दा यो खर्चको सानो अंश मात्र हो । पुरस्कार आम्दानीको आधार होइन, अतिरिक्त बोनसमात्र हो ।
चौथो बाटो टिकट र मर्चेन्डाइज हो । घामपानी नभनी रंगशाला पुग्ने समर्थकका लागि मनपर्ने टोलीको जर्सी लगाउनु फेसन होइन, आफ्नो क्षेत्र, पहिचान र भावनाप्रतिको गर्व हो । त्यही भावनाले जर्सी र सामग्री बिक्री, टिकट र डिजिटल सक्रियताबाट आय थप्छ । पाँचौँ बाटो सबैभन्दा रणनीतिक छ । दीर्घकालीन ब्रान्ड मूल्य । सिजन थपिँदै जाँदा टोलीको नाम, समर्थक आधार र बजार मूल्य आफैँमा सम्पत्ति बन्छ । अझ रोचक कुरा, फ्रेन्चाइज स्वामित्वमा मेडिकल कलेज, स्वास्थ्य सेवा कम्पनी र निर्माण व्यवसायीसमेत छन् । जसका लागि यो मञ्च आफ्नो मूल व्यवसायलाई देशव्यापी चिनाउने शक्तिशाली माध्यम हो । यहाँ एउटा संवेदनशील सवाल जोडिन्छ, खेलकुदको फ्रेन्चाइज स्वामित्व ठूला व्यवसायको प्रचार र प्रभाव विस्तारको साधनमात्र बन्दै छ कि पारदर्शी खेल अर्थतन्त्रको साँचो हिस्सा ?
लिगको आकार भने आश्चर्यजनक रूपमा फैलिएको छ । क्यानको कुल आम्दानी पहिलो सिजनको २७ करोड ६९ लाखबाट दोस्रो सिजनमा ४७ करोड ३६ लाख पुग्यो । तेस्रो सिजनमा ७० देखि ७५ करोड रुपियाँ लक्ष्य राखिएको छ । जसमा प्रायोजनबाट करिब २० करोड र प्रसारण तथा टिकट अधिकारबाट ३३.५ करोडभन्दा बढी सुनिश्चित भइसकेको छ । टिकट बिक्रीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत टिकटिङ साझेदार ई–सेवाले पाउने सम्झौता छ । क्यानको आयव्यय र आठ टोलीको खर्च जोड्दा एक महिनामै समग्र कारोबार डेढ अर्ब रुपियाँ नाघ्ने प्रक्षेपणलाई नकार्न सकिन्न । नेपाली खेलकुदका लागि यो अभूतपूर्व संख्या हो ।
तर, चमकधमकको यो प्रतियोगिताभित्र कठोर यथार्थ पनि छ । सुरुका सिजनमा केही टोली घाटामा चलेको चर्चा बाहिरिएको थियो । तर, कुन टोलीले कति नाफा वा घाटा बेहो¥यो भन्ने पारदर्शी हिसाब सार्वजनिक भएको छैन । एनपीएल पहिलो संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका प्रमुख कार्यकारीले भने जस्तै छोटो समयमै नाफा कमाउने परियोजना नभएर ३ देखि ५ वर्षमा लागत उठाउने दीर्घकालीन योजना भन्ने कुरासँग यो मेल खान्छ । तर, आर्थिक विवरण गोप्य रहँदा र खर्चको सीमा हरेक सिजन तानिँदै जाँदा यो मोडेल कति भरपर्दो रहन्छ ? कुनै टोली वा लगानीकर्ताले बीचैमा हात झिक्यो भने वर्षौंको सम्झौता र लिगको विश्वसनीयतामै धक्का लाग्न सक्छ, र त्यसको मूल्य खेलाडीको भविष्य र समर्थकको विश्वासले चुकाउनुपर्नेछ ।
अन्ततः एनपीएल आज क्रिकेट प्रतियोगितामात्र रहेन । यो नेपाली खेलकुदको व्यावसायिक, नैतिक र संस्थागत परीक्षा पनि हो । खर्च ठूलो छ, जोखिम वास्तविक छ, र तत्काल नाफाको ग्यारेन्टी छैन । तैपनि खेलाडीको अठोट, समर्थकको माया र जोखिम मोल्ने लगानीकर्ताको आँटले यो यात्रालाई जीवित राखेको छ । पारदर्शिता, खर्चको अनुशासन र दीर्घकालीन दृष्टिकोण जोगाउन सकियो भने एनपीएलले नेपाली क्रिकेटको अर्थतन्त्रलाई नयाँ उचाइ दिन सक्छ । नत्र डेढ करोडको ट्रफी र १५ करोडको खर्चबीचको यो खाडलले लगानीकर्ताको धैर्यमात्र होइन, समग्र फ्रेन्चाइज मोडेलको दिगोपनमै कडा प्रश्न उठाइरहनेछ ।








तपाईंको विचार लेख्नुहोस्