नेपाल समाचारपत्र, हेटौंडा,
एक सय १३ वटा उद्योग निरन्तर चलिरहेको हेटौंडा औद्योगिक क्षेत्रको करिब बीच भागमा सुस्ताइरहेको हेटौंडा कपडा उद्योग अब भन्ने पुनर्संञ्चालन हुने ठँलो आश पलाएको छ । सरकारले उद्योग पुनर्संञ्चालन गर्न सक्ने ठहर गरेको हो ।
यसबारे अध्ययनका लागि बनेको समितिले उद्योग पुनर्संञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाएपछि स्थानीयमा आश पलाएको छ । अब मन्त्रिपरिषद्ले यथाशीघ्र निर्णय गरी उद्योग पुनर्संञ्चालन शुरु गरे मुलुककै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने स्थानीयको माग छ ।
उद्योग मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले उद्योगको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । कार्यदलका एक सदस्यका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग पुनर्संञ्चालनमा ल्याउन सकिने निष्कर्षसहित प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनमा उद्योग पुनर्संञ्चालनका लागि विभिन्न प्रस्ताव गरिएको छ । सेनाको एकल लगानी वा सरकारी वा सेनाको संयुक्त लगानीसम्मका मोडालिटी प्रस्तावित छन् ।
उद्योग २०५७ फागुनदेखि बन्द छ । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ती शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । उद्योगका धेरै मेसिन हाल पनि लाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।
बन्द उद्योग एकसय ८८ रोपनीमा फैलिएको छ । तीन लाख ५५ हजार वर्गफिटका भवन छन् । उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । सरकारको पँर्ण स्वामित्वमा रहेको उद्योगले आव २०३५÷०३६ देखि व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ ।
उद्योग सञ्चालनमा रहँदा करिब १ हजार २ सय महिलासहित १ हजार ५ सयभन्दा धेरैले एकै छानामुनि रोजगारी पाएका थिए । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो । चीन सरकारको सहयोगमा २०३२ सालमा उद्योग निर्माण शुरु भएको थियो । २०४८ को आर्थिक उदारीकरणपछि उद्योगलाई निजीकरण गर्ने भनिए पनि प्राथमिकतामा पर्न सकेन ।











प्रतिक्रिया