जापानमा ७ महिनादेखि थलिएकी विष्णुको केएमसीमा निःशुल्क उपचार सुरु

स्वागत गर्न विमानस्थलमै पुगे डा. शर्मा, आमाछोरीको भेटले अस्पताल भावुक


काठमाडौं ।

जापानमा मस्तिष्कघात (स्ट्रोक) भएर ७ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएसँगै उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु भएको छ। आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो।

नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी विष्णुको स्वागतका लागि डा. शर्मा एम्बुलेन्ससहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकको टोली लिएर विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै सिनामंगलस्थित केएमसी ल्याएर भर्ना गरिएको हो। अस्पतालका चिकित्सकले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार सुरु गरेका छन्।

अस्पताल आइपुगेपछि विष्णुले डा. शर्मालाई ‘म अहिले कहाँ छु?’ भनेर सोधेकी थिइन्। जवाफमा डा. शर्माले हात मिलाउँदै ‘तपाईं अहिले नेपालको काठमाडौं मेडिकल कलेजमा हुनुहुन्छ’ भनेपछि उनी भावुक बनेकी थिइन्। आफू आफ्नै देश फर्किएको र उपचारका लागि अस्पताल आइपुगेको जानकारी पाएपछि उनको अनुहारमा भावुकता देखिएको थियो।

अस्पतालको शय्यामा आमालाई आफ्नै अगाडि देखेपछि भने विष्णुले आँसु थाम्न सकिनन्। लामो समयदेखि जापानमा उपचाररत छोरीलाई भेट्न उनकी आमा बागलुङबाट काठमाडौं आएकी थिइन्। छोरीलाई देख्नेबित्तिकै आमाका आँखाबाट पनि आँसु झरे। लामो समयको दूरी, पीडा र प्रतीक्षापछि भएको आमाछोरीको भेटले अस्पतालको वातावरण नै भावुक बनेको थियो।

विष्णु अस्पतालबाट डिस्चार्ज नहुँदासम्म लाग्ने उपचारसहित सम्पूर्ण खर्च डा. शर्माले बेहोर्ने भएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका छन्। आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने उनको भनाइ छ।

रोजगारी र सुन्दर भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। लामो समयदेखि उपचाररत रहे पनि आर्थिक समस्याका कारण उपचारलाई निरन्तरता दिन कठिन भएको थियो। परिवारसँगै बसेर आफ्नै देशमा उपचार गराउने उनको इच्छा भए पनि आर्थिक अभावले स्वदेश फर्किने बाटोसमेत सहज हुन सकेको थिएन।

यही क्रममा जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले विष्णुको अवस्थाबारे जानकारी गराएका थिए। आर्थिक अभावका कारण एक नेपाली युवतीले परदेशमा उपचारका लागि भोगिरहेको कठिनाइ र स्वदेश फर्किनसमेत नसकेको अवस्थाबारे जानकारी पाएपछि डा. शर्माले उनलाई नेपाल फर्काउने र उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार आवश्यक समन्वय र पहल गरी विष्णुलाई नेपाल ल्याइएको हो।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको बताउने डा. शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत आफू संलग्न रहेको उनले बताउँदै आएका छन्।

सात महिनादेखि परदेशमा स्वास्थ्यसँग संघर्ष गरिरहेकी विष्णु अन्ततः आफ्नै देश फर्किएर परिवारको साथमा उपचार गराउन पाएकी छन्। अहिले केएमसीका विशेषज्ञ चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ। उनलाई जापानमा यति लामो समयदेखि साथदिदै आईरहनुभएका सुमन बानियाले नेपाल सम्म ल्याई बिष्णुलाई आमाको काखमा र केएमसी समक्ष सुम्पिनुभएको छ ।