रक्सीको मातमा जापानी कानुन मिच्दा १५ करोड स्वाहा !

अर्काको घरआँगनमा पिसाब गरेको आरोपमा नेपालीविरुद्ध उजुरी, कानुन नमान्दा फन्दामा पर्ने खतरा

0
Shares

नागोया जापान।

जापानमा रक्सी खाएर होहल्ला गर्ने, सार्वजनिक मर्यादा उल्लंघन गर्ने र अरूको निजी सम्पत्तिमा मनपरी गर्ने सोचमा हुनुहुन्छ ? हो भने सावधान ! यहाँको कानुन र सामाजिक मर्यादालाई बेवास्ता गर्दा सामान्य गल्ती पनि महँगो पर्न सक्छ । आइतबार फुकुओका प्रान्तमा एक नेपालीले मादक पदार्थ सेवन गरी जापानी नागरिकको घरको आँगनमा पिसाब गरेको आरोपसँगै १० देखि १५ करोड रुपैयाँसम्म क्षतिपूर्ति मागिएको दाबी सार्वजनिक भएको छ ।

प्राप्त विवरणअनुसार ती नेपाली अत्यधिक रक्सी सेवन गरी मातिएको अवस्थामा जापानी नागरिकको घरआँगनमा पुगेका थिए । सोही क्रममा उनले घरको आँगनमै पिसाब गरेको आरोप छ । उक्त घटनापछि घरधनीले प्रहरीसमक्ष उजुरी दिएको र १० देखि १५ करोड रुपैयाँसम्मको क्षतिपूर्ति माग गरेको बताइएको छ । तर, उजुरीको आधिकारिक विवरण, माग गरिएको रकम र घटनाको वास्तविक कानुनी अवस्थाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । आरोपित नेपालीको नाम र ठेगानासमेत हालसम्म सार्वजनिक भएको छैन ।

जापान विश्वमै अनुशासन, शान्ति र कानुनी व्यवस्थाका लागि परिचित देश हो । यहाँ अरूको निजी सम्पत्ति, व्यक्तिगत स्वतन्त्रता, सार्वजनिक शान्ति र सामाजिक मर्यादालाई निकै महत्व दिइन्छ । जापानको फौजदारी कानुन, सार्वजनिक उपद्रवसम्बन्धी स्थानीय नियम तथा अरूको सम्पत्तिमा क्षति पुगेको अवस्थामा लागू हुने नागरिक कानुनले यस्ता घटनाको प्रकृतिअनुसार कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्न सक्छन् ।

विशेषगरी मादक पदार्थ सेवन गरेको बहानामा कानुनबाट उन्मुक्ति पाइँदैन । अरूको घर, आँगन वा निजी क्षेत्रमा अनुमति नलिई प्रवेश गर्ने, फोहोर गर्ने, दुर्गन्ध फैलाउने वा सम्पत्तिमा क्षति पु¥याउने कार्यले कानुनी झमेला निम्त्याउन सक्छ ।

१२ देखि १५ लाख रुपैयाँ खर्च गरेर जापान पुगेका नेपालीले यहाँको नियम, कानुन र सामाजिक संस्कार बुझ्न जरुरी छ । रक्सी खानु व्यक्तिगत रोजाइ हुन सक्छ, तर रक्सीको मातमा अरूको अधिकारमाथि हस्तक्षेप गर्ने छुट कसैलाई छैन ।

जापानमा कमाउने सपना बोकेर आएका नेपालीले एउटा कुरा बुझ्नैपर्छ—यहाँको कानुनभन्दा माथि कोही छैन । क्षणिक मातले वर्षौंको मेहनत, कमाइ र प्रतिष्ठा जोखिममा पार्न सक्छ ।