काठमाडौं ।
यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी युवराज विष्टले पाएका छन्। कम्पनीले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओ नियुक्त गरेको हो।
यति एयरलाइन्समा सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा आफ्नो करिअर सुरु गरेका विष्टले लामो समयदेखि कम्पनीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। उनको नियुक्तिसँगै यसअघि सीईओ रहेका सुवास सापकोटाले जिम्मेवारीबाट बिदाइ लिएका छन्।
४३ वर्षीय विष्टसँग हवाई उड्डयन क्षेत्रको व्यवस्थापन, व्यावसायिक रणनीति तथा संस्थागत सञ्चालनको राम्रो अनुभव रहेको छ। व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले यसअघि कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजरको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सीबीओका रूपमा रहँदा उनले कम्पनीको व्यावसायिक योजना, व्यवस्थापकीय कार्यसम्पादन र संगठनात्मक विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। नयाँ जिम्मेवारीसँगै अब उनले एयरलाइन्सको समग्र व्यावसायिक गतिविधि, सञ्चालन व्यवस्थापन र संस्थागत विकासको नेतृत्व गर्नेछन्।
सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्स नेपालको आन्तरिक हवाई सेवामा सक्रिय निजी वायुसेवा कम्पनीमध्ये एक हो। कम्पनीले हाल सातवटा एटीआर–७२ विमानमार्फत काठमाडौंलाई मुख्य आधार बनाएर देशका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ।
यति एयरलाइन्सले पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगञ्जलगायतका प्रमुख सहरमा हवाई सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो व्यावसायिक उडानको सुरुवात भने क्यानडामा निर्मित डीएचसी ट्विनअटर विमानबाट गरेको थियो।











प्रतिक्रिया