काठमाडौं।
सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फण्ड योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले बुधबार (मंसिर २ गते) देखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि इकाई बिक्री खुला गर्न लागेको हो।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको अवधि १० वर्ष रहेको छ। नेपाल धितोपत्र बोर्डबाट गत असोज ७ गते स्वीकृति प्राप्त योजनाको प्रारम्भिक आकार एक अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम एक अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ।
योजनाको इकाई निष्काशन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बीज पुँजीका रूपमा लगानी गर्नेछ।
सिटिजन्स सुपर ५० म्युचुअल फण्डको मुख्य विशेषता उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनी छनोट गरी तिनमा लगानी केन्द्रित गर्नु रहेको छ। योजनाले छनोट गरिएका कम्पनीको शेयरमा लगानी गरी विविधीकृत पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक लगानी व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
विभिन्न कम्पनीको अध्ययन, विश्लेषण तथा छनोट गरी लगानी गर्न कठिनाइ हुने लगानीकर्तालाई समेत विशेषज्ञ योजना व्यवस्थापकमार्फत छनोट गरिएका कम्पनीको पोर्टफोलियोमा सामूहिक लगानी गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।
यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले मेरो शेयर तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाई बाँडफाँटपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने र दोस्रो बजारमार्फत कारोबार गर्न सकिनेछ।
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमा हासिल गरेको अनुभव र संस्थागत क्षमताका आधारमा इक्रा नेपालबाट AMC Quality 3+ रेटिङ प्राप्त गरेको छ। यसअघि क्यापिटलले व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको कम्पनीले जनाएको छ।
विगतका योजनाको व्यवस्थापन अनुभव, लगानी अनुशासन तथा इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ योजनासमेत व्यावसायिक र व्यवस्थित ढंगले सञ्चालन गर्ने क्यापिटलको लक्ष्य रहेको छ।
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनका अतिरिक्त लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।








तपाईंको विचार लेख्नुहोस्