काठमाडौं ।
विश्वभरका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यसहित ग्लोबल क्रिएटिभ फाउन्डेसन (जीसीएफ) औपचारिक रूपमा सञ्चालनमा आएको छ। फाउन्डेसनले आफ्नो वेबसाइट सार्वजनिक गर्दै विशेषगरी अवसरबाट वञ्चित तथा कम प्रतिनिधित्व भएका देश र समुदायका सिर्जनशील व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अभियान सुरु गरेको हो।
फाउन्डेसनको संस्थापक मोहम्मद अक्रम हुसेन हुन्। उनी बंगलादेशको ढाकास्थित पपफाइभ (POP5) का प्रमुख क्रिएटिभ अफिसरसमेत हुन्। विज्ञापन तथा सिर्जनशील क्षेत्रका अन्तर्राष्ट्रिय प्रतियोगितामा २७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका हुसेनले सिर्जनशील प्रतिभा र अवसरबीचको दूरी कम गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हुन्।
उनका अनुसार विश्वका विभिन्न देशमा प्रतिभाशाली सिर्जनशील व्यक्तिहरू भए पनि आर्थिक अवस्था, अन्तर्राष्ट्रिय पहुँच, व्यावसायिक सञ्जाल तथा अवसरको अभावका कारण उनीहरूले आफ्नो क्षमता विश्वसामु प्रस्तुत गर्न पाइरहेका छैनन्। विशेषगरी विकासशील तथा कम प्रतिनिधित्व भएका देशका विज्ञापन एजेन्सी र सिर्जनशील व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन आर्थिक तथा व्यावसायिक चुनौती रहेको उनको भनाइ छ।
फाउन्डेसनको संस्थापक सल्लाहकार बोर्डमा ३८ देशका ४८ जना सिर्जनशील क्षेत्रका अनुभवी व्यक्तित्व समेटिएका छन्। पाँच महादेशका विज्ञहरूको सहभागिता रहेको उक्त बोर्डमा नेपालबाट आउटरीच नेपालका संस्थापक तथा ‘ब्रान्डसूत्र’ र ‘ब्रान्डसूत्र २.०’ पुस्तकका लेखक उजया शाक्य सहभागी भएका छन्।
विज्ञापन तथा ब्रान्ड निर्माण क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका शाक्यले नेपाली सिर्जनशील क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्च र अवसरसँग जोड्न योगदान पुर्याउने अपेक्षा गरिएको छ। उनले विश्वव्यापी विज्ञापन तथा सिर्जनशील उद्योगका अनुभवी व्यक्तिहरूसँग सहकार्य गर्दै नयाँ पुस्ताका प्रतिभालाई मार्गदर्शन गर्नेछन्।
छवटा प्रमुख कार्यक्रममार्फत विश्वव्यापी अभियान
ग्लोबल क्रिएटिभ फाउन्डेसनले सिर्जनशील क्षेत्रका विभिन्न चुनौतीलाई सम्बोधन गर्न छवटा आपसमा जोडिएका कार्यक्रम अघि सारेको छ।
पहिलो कार्यक्रम ‘ग्लोबल क्रिएटिभ काउन्सिल’ अन्तर्गत स्वतन्त्र विज्ञापन एजेन्सी, फ्रीलान्सर, इनहाउस टिम तथा उत्पादन स्टुडियोलाई अन्तर्राष्ट्रिय स्तरको विज्ञता, मूल्याङ्कन र व्यावसायिक सुझाव उपलब्ध गराइनेछ। यसअन्तर्गत अन्तर्राष्ट्रिय निर्णायक समूहले सिर्जनशील कामको मूल्याङ्कन गरी आवश्यक सुझाव दिने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि योग्य परियोजना सिफारिस गर्नेछ।
त्यस्तै, ‘क्रिएटिभ क्लान्स’ नामक कार्यक्रममार्फत कला, फोटोग्राफी, लेखन, चित्रकला, मिम्स तथा अन्य सिर्जनात्मक विधामा प्रतिस्पर्धा आयोजना गरिनेछ। कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभावबीच मानवीय सिर्जनशीलता, मौलिक सोच र कल्पनाशक्तिलाई प्रोत्साहन गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
‘ग्लोबल क्रिएटिभ स्कुल’ मार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूबाट अनलाइन कक्षा, मास्टरक्लास, कार्यशाला तथा मेन्टरसिप उपलब्ध गराइनेछ। साथै, सहभागी देशहरूमा सिर्जनशील व्यक्तिहरूलाई मार्गदर्शन गर्न विशेष प्रशिक्षकको व्यवस्था गर्ने योजना छ।
यसैगरी, ‘ग्लोबल क्रिएटिभ बिएनाले’ मार्फत प्रदर्शनी, छलफल, कार्यशाला, सांस्कृतिक सम्पदा तथा सिर्जनशील कार्यक्रम आयोजना गरिनेछ। यसको पहिलो संस्करण श्रीलंकामा आयोजना गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ।
‘ग्लोबल क्रिएटिभ स्कलरसिप’ कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका तर सिर्जनशील क्षेत्रमा सम्भावना बोकेका व्यक्तिहरूलाई कम्प्युटर, सिर्जनशील उपकरण, एडोबी सफ्टवेयर तालिम, इलस्ट्रेसन कोर्स तथा नयाँ प्रविधिसम्बन्धी शिक्षामा सहयोग उपलब्ध गराइनेछ।
त्यस्तै, ‘विबनेक्स’ (Wibnex) कार्यक्रममार्फत महिला उद्यमीलाई विज्ञापन एजेन्सी, मार्केटिङ विशेषज्ञ, सिर्जनशील क्षेत्रका विज्ञ तथा मेन्टरहरूसँग जोडिनेछ। यस कार्यक्रमले ब्रान्डिङ, मार्केटिङ, मिडिया खरिद, व्यावसायिक रणनीति तथा सामाजिक सञ्जालमार्फत व्यापार विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।
फाउन्डेसनले विश्वभरका अनुभवी सिर्जनशील व्यक्तित्व, विज्ञापन व्यवसायी, शिक्षक, प्रशिक्षक, एजेन्सी तथा संस्थाहरूलाई आफ्नो अभियानमा जोडिन आह्वान गरेको छ। इच्छुक व्यक्तिहरूले सल्लाहकार बोर्ड, अन्तर्राष्ट्रिय निर्णायक समूह तथा प्रशिक्षकका रूपमा सहभागी हुन सक्नेछन्।
प्रतिभा कुनै भूगोल, आर्थिक अवस्था वा अवसरको सीमाभित्र रहनु हुँदैन भन्ने मान्यताका साथ स्थापना भएको ग्लोबल क्रिएटिभ फाउन्डेसनले विश्वभरका सिर्जनशील प्रतिभालाई पहिचान, विकास र अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्य राखेको छ।
फाउन्डेसनका कार्यक्रम तथा सहभागितासम्बन्धी थप जानकारी यसको आधिकारिक वेबसाइट globalcreativefoundation.org मा उपलब्ध रहेको छ।











प्रतिक्रिया