प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारीमा फेरबदल गरेका छन्। सचिवालय सदस्यहरूको कार्यसम्पादनलाई आधार बनाउँदै प्रधानमन्त्री शाहले पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिएका हुन्।

नयाँ जिम्मेवारी बाँडफाँटअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ। यसअघि पाण्डेले विकास परियोजना तथा गिरीले कार्यक्रम एवं भ्रमण समन्वयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यस्तै, यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत विशाल अधिकारीलाई सहसचिव सरहको जिम्मेवारीमा पदोन्नति गर्दै सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी सम्हाल्दै आएकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक तोकिएको छ। नयाँ संरचनामा छुट्टै अनुसन्धान विज्ञको पद भने राखिएको छैन।

विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। उनले यसअघि सम्हाल्दै आएको सामाजिक विकाससम्बन्धी कार्यक्षेत्रलाई निरन्तरता पाएका हुन्।

यसैगरी, सचिवालयमा पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा उपलब्ध हुने गरी उपसंयोजकको जिम्मेवारी दिइएको छ। सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजक तोकिएको छ।

यसअघि सहसचिव सरहको सेवा सुविधा पाउने गरी सूचना प्रविधि विज्ञका रूपमा नियुक्त माधव खनाल भने सचिवालय सदस्यको नयाँ सूचीमा समावेश छैनन्। उनलाई सचिवालयबाट हटाइएको बताइएको छ।

सचिवालयका उच्च तहका अन्य पदाधिकारीहरूको जिम्मेवारी भने यथावत् राखिएको छ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकार असिम शाह र मन्त्री सरहको सेवा सुविधा पाउने स्वास्थ्य सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवाल आ–आफ्नो जिम्मेवारीमा कायम रहेका छन्।

सचिवालयको नयाँ कार्यविभाजनसँगै विकास निर्माण, मन्त्रालयगत समन्वय, सरकारी योजना, स्वास्थ्य, सामाजिक विकास तथा सञ्चार व्यवस्थापनका कामलाई छुट्टाछुट्टै जिम्मेवारीमार्फत अघि बढाउने व्यवस्था गरिएको छ।