काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य भएका ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको जनाएको छ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट सटही तथा जम्माका लागि प्राप्त भएका विभिन्न दरका पुराना तथा प्रयोग गर्न अयोग्य नोटहरू धुल्याएर ब्रिकेट बनाइएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८३ असार मसान्तसम्म संकलन भएका त्यस्ता नोटहरू निर्धारित प्रक्रियाअनुसार नष्ट गरिएको हो।
यसैबीच, मुलुकमा चलनचल्तीमा रहेका नोटको परिमाणसमेत बढेको छ। २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भएको छ।
यो वृद्धिसँगै चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।
पुराना तथा प्रयोग गर्न अयोग्य नोट नष्ट गर्ने कार्य राष्ट्र बैंकको नियमित मुद्रा व्यवस्थापन प्रक्रियाअन्तर्गत पर्दछ। यस प्रक्रियाबाट चलनचल्तीमा रहेका नोटको गुणस्तर कायम राख्न र मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गर्दछ।







तपाईंको विचार लेख्नुहोस्