एएमआर नियन्त्रणमा सबै क्षेत्रबीच सहकार्य आवश्यक


काठमाडौं ।

एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाहरूले मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरण क्षेत्रबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन स्वास्थ्य पत्रकार मञ्च नेपाल, ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको सहकार्यमा आयोजित ‘एएमआर र मिडियाको भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् । उनीहरूले एएमआर साझा चुनौती भएकाले यसको नियन्त्रणमा सबै क्षेत्र र नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए । चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक प्रयोग गर्ने तथा औषधि जथाभावी सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एएमआरको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेको बताए । कृषि तथा पशुपालन क्षेत्रमा समेत एन्टीबायोटिक औषधि प्रयोग हुने भएकाले यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले एन्टीबायोटिक औषधिको पूरा मात्रा सेवन नगर्ने र आफूखुसी औषधि किनेर खाने प्रवृत्ति अझै कायम रहेको बताइन् । यस्तो व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले जनचेतना अभिवृद्धि, नीतिगत समस्या पहिचान र सुधारका लागि सञ्चारमाध्यमले पैरवी तथा निगरानी गर्नुपर्नेमा जोड दिइन् ।

विश्व स्वास्थ्य संगठन नेपालका कार्यवाहक प्रमुख डा. एलिसन गोकाटानोले एएमआरको जोखिम सबै व्यक्तिमा रहने भएकाले यसको प्रभाव कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रमा मात्र सीमित नहुने बताए । एएमआर नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको उनको भनाइ थियो ।

ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबैको साझा एजेन्डा बनाउनुपर्ने बताइन् । यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनले उल्लेख गरिन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले एएमआर बहुपक्षीय सवाल भएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्र मिलेर सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । स्वास्थ्य पत्रकारहरूले एएमआरसम्बन्धी रिपोर्टिङ अभियानका बेला मात्र नभई नियमित रूपमा गर्दै आएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा एएमआरसम्बन्धी विषयमा उत्कृष्ट लेखन तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने पत्रकारलाई सम्मानसमेत गरिएको थियो । यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनमा कार्यरत पत्रकार सागर बुढाथोकीले प्राप्त गरेका छन् । उनले १५ हजार रुपैयाँ नगदसहित अवार्ड प्राप्त गरेका हुन् ।

त्यसैगरी स्पेसल मेन्सन अवार्डबाट गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापा सम्मानित भएका छन् । उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरले प्रदान गरेको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालकी एएमआर फोकल पर्सन डा. पल्पसा कंसाकार, एफएओका लाइभस्टक एन्ड वान हेल्थ एडभाइजर डा. सुरेन्द्र कार्की, स्वास्थ्य मन्त्रालयकी शिवानी खड्गी र ग्लोबल एएमआर मिडिया अलायन्स नेपाल च्याप्टरकी कल्पना आचार्यले आआफ्ना प्रस्तुति दिएका थिए ।

एन्टीमाइक्रोबियल औषधिले पहिले प्रभावकारी रूपमा नष्ट गर्ने सूक्ष्म जीवाणुलाई मार्न नसक्ने वा तिनको वृद्धि रोक्न नसक्ने अवस्था सिर्जना हुनुलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध भनिन्छ । यसको प्रभाव मानव स्वास्थ्यमा मात्र नभई पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य सुरक्षासँग समेत जोडिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ब्याक्टेरियाजन्य एन्टीमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वभर प्रत्येक वर्ष ४७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । यसको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालिए सन् २०५० सम्ममा एएमआरका कारण मृत्यु हुनेको संख्या ३ करोड ९० लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यसले विश्व अर्थतन्त्रमा समेत वार्षिक अर्बौं अमेरिकी डलर बराबरको क्षति पुर्‍याउन सक्ने देखिएको छ । यसको जोखिम न्यून तथा मध्यम आय भएका देशहरूमा अझ बढी रहने बताइएको छ ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेजिस्टेन्स सचेतना सप्ताह मनाइन्छ । यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ सप्ताह मनाइँदैछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।