७७ वर्षपछि कार्तिक नाचमा

फर्कियो माधवानर लीला


७७ वर्षदेखि मञ्चन हुन नसकेको कार्तिक नाचअन्तर्गतको ऐतिहासिक नृत्यनाटक माधवानर लीला ४ दिनको मञ्चनसँगै मंगलवार सम्पन्न भएको छ। पाटन दरबार क्षेत्रस्थित मंगलबजारको कार्तिक डबलीमा ७७ वर्षपछि पुन: प्रस्तुत गरिएको यो लीलाले कार्तिक नाचको पुरानो नाट्य परम्परालाई ब्युँताएको छ।

मल्लकालीन कला, संगीत र नाट्य परम्पराको महत्वपूर्ण धरोहर मानिने कार्तिक नाचअन्तर्गत माधवानर लीला विद्वान् संगीतज्ञ माधवानर र नर्तकी कामकन्दलाको प्रेम, वियोग र पुनर्मिलनको कथामा आधारित छ। २००६ सालमा अन्तिमपटक मञ्चन भएको यो लीला २००७ सालको राजनीतिक परिवर्तनपछि प्रदर्शन हुन छाडेको थियो।

४ दिनसम्म प्रस्तुत गरिएको लीलामा राजा गोपीचन्द्र, राजा कामसेन, देवी र राजा विक्रमादित्यका कथालाई क्रमश: समेटिएको थियो। पहिलो दिन पुष्पावती राज्यका राजा गोपीचन्द्रको शासनकालमा रहेका प्रतिभाशाली संगीतकार माधवानरको कथा मञ्चन गरिएको थियो। माधवानरको संगीत र गायनबाट मोहित महिलाहरूले घरायसी जिम्मेवारी बिर्सन थालेपछि जनगुनासो राजदरबारसम्म पुगेको र क्रोधित राजा गोपीचन्द्रले उनलाई राज्य निकाला गरेको प्रसंग पहिलो दिनको प्रस्तुतिमा समेटिएको थियो।

दोस्रो दिन राजा कामसेनको कथा, तेस्रो दिन माधवानर लीलाको देवी प्याख (नाच) र चौथो तथा अन्तिम दिन उज्जयिनीका राजा विक्रमादित्यको कथा प्रस्तुत गरिएको थियो। राजा विक्रमादित्यले आप्mनो राज्यमा आएका माधवानरलाई प्रेमिका कामकन्दलासँग पुनर्मिलन गराइदिएको दृश्यसँगै नाटक समापन भएको थियो। नृत्यनाटकमा अभिनयसँगै गीत, संगीत, नृत्य र संवादको संयोजन रहेको थियो।

लामो समयदेखि मञ्चन हुन नसकेको माधवानर लीला पुन: प्रस्तुत गरिएसँगै यस वर्ष कार्तिक नाचको अवधि १२ दिन पुर्‍याइएको छ। नेपाल संवत् ७६१ (वि.सं. १६९७) मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि कार्तिक नाच सुरु गरेका थिए। सुरुमा ५ दिन प्रदर्शन गरिने यो नाच उनका छोरा श्रीनिवास मल्ल र नाति योगनरेन्द्र मल्लको पालामा विभिन्न लीला थपिँदै २७ दिनसम्म पुगेको थियो। माधवानर लीला यही मल्लकालीन नाट्य परम्पराको अभिन्न हिस्सा रहेको कार्तिक नाचका मूलगुरु उत्तमरत्न शाक्यले बताए।

यसअघि सामान्यतया ८ दिनसम्म सञ्चालन हुँदै आएको कार्तिक नाचमा ऐतिहासिक नाट्य परम्परा संरक्षणका दृष्टिले माधवानर लीला पुन: प्रस्तुत गर्नु महत्वपूर्ण रहेको कार्तिक नाच संरक्षण समितिका प्रचारप्रसार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए। पुराना नृत्यनाटकलाई पुनर्जीवन दिँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासका रूपमा यो प्रस्तुति गरिएको उनले बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।