–खोकना–डुकुछापको जग्गा विवाद समाधानपछि बाँकी काम अघि बढ्ने
मकवानपुर, महादेवटार ।
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणअन्तर्गत महादेवटार सुरुङमा बुधवार ब्रेकथ्रु भएको छ । राष्ट्रिय गौरवको आयोजनाको महत्वपूर्ण सुरुङ निर्माण सम्पन्न भएसँगै राजधानी काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने देशकै पहिलो द्रुतमार्ग निर्माणले थप गति लिएको छ । चार किलोमिटरभन्दा लामो यस सुरुङको ब्रेकथ्रुले नेपालको आधुनिक यातायात पूर्वाधार विकासमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ ।
सुरुङ ब्रेकथ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि नेपालको यातायात प्रणालीमा आमूल परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ र तराई–मधेसबीचको दूरी तथा यात्रा समय घटाउने मात्र नभई आर्थिक, सामाजिक रूपान्तरण, व्यापारिक गतिविधिको विस्तार र राष्ट्रिय एकता सुदृढ बनाउन यस आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले आफूले यो परियोजना तीनपटक अवलोकन गरिसकेको पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले विकट भौगोलिक अवस्था, जटिल भूगर्भिक बनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका पूर्वाधार निर्माणमा नेपाली सेनाले प्रदर्शन गरेको दक्षता, कार्यकुशलता र समर्पण प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । ट्र्याक निर्माणदेखि आधुनिक प्रविधिमा आधारित सुरुङ तथा पुल निर्माणसम्म सेनाले देखाएको सक्रियताले आयोजना कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो । ७१ किलोमिटर लामो द्रुतमार्ग सम्पन्न भएपछि यात्रा समय, इन्धन खपत तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्च घट्ने उहाँले बताउनुभयो ।
निर्माणकर्ता चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधि वाङ झीले जटिल भूगर्भीय अवस्था, वर्षायामको कठिनाइ तथा सुरक्षा र गुणस्तर नियन्त्रणका चुनौतीबीच निर्माण कार्य अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार निर्माण टोलीले सुरक्षालाई प्राथमिकतामा राख्दै प्राविधिक कठिनाइ र निर्माण जोखिम समाधान गरेको थियो । आवश्यकताअनुसार निर्माण योजना परिमार्जन गरी निर्धारित गुणस्तर र परिमाण सुनिश्चित गर्दै सुरुङको सुरक्षित ब्रेकथ्रु हासिल गरिएको उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा दक्षिण कोरियाका राजदूत जे कियुङ पार्टले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउन द्रुतमार्गजस्ता पूर्वाधार आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले दुई देशबीच ज्ञान, प्रविधि र सीप आदानप्रदानको अवसर विस्तार गर्न यस्ता आयोजना उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वाधार विकाससँगै अन्तर्राष्ट्रिय सहकार्य र प्राविधिक अनुभव साटासाटले नेपाल–कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने उहाँको भनाइ थियो ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले राष्ट्रिय गौरवका आयोजनामा समयमै काम सम्पन्न गर्ने निर्माण पक्षलाई प्रोत्साहन गरिने र अधुरा ठेक्का ओगटेर काम नगर्ने निर्माण व्यवसायीलाई छुट नदिइने बताउनुभयो । आगामी ठेक्का व्यवस्थापनमा नेपाली सेनालाई जिम्मेवारी दिने विषयमा जोड दिँदै उहाँले महादेवटार सुरुङ निर्माण निर्धारित प्रक्रियाअनुसार तीव्रताका साथ अघि बढ्नुमा सेनाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
आयोजना प्रमुख भरतलाल श्रेष्ठले द्रुतमार्गको खोकना–डुकुछाप खण्डमा करिब ६.५ किलोमिटर क्षेत्रमा रहेको जग्गासम्बन्धी विवाद समाधान भएपछि बाँकी निर्माण कार्य अघि बढ्ने बताउनुभयो । आयोजनाको अन्तिम खण्डमा देखिएको जग्गा विवाद समाधानलाई समग्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ ।
द्रुतमार्गमा सात स्थानमा जोडी सुरुङ रहेका छन् । पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु सम्पन्न भइसकेको छ भने अन्य सुरुङ निर्माणाधीन छन् । आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । करिब ४.३४५ किलोमिटर लामो केटीएफटी–१ निर्माण खण्डमा दोहोरो चार लेनको सडक, छुट्टाछुट्टै दुईवटा सुरुङ बोर र चारवटा ठूला पुल निर्माण भइरहेका छन् । यस खण्डको सुरुङको बायाँ बोर ३.४८६ किलोमिटर र दायाँ बोर ३.४२२ किलोमिटर लामो छ । दुवै सुरुङको भित्री क्लियरेन्स ११ मिटर चौडा र पाँच मिटर अग्लो रहनेछ भने यस खण्डमा २००, २००, ४०४ र ४३० मिटर लम्बाइका चारवटा पुल निर्माण गर्ने योजना छ ।
टनेल इन्जिनियर निर्मलमणि जोशीका अनुसार फास्ट ट्र्याक सञ्चालनमा आएपछि हाल पृथ्वी राजमार्ग हुँदै तराईबाट काठमाडौँ आउन लाग्ने करिब ६ देखि ७ घण्टाको समय घटेर दुईदेखि तीन घण्टामा सीमित हुने अपेक्षा गरिएको छ । यसले तराईमा उत्पादन हुने तरकारी, फलफूल, खाद्यान्नलगायत कृषि उपज काठमाडौँको बजारमा छिटो पुर्याउन सहयोग गर्नेछ । ढुवानी लागत र समय घट्दा किसान, उत्पादक, व्यवसायी तथा उपभोक्ता सबै लाभान्वित हुने उहाँको भनाइ छ ।
नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको आयोजनामा निर्माण भइरहेको द्रुतमार्गको निर्माणकर्ता चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड हो । द्रुतमार्ग पूरा भएपछि काठमाडौँ र तराई–मधेसबीचको आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन, पारवहन र समग्र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।








तपाईंको विचार लेख्नुहोस्