मुगु जिप दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते

0
Shares

कालिकोट  ।

 मुगुमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको  हाईलक्स जिप आइतबार दिउँसो दुर्घटना हुँदा काठमाडौँ कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको हो । त्यस्तै, ललितपुरकी ५४ वर्षीय अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् ।

मुगु छायानाँथ रारा नगरपालिका–७ टोप्ला स्थित ताल्चा रारा कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको हाईलक्स गाडी दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । 

हाइलक्स गाडी अचानक सडकबाट अन्दाजी ६ सय मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रबिराज थपलियाले जानकारी गराएका छन् ।   

उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको डिएसपी थपलियाले बताए । उनका अनुसार चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।