वीरगन्ज–पथलैया औद्योगिक क्षेत्र लोडसेडिङमुक्त हुन सकेन



कृष्णउदास खनाल, वीरगन्ज

सरकारले वीरगन्ज–पथलैया क्षेत्रमा रहेका उद्योगहरूको समस्यालाई दृष्टिगत गरी उद्योग क्षेत्रलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरे पनि यो व्यवहारमा लागू नहँुदा स्थानीय व्यवसायीले सास्ती झेल्नु परेको गुनासो गरेका छन्।

काठमाडौंबाहिर नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र वीरगन्जअन्तर्गत वीरगन्ज र पथलैया औद्योगिक कोरिडोर क्षेत्रका साना ठूला सबै गरी २० वटा फिडरबाट विद्युत् प्रवाह गर्दै आइरहेको भए पनि लोडसेडिङ अन्त्य नभएको यहाँका व्यवसायीहरू बताउँछन्। विद्युत्को प्रवाह कति बजेदेखि कति बजेसम्म गर्ने र कति बेला विद्युत् काट्ने भन्ने नयाँ समय तालिका विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा अझै नआएको केन्द्रले जनाएको छ। तालिका केन्द्रबाट नै आउने गरेको वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो। ६ महिना पहिलेकै समय तालिकाअनुसार विद्युत् काटिँदै आएको उहाँले जानकारी दिनुभयो।

‘पिक आवर’ मा हरेक दिन तीन⁄चार घण्टा विद्युत्को लाइन काट्न आफूहरू बाध्य रहेको भन्दै उहाँले गर्मीमा पंखा, फ्रिजलगायतका सामान अझ बढी चल्ने भएकाले पनि थप विद्युत् माग हुने गरेको बताउनुभयो। बारा–पर्सामा अवस्थित औद्योगिक कोरिडोर र दुवै जिल्लाका सदरमुकाममा हरेक दिन अझै पनि विद्युत् लोडसेडिङ हुँदै आएको विद्युत् वितरण केन्द्र वीरगन्जको स्वीकारोक्ति छ।

ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने यस क्षेत्रमा गत १० माघसम्ममा नै विद्युत् आपूर्ति नियमित गर्ने घोषणा गरेका थिए। पर्साको ठोरीमा पनि कुल १४ सय घरधुरीमध्ये ३ सय ८० घरधुरीमा मात्र बलेको बत्ती केही समयमा १४ सय घरधुरीमा नै पुर्याउने प्रतिबद्धता मन्त्रीबाट व्यक्त भए पनि अझै १ हजार २० घरमा बिजुली पुग्न नसकेको पनि ठोरीका स्थानीयबासी रामप्रसाद ढुंगानाले बताउनुभयो। मन्त्री स्वयम्ले १५ दिनमा विद्युत् नकाटिने आश्वासन दिएको भए पनि चार महिना बितिसक्दा पनि लोडसेडिङ नहटेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा दुई तीनपटक काठमाडौं गएर नै ऊर्जामन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्