रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु


काठमाडौं।

रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसी राज्य सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार भएको दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको जनाएको हो।

मन्त्रालयका अनुसार नियमित उडानका क्रममा रुसको केमेरोभो क्षेत्रमा एएन–१२ (An-12) सैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

स्थानीय गभर्नर इल्या सेरेड्युकका अनुसार विमान यागुनोभो गाउँनजिकै सुनसान क्षेत्रमा खसेको थियो। दुर्घटनापछि घटनास्थलमा पुगेका आपत्कालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिएका थिए भने प्रहरीले क्षेत्रलाई घेरा हालेर अनुसन्धान अघि बढाएको थियो।

घटनास्थलको निरीक्षण गरेका गभर्नर सेरेड्युकले हेलिकप्टर तथा आवश्यक चिकित्सा सुविधा तयारी अवस्थामा राखिएको बताएका छन्। उनका अनुसार अहिले अनुसन्धानकर्तालाई आवश्यक सहयोग उपलब्ध गराउनु प्राथमिकता रहेको छ।

गभर्नरले अग्निनियन्त्रकहरूले विमानको भग्नावशेष खोजिरहेको भिडियोसमेत सार्वजनिक गरेका छन्। घटनास्थलनजिकै उद्धारका लागि एम्बुलेन्सहरू पनि तयारी अवस्थामा राखिएका थिए।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा आकाशबाट चम्किलो वस्तु खसेको देखिएको छ। यद्यपि, दूरी टाढा भएकाले विमान जमिनमा ठोक्किएको दृश्य स्पष्ट देखिएको छैन।

बीबीसी र समाचार एजेन्सी रोयटर्सले उक्त फुटेजको मिति र समय पुष्टि गरेका छन्। रोयटर्सले घटनास्थल वरपरका तस्बिरलाई उपग्रह तस्बिरसँग तुलना गरेर दुर्घटनास्थलको स्थानसमेत पुष्टि गरेको जनाएको छ।

दुर्घटनाग्रस्त विमानमा कुनै कार्गो राखिएको थियो वा थिएन भन्नेबारे भने हालसम्म स्पष्ट भएको छैन।

रुसले एएन–१२ विमानलाई सैन्य प्रयोजनका लागि हतियार तथा सैनिक सामग्री ढुवानी गर्न प्रयोग गर्दै आएको छ। यसका साथै खोज तथा उद्धार कार्यमा समेत उक्त विमान प्रयोग हुने गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।