काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र सुदूरपश्चिम रोयल्सका खेलाडी डा. इशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
मैदानमा छक्का र विकेटले चिनिएका नेपाली क्रिकेटर अब नेपालको पर्यटनलाई विश्वसामु चिनाउने नयाँ भूमिकामा देखिएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष डा. उमेश गुप्ता र इशानले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो साझेदारी औपचारिक रूपमा सुरु भएको हो । सम्झौताअनुसार इशानले कम्पनीका विभिन्न ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र पर्यटन क्षेत्रलाई एकसाथ जोड्दै देशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । खेल र पर्यटन दुवैले नेपालको पहिचान बनाउँदै गरेको समयमा दुई क्षेत्रको यस्तो संगमलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सम्झौतापछि बोल्दै अध्यक्ष गुप्ताले इशानलाई नेपाली क्रिकेटमा अनुशासन, ऊर्जा र राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्ने खेलाडी भन्दै उनलाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । इशानले पनि कम्पनीसँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँदै नेपालको पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धता जनाए। थ्री वे ग्लोबलले व्यवस्थापन गरेको सो कार्यक्रममा क्रिकेट र पर्यटनका सरोकारवालाको उपस्थिति रहेको थियो । २७ वर्षभन्दा लामो अनुभव बटुलेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटनसम्बन्धी सेवा दिँदै आएको छ ।








तपाईंको विचार लेख्नुहोस्