समाजसेवी राजभाई प्रधानले बनाइदिए शिर मेमोरियल अस्पतालमा चारतले भवन


काभ्रे।

बनेपास्थित शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालका लागि निर्माण गरिएको चारतले बहिरङ्ग (ओपीडी) भवन उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सोही अवसरमा अस्पतालमा डायलाइसिस सेवासमेत शुभारम्भ गरिएको छ ।
बनेपाका समाजसेवी राजभाई प्रधानले आफ्नै व्यक्तिगत खर्चमा निर्माण गरिदिएको उक्त पक्की भवन अस्पताललाई हस्तान्तरण गरिएको हो। अस्पतालले सो भवनबाट बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । भवन उद्घाटन गर्दै मुख्यमन्त्री किरण थापा मगरले जिल्लाकै पुरानो अस्पताल शिर मेमोरियलले स्वास्थ्य सेवा विस्तारका लागि गरेको प्रयासको प्रशंसा गरे । उनले अस्पतालको सेवा विस्तारका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अस्पतालका निमित्त प्रमुख डा. एन्जेला बस्नेतले बागमती प्रदेश सरकारले अस्पताललाई गर्दै आएको सहयोग र अस्पतालबाट प्रवाह भइरहेका सेवाबारे जानकारी गराइन् । उनले अस्पतालको सेवा विस्तार तथा प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकारसँगको समन्वय आवश्यक रहेको बताइन् ।

भवनका दाता राजभाई प्रधानले धनभन्दा पनि मन ठूलो हुने बताउँदै सामाजिक सेवामा सबैले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने धारणा राखे । सम्पत्ति भएर पनि जीवनको अन्त्यमा केही साथमा नलैजाने भएकाले हुनेखाने व्यक्तिहरूले सामाजिक कार्यमा लगानी गर्दा त्यसको लाभ समाजले पाउने उनले बताए । प्रधानले आफ्ना बुबा जनकलाल प्रधान, आमा अक्कलकुमारी प्रधान तथा जीवनसङ्गिनी दिव्यलक्ष्मी (मथुरा) प्रधानको स्मृतिमा शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालका लागि ओपीडी भवन निर्माण गरिदिएको जानकारी दिए । ९१ वर्षीय तप्तराज वन्त उनका मामा हुन्। भवनको शिलान्यास २०८१ साल कात्तिक २१ गते गरिएको थियो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनबाट चाँडै सेवा सुरु गरिने अस्पतालका निमित्त प्रमुख डा. बस्नेतले जानकारी दिइन् ।

अस्पतालका लागि भवन निर्माण गर्ने क्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, राजु सरकार तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेक्टर गायरस लगायतले सहयोग गरेको प्रधानले बताए । कार्यक्रममा सङ्घीय सांसद बदनकुमार भण्डारी, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, विभिन्न वडाका अध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।