काठमाडौं ।
काठमाडौंको जयबागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १ गते दिउँसो करिब २ः३० बजे घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो । खोजतलास तथा अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा फेला परेका डंगोललाई नियन्त्रणमा लिएर उनको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सामान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट पुरानो ढाँचाका तामाका भाँडाकुँडा, चाँदीजस्तो देखिने सिक्का, गहना, विभिन्न मूर्ति तथा अन्य सामग्री बरामद गरेको छ ।
त्यसैगरी, १ लाख ९६ हजार ६ सय ७१ भारतीय रुपैयाँ र ४९ हजार १ रुपैयाँ नेपाली नगदसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डंगोललाई चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्