मिशराले बनाए एनपीएलकै उच्चतम रन

चितवन क्वालिफायर २ मा


चितवन राइनोजका कमिल मिशराले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् इलिमिनेटर खेलमा सानदार ब्याटिङ प्रस्तुत गरेका छन् । मिशराले अन्तिमसम्म क्रिजमा रहेर १ सय २० रनको नटआउट आक्रमक इनिङ खेलेका हुन् ।

मिशराले कूल ५९ बलको सामना गर्दै १० छक्का र ५ चौका प्रहार गरेका हुन् । उनले अन्तिम ओभर फ्याल्न आएका काठमाडौं गोर्खाजका बलर करण केसीको बलिङमा समेत २ छक्का र १ चौका प्रहार गरे ।

५३ बलमै शतक प्रहार गरेका मिशरा नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा व्यक्तिगततर्फ उच्चतम रन बनाउने खेलाडीसमेत बनेका छन् । सिजन २ मा कर्णाली याक्सका मार्क वाटले बनाएको १ सय १४ रनको रनलाई उनले पछि पारेका हुन् ।

हालसम्म एनपीएलमा पाँच खेलाडीले शतक बनाइसकेका छन् । पहिलो शतक प्रहार गर्ने अमेरिकाका एन्ड्रिज गौस हुन् । सिजन १ मा पोखरा एभेन्जर्सबाट खेलेका गौसले १ सय ४ रनको नटआउट इनिङ खेलेका थिए । यो सिजन १ को एक मात्र शतक थियो ।

यसपछि सिजन २ मा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सका एडाम रोसिंगटनले शतक प्रहार गरेका थिए । वाटले १ सय १४ रन र रोसिंगटनले १ सय ८ रन बनाएका थिए ।

हाल जारी सिजन ३ मा पनि दुई खेलाडीले मात्रै शतक प्रहार गरेका छन् । मिशराले शतक प्रहार गर्नुअघि युवराज सिंह सामराले शतक प्रहार गरेका हुन् । पोखरा एभेन्जर्सबाट खेलेका युवराजले कर्णाली याक्सविरुद्ध १ सय २ रन बनाएका हुन् ।

चितवन क्वालिफायर २ मा

चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले हराएर एनपीएलको सिजन ३ अन्तर्गत् क्वालिफायर २ मा पुगेको छ । २ सय ५ रनको ठूलो लक्ष्य पछ्याएको काठमाडौं ९ विकेटको क्षेतिमा १ सय ४३ रनमा सीमित भएको थियो । टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए भने भिम सार्कीले १७ बलमा ३० रन जोडे । अन्य ब्याटरले भने निरासजनक ब्याटिङ गरेका थिए । चितवनका बलरमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिएका थिए ।

यसअघि मिशराको विस्फोटक शतकको सहयोगमा चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षेतिमा २ सय ४ रन बनाएको थियो । जसमा, मिशराले १ सय २० रन जोड्दा रवि बोपाराले ५३ रनको योगदान दिए । २२ रनका लागि दोस्रो विकेट गुमेपछि मिशरा र इंग्लिस ब्याटर बोपाराले तेस्रो विकेटका लागि १ सय ५४ रनको शतकीय साझेदारी गरेका थिए ।

चितवनले फाइनल पुग्नको लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । अघिल्लो दिन क्वालिफायर १ मा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम ६ विकेटले हारेको थियो । गत संस्करणको विजेता लुम्बिनी भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।