पाँचौँ अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी काठमाडौंमा शुरु

५०० प्रजातिको प्राकृतिक सम्पदा, व्यावसायिक सम्भावना खोज्दै नेपाल


काठमाडौं

ताइवान, थाइल्यान्ड, दक्षिण कोरिया र चीनपछि पाँचौँ अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। प्राकृतिक रूपमा ५०० भन्दा बढी प्रजातिका अर्किड पाइने भए पनि यसको वैज्ञानिक अनुसन्धान, संरक्षण र व्यावसायिक उत्पादनको सम्भावना अपेक्षित रूपमा उपयोग हुन सकेको छैन। यही सम्भावनालाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग जोड्ने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय सुनाखरी गोष्ठीको आयोजना गरिएको हो। आगामी शुक्रबारसम्म चल्ने गोष्ठीको मुख्य आकर्षणको रुपमा स्थानीय तथा आयातित सुनाखरी प्रदर्शनी र सुनाखरी कला कार्यशाला पनि संचालन गरिएको छ।

अन्नपूर्ण रिसर्च सेन्टर, अन्तर्राष्ट्रिय बागवानी विज्ञान समाज (आइएसएचएस) तथा त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा सुनाखरी उत्पादकहरूको सहभागी रहने बताइएको छ। ‘अर्किड्स फर प्रोस्पेरिटी’ अर्थात ‘समृद्धिका लागि सुनाखरी’ विषयमा केन्द्रित गोष्ठीमा नेपालको जैविक विविधता, सुनाखरीको प्राकृतिक वासस्थान संरक्षण, वैज्ञानिक अनुसन्धान, औषधीय सम्भावना तथा व्यावसायिक उत्पादनका विषयमा छलफल हुने आयोजकले जनाएको छ। गोष्ठीमा २५ नेपाली तथा ४२ अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताका ४१ मौखिक र २६ पोस्टर प्रस्तुति गरी ६७ वटा वैज्ञानिक अनुसन्धान प्रस्तुति समावेश रहेको बताइएको छ। आयोजका अनुसार गोष्ठीमा सुनाखरीको जैविक विविधता, वर्गीकरण, आनुवंशिक अनुसन्धान, प्राकृतिक वासस्थान संरक्षण, जलवायु परिवर्तनको प्रभाव, आधुनिक जैविक प्रविधि, टिस्यु कल्चर, औषधीय सम्भावना तथा व्यावसायिक उत्पादनका विषयमा छलफल हुनेछ।

नेपालमा पहिलो पटक आयोजना गरिएको सुनाखरी प्रदर्शनीमा व्यापारिक स्टलहरुका साथै एक सयभन्दा बढी रैथाने सुनाखरीहरू प्रदर्शनीमा राखिएको सहआयोजक अर्किड फ्लोरिकल्चर ग्रुप (ओएफजी)का संयोजक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विभिन्न प्रजातिका सुनाखरी, यसको उत्पादन प्रविधि तथा व्यावसायिक सम्भावनाबारे अवलोकनकर्ताहरूलाई जानकारी गराउने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो। सुनाखरी कला कार्यशालामा कलाकारहरूले सुनाखरीको चित्रहरू कोरेर प्रकृति, कला र संरक्षणबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्य राखिएको बताइएको छ।

सन् २०१० मा ताइवानबाट सुरु भएको अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठीको शृंखला १६ वर्षपछि नेपाल आइपुगेको हो। पहिलो गोष्ठी सन् २०१० मा ताइवान, दोस्रो सन् २०१५ मा थाइल्यान्ड, तेस्रो सन् २०१८ मा दक्षिण कोरिया र चौथो सन् २०२२ मा चीनमा आयोजना भएको थियो। पहिलो गोष्ठीमा १८ देशका १७२ जना सहभागी भएका थिए। सुनाखरीको जैविक विविधता, आनुवंशिक अनुसन्धान, संरक्षण, प्रजनन, टिस्यु कल्चर, उत्पादन प्रविधि तथा बजारसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको उक्त गोष्ठीमा ३९ वटा वैज्ञानिक प्रस्तुति र ५० भन्दा बढी पोस्टर प्रस्तुत गरिएको थियो। अन्तर्राष्ट्रिय गोष्ठीको शृंखलाले सुनाखरीलाई सजावटी फूलका रूपमा मात्रै नभई वैज्ञानिक अनुसन्धान, जैविक स्रोत संरक्षण र व्यावसायिक उत्पादनको क्षेत्रका रूपमा अघि बढाउँदै आएको छ।

सन् २०१५ मा थाइल्यान्डमा भएको दोस्रो गोष्ठीमा त्यहाँको सुनाखरी उत्पादन तथा निर्यात उद्योगको विकासबारे प्रस्तुत अनुसन्धानले व्यावसायिक सम्भावनालाई उजागर गरेको थियो। आधुनिक उत्पादन प्रविधि, टिस्यु कल्चर, फूलको गुणस्तर, प्याकेजिङ तथा बजार व्यवस्थापनका माध्यमबाट थाइल्यान्ड सुनाखरी उत्पादन र निर्यातमा अग्रणी मुलुक बनेको छ। दक्षिण कोरिया र चीनमा भएका तेस्रो तथा चौथो गोष्ठीमा पनि सुनाखरीको आनुवंशिक विविधता, प्रजनन्, जैविक प्रविधि, उत्पादन प्रविधि तथा व्यावसायिक खेतीसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिइएको थियो।

नेपालको भौगोलिक विविधता तथा विभिन्न उचाइमा पाइने जलवायुका कारण सुनाखरीका विविध प्रजातिका लागि उपयुक्त प्राकृतिक वासस्थानको रुपमा रहेको छ। तर, वासस्थान विनाश, अवैध संकलन, व्यापार तथा जलवायु परिवर्तनका कारण प्राकृतिक सुनाखरीको अस्तित्वमा चुनौती थपिँदै गएको छ। सुनाखरीको प्राकृतिक वासस्थान संरक्षणसँगै प्रयोगशालामा आधारित प्रविधिबाट उत्पादन, दिगो खेती तथा स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने विषयमा पनि चालु गोष्ठीमा छलफल हुनेछ।

चारवटा अन्तर्राष्ट्रिय गोष्ठी एसियाका सुनाखरी अनुसन्धान तथा उत्पादनमा अग्रणी देशमा आयोजना भएपछि पाँचौँ संस्करण नेपालमा हुनु प्राकृतिक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ। तर, नेपालमा पाइने सुनाखरीको विविधतालाई वैज्ञानिक अनुसन्धान, संरक्षण र व्यावसायिक उत्पादनसँग जोडेर आर्थिक अवसरमा रूपान्तरण गर्ने चुनौती भने कायमै छ।

नेपालमा सुनाखरीको जैविक विविधता संरक्षण गर्दै यसको वैज्ञानिक अनुसन्धान र व्यावसायिक उपयोगलाई अघि बढाउने उद्देश्यले आयोजना गरिएको यस गोष्ठीले वनस्पति विज्ञान, पुष्प व्यवसाय तथा जैविक विविधता संरक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।