हेटौंडा ।
तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुर खण्डमा नेपाली सेनाले निर्माण गरिरहेको महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्माणस्थलमा विस्फोट गराएर ३.४४५ किलोमिटर लम्बाईको निजगढबाट काठमाडौंतर्फ जाने सुरुङ ब्रेकथ्रु गर्नुभएको हो ।
महादेवटारको सुरुङमार्ग नेपालको सबभन्दा लामो सुरुङमार्ग दाबी गरेको सेनाको अथक् प्रयासका कारण देशको हालसम्मको लामो सुरुङ उघारिएको हो । सुरुङमार्ग ब्रेकथ्रु समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाले देशको सुरक्षाको जिम्मेवारीबहन गर्दै देश विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । सेनाले द्रुतमार्ग निर्माणमा निष्ठापूर्वक काम गरिरहेको भन्दै समयमा निर्माण सम्पन्न गर्न उहाँले शुभकामना दिनुभयो ।
राष्ट्रपति पौडेलले जटिल भौगोलिक अवस्थाका बाबजुद सेनाले गरेको मेहनतको प्रशंसा गर्दै सुरुङमार्गले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो । यसबाट यातायात प्रणालीमा गुणात्मक प्रगति हुने भन्दै सन्तुष्टि जनाउनुभएका राष्ट्रपति पौडेलले इन्धन, मर्मतमा बचत, आर्थिक सामाजिक रुपान्तरणमा योगदान रहने बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको ट्रयाक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुल निर्माणसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालाई तराई÷मधेशसँग प्रत्यक्षरुपमा जोड्न आधुनिक द्रुतमार्गले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्रवद्र्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दीगो विकास लक्ष्यप्राप्तिमा पनि द्रुतमार्गको योगदान दुरगामी र महत्वपूर्ण रहने उहाँको भनाइ थियो । आयोजना निर्माणमा प्रभावकारी समन्वय र आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धतासाथ निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाली सेनालाई सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्सालले द्रुतमार्ग निर्माणमा अब समय थप गर्न नसकिने भन्दै समयमै काम सम्पन्न नभए ठेक्का तोडिने सरकारी नीतिअनुसार काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । पूर्वाधार विकास मन्त्री लम्सालले सुरुङ निर्माण चुनौतीपूर्ण काम भए पनि केही ठेकदार कम्पनीका कारण आलोचना भएको स्मरण गर्दै पफर्मेन्स नदिने ठेकदारलाई तुरुन्त रद्ध गरिने चेतावनी दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदुताबासका काउन्सिलर झो पानले उक्त ब्रेकथ्रु चाइना र नेपालको सहकार्यको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । चीन र नेपाल आपसको विकासमा अनवरत् सहकर्मी रहेको स्मरण गर्दै उहाँले उक्त आयोजना चाइनाको पनि उच्च प्राथमिकतामा रहेको र ब्रेकथु हुनुमा चीनको पनि हर्षको पल भएको उल्लेख गर्नुभयो ।
ललितपुरको खोकनाबाहेक क्षेत्रको अधिकांश काम सकिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो । खोकना क्षेत्रको जग्गा विवादका कारण उक्त क्षेत्रमा काम बाँकी भए पनि अन्यत्र कामका लागि समस्या नभएको प्रवक्ता बस्नेतले बताउनुभयो ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले महादेवटार सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो । त्यहाँ समानान्तररुपमा दुई वटा सुरुङ निर्माण गरिएकोमा निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किमी सुरुङको ब्रेकथ्रु भदौ दोस्रो साता भइसकेको थियो । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल दुरी ७०.९७७ किलोमिटर छ, जसमा समग्र सुरुङको दुरी ११.२ किमी रहनेछ । धेद्रे र लेनडाँडा सुरुङमार्गको ब्रेकथ्रु भएर हाल फिनिसिङको काम भइरहेको छ । धेद्रे सुरुङको दुरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङको दुरी १ हजार ६ सय २३ मिटर छ । भित्रिने र बाहिरिने गरी चार वटा सुरुङ निर्माण गरिएका छन् ।
चन्द्रामभीर सुरुङको दुरी २ हजार २ सय ३७ मिटर छ । यसमा ७ सय ८० मिटर खनिसकिएको छ । ५ सय २० मिटरको सिसौटार सुरुङ ५३ मिटर खनिसकिएको छ । १ हजार ८७ मिटरको देवीचौर सुरुङ १ सय २३ मिटर खनिसकिएको नेपाली सेनाले जनाएको छ । ५ सय ८३ मिटरको मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको सेनाको दाबी छ ।
सेनाले पहिरोको सम्भावना भएको भुगोलमा रिटेनिङ वाल बनाउँदै काम गरेको छ । एसियन हाइवे मापदण्डअनुसार बन्ने ट्रयाकमा ८९ वटा पुल बन्नेछन् । जसको दुईतर्फको कुल लम्बाइ २५ दशमलव ७७ किमी हुनेछ । पुलको चौडाईं एकातर्फमात्र ११ दशमलव ८ किमी छ । ८९ स्थानका पुलमध्ये ५६ स्थानका पुलको फाउन्डेसन, ३८ स्थानका पुलको सबस्ट्रक्चर र १६ स्थानका पुलको सुपरस्ट्रक्चर सम्पन्न भइसकेको छ ।
द्रुतमार्गको हालसम्म भौतिक प्रगति ५०.५४ र वित्तीय प्रगति ५१ प्रतिशत छ । सरकारले निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको ९ वर्ष पुगेको छ । नेपाली सेनालाई सरकारले २०७४ साउन २७ गते निर्माणको जिम्मा दिएको थियो । २०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा काम नसकिएपछि दोस्रो पटक चैत २०८३ सम्म समय थपियो । पछिल्लो पटक चैत २०८६ सम्म म्याद थपिएको छ ।
खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या, यसको सुरु विन्दु कहाँ हुने र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ । स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्गसहित आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन् ।
द्रुतमार्गमा पर्ने ८९ पुलमध्ये ८५ को ठेक्का भएर काम भइरहेको छ । खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । ५ वटा पुलको निर्माण सकिएको छ । आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन् । समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपियाँ छ । भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपियाँ खर्च भइसकेको छ ।
राईलाई काठमाडौंसँग जोड्ने छोटो मार्ग भीमफेदी–चिसापानीगढी–देउराली सडकखण्डमा पाँच वर्षयता ९२ सवारी दुर्घटना हुँदा ३९ जनाको मृत्यु र २ सय २८ जना घाइते भएका छन् । साँघुरो, घुमाउरो र ठाडो सडकका कारण चिसापानी पुलदेखि देउरालीसम्मको ७ किलोमिटर खण्ड सबभन्दा जोखिमयुक्त बनेको अवस्थामा सुरुङमार्गको आवश्यकता अझ बढेको छ ।








तपाईंको विचार लेख्नुहोस्