शेयर बजार सुधारतर्फ



काठमाडौं, (नेस)
स्थानीय निकायको चुनाव परिणाम, नयाँ बजेट आउने प्रक्रिया तथा प्रधानमन्त्रीको राजीनामाका काराण अन्योलमा परेको शेयर बजार क्रमशः सुधारउन्मुख भएको छ। गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा २ दशमलब २७ अंकले बढेको छ। गत साता पहिलो दिन आइतबार नेप्से परिसूचक १ हजार ६ सय २७ दशमलब २४ अंकबाट शुरू भएर अन्तिम दिन १ हजार ६ सय २९ दशमलब ५८ को बिन्दुमा पुगेको हो।

साताको पहिलो तीन दिन निरन्तर ओरालो लागेको परिसूचक अन्तिम दिन भने सकारात्मक देखिएको थियो। यसक्रममा परिसूचक पहिलो दिन १६ दशमलब ६३ अंक, दोस्रो दिन १० दशमलब ८६ र मंगलबार १० दशमलब ११ अंकले घेटका थिए। बुधबार भने शेयर संख्या तथा कारोबार रकम दुवैमा बढोत्तरी आएपछि साताको शेयर सुधारात्मक देखिएको हो। बुधबार नेप्से ३ दशमलब शून्य ७ अंकले बढेको थियो। यस अवधिमा १ सय ५५ कम्पनीका कूल ४५ लाख ६७ हजार ९० कित्ता शेयर खरिद बिक्री भएका थिए। गत साता १ सय ५५ कम्पनीका ८३ लाख २६ हजार २ सय २० कित्ता शेयर कारोबार भएका थिए।

जेठ ५ गतेदेखि १० गतेको अवधिमा २ अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबर रुपियाँ बराबरको शेयर कारोबार भए। कारोबार रकम गत साताको भन्दा ४ दशमलब २७ प्रतिशतले बढी हो। गत साता २ अर्ब ५८ करोड १७ लाख ८७ हजार रुपियाँ बराबरको कारोबार भएको थियो।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलब १३ अंकले बढेर ३४५ दशमलब ९९ अंकमा पुगेको छ।

कारोबार रकमको आधारमा यस साता हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। यस उक्त कम्पनीको १३ करोड ७६ लाख ८० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो। कारोबार भएको शेयर संख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेडले शीर्ष स्थान ओगटेको छ। कम्पनीको ४ लाख ४४ हजार कित्ता शेयर कारोबार भयो।

यसैबीच शुक्रबार एकैदिन पाँच कम्पनीका ९१ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्। सूचीकृत हुनेमा कुमारी बैंकको ५६ हजार ८० हजार ३ सय ९१ दशमलव २९ कित्ता, मिथिला लघुवित्त विकास बैंकको ६४ हजार ५ सय १ दशमलव २० कित्ता, रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको ६ लाख २९ हजार २ सय कित्ता, कामना विकास बैंकको १४ लाख २७ हजार ७ सय ४३ कित्ता र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६ सय ५५ दशमलव ४० कित्ता गरी ९१ लाख ४४ हजार ४ सय ९१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

तीन कम्पनीको हकप्रद जेठसम्म
ज्योति विकास बैंक, सिद्धार्थ इन्सोरेन्स लिमिटेड तथा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने म्याद जेठ मसान्तसम्म रहेको छ। ज्योति विकास बैंकको १ करोड १० लाख ४३ हजार १ सय ७१ हकप्रद शेयर निस्कासन भएका थिए भने सिद्धार्थ इन्स्योरेन्सको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो। त्यस्तै फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्टले १३ लाख २ हजार ५ सय कित्ता शेयर निष्कासन गर्दै छ।

प्रतिक्रिया दिनुहोस्